समाचार

एमालेका बाहुबली संगठन खारेज गर्न योगेश भट्टराईको माग

1602337367.jpg

काठमाडौं- नेकपा (एमाले)का नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूहलाई युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाउँदै तिनलाई खारेज गर्न माग गरेका छन्।

पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गर्नु गलत भएको उनको धारणा छ। नेता भट्टराईले त्यसको औचित्यमाथि प्रश्न गर्दै भनेका छन्, ‘ऐतिहासिक र गौरबशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ?’

भट्टराईले आफ्नो फेसबुक पेजमा समाजमा आतंकको आभास दिने र युवालाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्यत बहुबली समूहहरू तत्काल खारेज गर्न माग गरेका छन्।

एमालेभित्र हालै मात्र गुटगत संगठनहरु निर्माण भएका छन्। अध्यक्ष ओली पक्षले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको छ। नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ पनि ब्युँताउने तयारी गरेको छ।

अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गराउन उनले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको