विशेष समाचार

यस्तो छ देउवाले खाँड रोज्नुको खास अर्थ

1626498802.sherbahadur.jpg
सामाजिक सञ्जालमा चर्चामा रहेको यो तस्बिर ०६४ सालको सेरोफेरोमा फोटो पत्रकार विकास कार्कीले खिचेका हुन्।

काठमाडौं- सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँडलाई रोजेपछि माथिको यो तस्बिर ‘भाइरल’ बन्यो। सामाजिक सञ्जालमा खाँडलाई बधाई दिनेहरुले रोजेको यो अर्थपूर्ण तस्बिर झण्डै सत्र वर्ष अघिको हो। तस्बिर पुरानो भए पनि यी दुई राजनीतिक पात्रले सँगै ‘घोड–चढी’ गरेको यो दृश्यको अर्थ पुनः सान्दर्भिक भएको छ। 

कांग्रेस सभापति देउवाले गत मंगलबार पाँचौं पटक प्रधानमन्त्री पदको शपथ लिनुअघि सोमबार मध्यरातसम्म पनि उनी निकट कतिपय नेताहरुलाई नै को–को मन्त्री हुँदैछन् भन्ने थाहा थिएन। कतिपयको अनुमान यसअघि अर्थमन्त्री भइसकेका र देउवालाई विश्वास र सम्मानको कुनै कसर बाँकी नराख्ने ज्ञानेन्द्रबहादुर कार्की मन्त्रीमण्डका दाहिने हात होलान् भन्ने थियो। तर देउवाले मंगलबार बिहान मात्र आफैं निर्णय गरे, गृहमा बालकृष्ण र कानुनमा ज्ञानेन्द्र। 

‘सोमबार दिउँसो र साँझ भएका पटक–पटकका अनौपचारिक छलफलमा देउवा दाइले गम्भिरतापूर्वक आफू निकटका नेताहरुका कुरा सुन्नुभएको थियो, आफू कम बोल्नुभएको थियो,’ देउवा निकट एक नेताले नेपाल समयलाई सुनाए, ‘ज्ञानेन्द्र र बालकृष्णमध्ये एकजना गृहमा जान्छन् भन्ने अनुमान त थियो तर धेरै सोचविचार गरेर उहाँले बालकृष्णलाई छानेजस्तो लाग्छ।’

राजनीतिमा नेताले गर्ने सोचविचारको खास अर्थ हुन्छ। 

२०७४ सालको निर्वाचनमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपछि सत्ताबाट बहिर्गमित भएका देउवा साढे तीन वर्षपछि उही जिम्मेवारीमा सिंहदरबारमा प्रवेश गर्दैगर्दा उनले खाँडसँग खसोखास ‘साथ’ खोजेको कुरा अब कहिँकतै छिपेन। साथमा उनले ज्ञानेन्द्रलाई पनि सँगसँगै हिँडाउन चाहेको देखियो। तर विशिष्ट र अलग परिस्थितिमा गृह मन्त्रालय जस्तो शक्तिशाली मन्त्रालयमा नेता खाँड लैजानुलाई कांग्रेसको पार्टी–पंक्तीभित्र पनि चर्चाको विषय बनाइएको छ। 

‘आफ्ना हरेक राजनीतिक उतारचढावमा साथ दिएका बालकृष्ण खाँडलाई अब अगाडि बढाउनुपर्छ। दलभित्र त छँदैछ, सरकार सञ्चालनको मौकामा पनि उनलाई अब अवसर दिनुपर्छ भन्नेमा देउवा पुगेको देखियो,’ देउवा निकट अर्का एक नेताका शब्दमा, ‘सभापति देउवासँग कतिपय महत्वपूर्ण विकल्पहरु खुम्चिँदै गएपछि खाँडको अझ बलियो साथ खोज्नुपर्ने स्थिति आएको हो।’  

कांग्रेसभित्र देउवाका सहयोगी हातहरुको एउटा पंक्ती नै छ। यीमध्ये विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्की, पूर्णबहादुर खड्का, रमेश लेखक, एनपी साउद, विश्वप्रकाश शर्मा, मिन विश्वकर्मा र प्रकाशशरण महतको सक्रियता उच्च तहको थियो। तर यो लाममा रहेका नेता निधी र देउवाको सम्बन्ध पछिल्लो दिनमा अलिक ‘ग्रे जोन’मा पुगेको छ। निधीले आसन्न महाधिवेशनमा सभापति उठ्ने उद्घोष गरेपछि बुढानिलकण्ठसँग उनको साइनो पातलिएको अनुमान दलभित्र गरिएको छ। यद्यपी नेता निधी प्रत्यक्ष निर्वाचनमा पराजित भएकाले उनलाई अहिले सरकारमा लैजाने अवस्था थिएन। ‘यदी निधी दाइ सांसद भएको भए र परिस्थिति अलिक अगाडिएको जस्तो भएको भए देउवालाई अहिले निधी र खाँडमध्ये कसलाई गृह दिने भन्नेमा अफ्ठेरो हुनसक्थ्यो तर अवस्था अर्कै भयो’, ती नेताले भने, 'अहिले देउवासामु खाँड र कार्की मात्र गृहका लागि विकल्प बने।' 

२९ असार ०७८ मा प्रधानमन्त्रीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दै शेरबहादुर देउवा।

झण्डै दुई तिहाइको केपी ओली सरकारको पतनपछि विपक्षी गठबन्धनको जगमा उभिएको गणितीय रुपमा कमजोर कांग्रेस नेतृत्वको देउवा सरकारसँग अरु काम बाहेक मूलतः निर्वाचन गराउने जिम्मेवारी पनि सँगसँगै छ। त्यसैले देउवाले पार्टीभित्र छलफल नै नगरी अर्थ मन्त्रालय माओवादी केन्द्रलाई छोडेर गृह रोजे। र, त्यसको नेतृत्व खाँडलाई दिए। 

देउवाले आफ्नो नेतृत्वको सरकार ढिलो–चाँडो चुनावी सरकार भएको बुझेका छन्। र, चुनाव गराउन प्रभावकारी काम गर्न सक्ने नेता गृहमन्त्री आवश्यक पर्ने कुरा स्वयं गृहमन्त्री भइसकेका देउवाले नबुझ्ने कुरै भएन। २०४६ सालमा नेविसंघको अध्यक्ष र २०५४ सालमा तरुण दलको नेतृत्व गरिसकेका खाँडसँग संगठनको तल्लो तहसम्म पहुँच छ। जसका कारण खाँडलाई नेतृत्व दिँदा देउवालाई राष्ट्रिय राजनीतिमा मात्रै होइन, पार्टी राजनीतिमा समेत फाइदा पुग्ने देउवा निकट एक नेता बताउँछन्। ‘खाँडजीको संगठनमा पकड र डाइनामिक नेतृत्व क्षमताका कारण प्रधानमन्त्रीजीलाई राष्ट्रिय राजनीति र पार्टी राजनीति दुवैमा फाइदा पुग्ने देखिन्छ,’ उनी सुनाउँछन्।

कांग्रेसभित्र देउवा र खाँडको सम्बन्धको ‘ग्राफ’ अलिक लामो र रोचक छ।

२०५० साल अघिसम्म देउवा र खाँड दुवै गिरिजाप्रसाद कोइराला निकट थिए। २०४८ सालमा देउवा कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री थिए। तर, त्यसको २ वर्षपछि अवस्था फेरियो। जब २०५० सालमा काठमाडौं–१ मा भएको उपनिर्वाचनमा तत्कालिन कृष्णप्रसाद भट्टराईलाई हराउने योजना कोइरालाले बनाए, तब देउवा र खाँड नजिक आइपुगे।  

देउवा र खाँडको सम्बन्धलाई नजिकबाट बुझेका एक नेताका अनुसार कोइरालाले गृहमन्त्री देउवालाई बोलाएर भट्टराईलाई जिताउन नसकिने र त्यही अनुसार काम गर्न निर्देशन दिएका थिए। ‘किसुनजीले जित्नुहुन्न, त्यसैले उहाँलाई जिताउन सकिन्न। तिमीले मलाई सहयोग गर्नुपर्‍यो,’ कोइरालाले देउवालाई भनेका थिए। तर, देउवाले कोइरालाको प्रस्ताव अस्वीकार गरिदिए। ‘आफ्नै सभापतिलाई हराउन प्रहरी प्रशासन दुरुपयोग गर्न सक्दिनँ। मलाई गृहमन्त्रीबाट हटाइदिनुस्,’ देउवाले भनेका थिए। देउवाको जवाफले झस्किएका कोइरालाले सोधेका थिए, ‘गृहमन्त्रीबाट हटेपछि के गर्छौ?’ देउवाको जवाफ थियो– डडेल्धुरा फर्किएर गाई चराउँछु।  

३० असार ०७८ मा गृहमन्त्रीको रुपमा पदभार ग्रहण गरेपछि बालकृष्ण खाँड।

किसुनजीलाई हराउने कोइरालाको योजना थाहा पाएपछि देउवाले खाँड, वीरबहादुर वलायर लगायतलाई किसुनजी जिताउन खटाएका थिए। त्यो बेलादेखि नै देउवा–खाँड सम्बन्ध अटुट रहेको जानकारहरु बताउँछन्। ‘त्यो बेलादेखि खाँडले किसुनजीलाई आदर गर्न थाले र देउवाको अनुहारमा दोस्रो किसुनजी देख्न थाले,’ ती नेता भन्छन्। 

२०५९ सालमा दोस्रो पटक प्रधानमन्त्री रहेका बेला देउवाले माओवादीसँग जुध्न संकटकाल लगाउने र सेना परिचालन गर्ने योजना बनाए। तर, पार्टी सभापति रहेका कोइरालाले त्यो निर्णय नगर्न दबाब दिएका थिए। तर, देउवाले पार्टीको निर्देशन मानेनन्। सोही कारण कोइरालाले देउवालाई स्पष्टीकरण सोधेका थिए। देउवाले स्पष्टीकरण नदिएछि उनी कारबाहीमा परे। साधारण सदस्य समेत नरहनेगरी कारबाही भोगेपछि देउवाले २०५९ असारमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे। दल विभाजनका बेला पनि खाँडले देउवालाई साथ दिए। देउवा नेतृत्वको पार्टीमा उनी केन्द्रीय सदस्य बनेका थिए। जबकी उनी त्यो बेला तरुण दलको अध्यक्ष थिए। खाँड नेतृत्वको सिंगो तरुण दल कांग्रेस प्रजातान्त्रिकमा आएको थियो। 

२०६४ सालमा पार्टी एकीकरणपछि पनि खाँडले देउवालाई निरन्तर रुपमा सहयोग गरे। प्रलोभनमा परेर खाँडले गुट परिवर्तन गरेनन्।

१३ औं महाधिवेशनबाट देउवालाई सभापति निर्वाचित गराउन ठूलो भूमिका खेलेका खाँडले दुःखका बेला दिएको साथ देउवाले भुलेका छैनन्। फलस्वरुप खाँडलाई अवसर समेत दिँदै आएका छन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा देउवाले खाँडलाई रक्षामन्त्री बनाएका थिए।

देउवा चौथो पटक प्रधानमन्त्री भएकै बेला गराएको निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ नराम्ररी पराजित भयो, यद्यपि समानुपातिक तर्फको मतका कारण दोस्रो दलको हैसियतमा खुम्चियो। यसपछि देउवाले खाँडलाई संसदीय दलको प्रमुख सचेतक बनाए। अहिले पुनः आफू प्रधानमन्त्री बनेपछि देउवाले खाँडलाई गृहमन्त्री बनाएका छन्। 

खाँडलाई यो पटक देउवाले व्यक्तिगत सम्बन्धका आधारमा मात्रै मन्त्री बनाएका भने होइनन्। उनको कार्यशैली र संगठनको पकडको हिसाब हेरेर देउवाले खाँडलाई गृह मन्त्रालय सुम्पिएका हुन्।  ‘खाँड दाइ यो पटक गृहमन्त्री बन्नुमा प्रधानमन्त्रीजीले व्यक्तिगत सम्बन्ध मात्रै हेर्नुभएको छैन। उहाँ (खाँड) को कार्यशैली र संगठनको पकडलाई समेत हेर्नुभएको छ। यो सरकार प्रत्यक्ष–अप्रत्यक्ष चुनावी सरकार हो। त्यसैले प्रधानमन्त्रीले डायनामिक गृहमन्त्रीका रुपमा खाँडलाई हेर्नुभएको छ,’ देउवा निकटका अर्का नेता भन्छन्, ‘सोही कारण प्रधानमन्त्रीले अर्थ मन्त्रालय छोडेर गृह रोजी त्यसमा खाँडलाई विराजमान गराउनुभएको हो।’ 

खाँडले गृह मन्त्रालय पाउनुको अर्को अर्थ पनि रहेको ती नेताको विश्लेषण छ। त्यो हो– महाधिवेशनसम्मको जोडी। आगामी भदौभित्र कांग्रेसको १४ औं महाधिवेशन हुनेछ। त्यो महाधिवेशनमा देउवाले खाँडलाई महामन्त्रीका रुपमा अघि सार्ने तयारी गरेका छन्। त्यसकै पूर्वसंकेत हो– गृह मन्त्रालय सुम्पनु। ‘प्रधानमन्त्री र गृहमन्त्रीमा जसरी उहाँहरुको जोडी बाँधिएको छ, त्यसरी नै सभापति र महामन्त्रीमा बाँधिने लगभग पक्का जस्तै छ,’ ती नेता भन्छन्। 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको