समाचार

प्रदेश १ मा कोरोनाको ग्राफ फेरि उकालोतिर

1626264716.Koshi Hospital.jpg

विराटनगर– प्रदेश १ मा कोरोना संक्रमण बढ्न थालेको छ। पछिल्लो एक महिनादेखि घट्न थालेको संक्रमण पुनः बढ्न थालेको हो। बुधबार प्रदेशभर ४३९ जनामा संक्रमण पुष्टि भएको छ। यो कुल परीक्षणको ३४ प्रतिशत हो। बुधबार प्रदेशभर १ हजार २८८ जनाको पीसीआर परीक्षण गरिएको छ। 

मंगलबार २९.४९, सोमबार ३८.५४, आइतबार २७.९६, शनिबार ३५.२६, शुक्रबार ३३.७४ र बिहीबार ३५.४० प्रतिशत संक्रमण पुष्टि भएको थियो। एन्टिजेन परीक्षणमा पनि पीसीआर परीक्षणकै हाराहारीमा पोजेटिभ रिपोर्ट आउने गरेको गरेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार वुधबार पीसीआर परीक्षण गर्दा ४३९ जनामा संक्रमण देखियो, एन्टिजेन परीक्षण गर्दा ३९६ जनाको रिपोर्ट पाजेटिभ आएको छ। 

संक्रमण नियन्त्रणका लागि लगाइएका निषेध आदेशहरु खुकुलो बन्दै गएका कारण संक्रमण बढेको जनस्वास्थ्यकर्मीहरु बताउने गरेका छन्। निषेध आदेशका अवधिमा भिडभाड घट्दा संक्रमण पनि घटेको जनस्वास्थ्यकर्मी कैलाशखाकी श्रेष्ठ बताउँछन्। निषेध आदेश खुकुलो भएसँगै बजार तथा पसलहरुमा पनि भीडभाड बढेको छ। सामाजिक दुरी पालना नहुँदा संक्रमणको जोखिम बढेको गएको श्रेष्ठले बताए। 

मोरङमा निषेध आदेश खुकुलो भएसँगै बजार तथा पसलहरुमा भीडभाड उल्लेख्य रुपमा बढेर गएको छ। स्थानीय प्रशासनले राति ८ वजे सम्म बजार पसलहरु खुल्ला राख्न दिने निर्णयसँगै भीडभाड बढेर गएको छ। जनस्वास्थ्यकर्मी श्रेष्ठ भन्छन्,‘ स्वास्थ्य सचेतना पटक्कै अपनाएको देखिएन।’ 

प्रदेश १ मा मृत्युदरमा पनि कमी आउन सकेको छैन। कोरोनाको दोश्रो लहर शुरु भएपछि दैनिक १० देखि २० जनाको हाराहारीमा दैनिक मृत्यु हुने गरेको छ। कोरोना संक्रमण केही घटेका समयमा मृत्यु दर केही घटेपनि अहिले पुनः बढ्न थालेको छ।

बुधबार प्रदेशभर १३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले बताइन्। उनका अनुसार मंगलबार १४, सोमबार १०, आइतबार ५, शनिबार १२, शुक्रबार १७, विहिबमर १८ जनाको मृत्यु भएको छ।  

प्रदेश १ मा कोरोना संक्रमित हुनेको कुल संख्या ७६ हजार ६२८ पुगेको छ। संक्रमित भएका मध्ये ६९ हजार ६३४ संक्रमणमुक्त भएका छन्। १ हजार ४०४ जनाको मृत्यु भएको छ।

प्रदेश १ मा हालसम्म ३ लाख ५४ हजार ८१७ जनाको पीसीआर परीक्षण गरिएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी प्रकाश कार्कीले बताए। 
 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको