विशेष

नेपालमा तेस्रो लहर अर्थात् 'डेल्टा प्लस' भेरियन्टको जोखिम कति? 

1625618027.covid_19_delta_variant_mutates_into_delta_plus_know_how_dangerous_1623758996.webp

काठमाडौं- कोरोना भाइरसको डेल्टा भेरियन्टले विश्वभर चिन्ता बढाएको छ। डेल्टा भेरियन्टका कारण नै नेपाल, भारतलगायत देशमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको मानिएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोभिड-१९ को डेल्टा भेरियन्ट संक्रमितहरूको करिब एक सय देशमा भेटिइसकेका छन्। अबको एक महिनासम्ममा डेल्टा भेरियन्टको संक्रमण विश्वका अधिकांश देशमा पुग्नसक्ने र यसले जोखिम बढाउने भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको छ। 

गत साता डब्लुएचओले कोभिड-१९ को साप्ताहिक एपिडेमियोलोजिकल अपडेट सार्वजनिक गर्दै २९ जुन २०२१ सम्म ९६ देशमा डेल्टा भेरियन्ट पुगेको उल्लेख गरेको थियो। तर वास्तविक रूपमा यो भन्दा धेरै देशमा पुगिसकेको हुन सक्ने बताएको थियो। कोरोनाका अन्य भेरियन्टका तुलनामा यो भेरियन्ट घातक र संक्रमण दर पनि बढी भएको बताइँदै आएको छ। हालसम्म अल्फा भेरियन्ट १७२ देशमा पुगेको पुष्टि भएको छ भने बिटा भेरियन्ट १२० देशमा भेटिएको छ। यस्तै गामा भेरियन्टका संक्रमित ७२ देशमा भेटिएका छन्। 

नेपालमा असारको पहिलो साता पहिलो पटक डेल्टा प्लस भेरियन्ट भेटिएको पुष्टि भएको थियो। डेल्टा प्लस भेरियन्ट हो/होइन भनी परीक्षण गरिएका नमुनामध्ये १९ प्रतिशतमा डेल्टा प्लास भेरियन्ट पुष्टि भएको थियो। 

नेपालमा अहिले कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ। यसैबीच अर्को नयाँ भेरियन्ट पुष्टि हुँदा खतराको संकेत देखिएको छ। नेपालमा असारको पहिलो साता पहिलो पटक डेल्टा प्लस भेरियन्ट भेटिएको पुष्टि भएको थियो। डेल्टा प्लस भेरियन्ट हो/होइन भनी परीक्षण गरिएका नमुनामध्ये १९ प्रतिशतमा डेल्टा प्लास भेरियन्ट पुष्टि भएको थियो। 

कोरोनाको दोस्रो लहरमा नेपालमा संक्रमितको संख्या कम हुन थालेको छ। तर यसैबीच कोरोना भाइरसका नयाँ भेरियन्ट पुष्टि भइरहँदा तेस्रो लहरको जोखिम बढेको स्वास्थ्य मन्त्रालयको भनाइ छ। दोस्रो लहरमा आक्रामक बनेको डेल्टा भेरियन्टको परिवर्तित स्वरुप 'डेल्टा प्लस' सम्भावित तेस्रो लहरको कारक बन्न सक्ने आकलन पनि गरिएको छ। डेल्टा भन्दा डेल्टा प्लस बढी घातक बन्न सक्ने भन्दै चिन्ता थपिएको छ। 

के भन्छन् विज्ञ?

नेपालमा डेल्टा प्लस भेरियन्ट फैलिएको पुष्टि भइसकेको छ। पहिलोपटक भारतमा पुष्टि भएको कोभिड–१९ भाइरसको डबल म्युटेन्ट स्ट्रेन (बी.१.६१७.२)लाई विश्व स्वास्थ्य संगठनले डेल्टा नाम दिएको हो। डेल्टा भेरियन्टमा 'के४१७एन' नाम दिइएको नयाँ म्युटेन्टसँगको संयोगबाट बनेको भेरियन्टलाई 'डेल्टा प्लस'(एवाई.१ वा बी.१.६१७.२.१) भन्न थालिएको ‍बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन। 

डा. पुन भने डेल्टा प्लस भेरियन्ट निकै आक्रामक हुने भन्ने कुरामा त्यति विश्वस्त देखिँदैनन्। उनी भन्छन्, ‘अहिले कुरा आएको जस्तो धेरै आक्रामक हुने भनेर यकिन गरिहाल्ने अवस्था छैन। नेपालमा दोस्रा लहरको संक्रमण उत्कर्षमा पुगेका बेला डेल्टा र डेल्टा प्लस दुवै खालका भेरियन्ट पुष्टि भएको थियो। त्यतिबेला पनि १९ प्रतिशतमा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको थियो। यद्यपि, डेल्टा प्लसको भूमिका कति रह्यो भन्नेबारे अनुसन्धान गर्नुपर्छ, अनुसन्धान बिना जोखिमको मूल्यांकन/आकलन गर्न सकिन्न।’

भाइरोलोजिस्टसमेत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. वासुदेव पाण्डे दोस्रो लहरको मुख्य कारक डेल्टा भेरियन्ट भएको बताउँछन्।

दोस्रो लहरमा डेल्टा प्लसले पनि संक्रमण फैलाउन सहयोग गर्‍यो, तसर्थ नेपालमा कति मात्रामा 'डेल्टा प्लस' फैलियो भनी अनुसन्धान भएको छैन। डा. पुनका अनुसार हाल ‘डेल्टा प्लस’ले नै फेरि अर्को लहर ल्याउँछ भनेर ठोकुवा गर्नु हतार हुन्छ। 'थोरै नमुनामा गरेको परीक्षणमा पनि ‘डेल्टा प्लस’को प्रतिशत तुलनात्मक रुपमा धेरै देखियो। त्यसैले पनि धेरै मानिसहरु संक्रमित भइसकेको अनुमान गर्न सकिन्छ,' डा. पुन भन्छन्, ‘हालै संक्रमण भएकालाई फरै छिटै संक्रमण हुने सम्भावना कम हुन्छ। डेल्टा प्लसका कारण संक्रमित भएका भए तत्काल अर्को लहरको कारक डेल्टा प्लस नै हुने सम्भावना कम हुन्छ।’ तर तेस्रो लहरका लागि अन्य भेरियन्ट नआउलान् भन्न भने नसकिने उनी बताउँछन्। 

000

भाइरोलोजिस्टसमेत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. वासुदेव पाण्डे दोस्रो लहरको मुख्य कारक डेल्टा भेरियन्ट भएको बताउँछन्। नेपालमा दोस्रो लहरको संक्रमण उचाईमा पुगेका बेला महाशाखाको नेतृत्व गरेका उनी भन्छन्, ‘दोस्रो लहरमा जटिल प्रकृतिको निमोनिया बनाउने काम बढी ‘डेल्टा भेरिऐन्ट’ले गरेको देखिएको छ। तर, कति संख्यामा फैलिसकेको छ अझै एकिन भएको छैन।’ डा. पाण्डे भने डेल्टा प्लसले गर्दा तेस्रो लहर आउने सम्भावना देखिएको बताउँछन्। 

डा. पाण्डेका अनुसार डेल्टा प्लसले थप जोखिम ल्याउन सक्छ। ‘अहिलेसम्मका अध्ययनबाट डेल्टा प्लसको संक्रमण दर धेरै भएको भन्ने छ,' उनले भने, ‘यसले प्रत्यक्ष रूपमा फोक्सोमा असर पुर्‍याउने सम्भावना पनि छ।’ दोस्रो लहरका बेला सरकारले लकडाउन गरेको तर प्रभावकारी रूपमा अन्य काम गर्न नसकेको स्वीकार गर्छन्। 

यस्तै, जिन सिक्वेन्सिङ हुन नसक्दा कुन भाइरसले संक्रमण फैलाइरहेको छ भन्ने कुराको एकिन हुन नसकेको डा. पाण्डेको भनाइ छ। उनी भन्छन्, ‘४०/५० वटा सिक्वेसिङ मात्र गरेर हुँदैन। समुदायस्तरमा कति जनामा संक्रमण फैलिएको छ? कतिको एन्टिबडी बनेको छ भनी अध्ययन/अनुसन्धान गर्नुपर्छ।’ 

000

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले नेपालमा सिक्वेन्सिङ सुरु गरिएको बताए। 'नेपालमा फैलिरहेका भेरियन्टबारे सिक्वेन्सिङ सुरु गरेका छौं, रिर्पोट प्राप्त हुने क्रममा छ। सिक्वेन्सिङ गरेपछि नेपालमा नै भेरियन्टहरुको विकास भए/नभएको बारेमा जानकारी द्रुत गतिमा थाहा पाउन सकिनेछ।’ 

डेल्टा प्लस भेरियन्टमा खोप तथा एन्टिबडी कति प्रभावकारी हुन सक्छ भन्ने अनुसन्धानको विषय भएको खोप विज्ञ डा. श्यामराज उप्रेती बताउँछन्।

डा. पौडेलका अनुसार सम्भावित तेस्रो लहरका लागि डेल्टा भेरियन्टको भुमिका कस्तो हुनेछ भन्ने तत्काल भन्न सकिँदैन। दोस्रो लहरमा कुन भेरियन्टको कति भूमिका रह्यो भन्ने पत्ता लगाउनुपर्छ,' पौडेल भन्छन्, ‘दोस्रो लहरमा डेल्टा र डेल्टा प्लसकै भूमिका बढी देखिएको हो।’ 

डेल्टा प्लस भेरियन्टमा खोप तथा एन्टिबडी कति प्रभावकारी हुन सक्छ भन्ने अनुसन्धानको विषय भएको खोप विज्ञ डा. श्यामराज उप्रेती बताउँछन्। उप्रेतीका अनुसार नयाँ भेरियन्टमा एन्टिबडी तथा खोपले कति काम गर्छ भन्ने कुरा अध्ययनको क्रममा छ। 

नेपालमा हाल दैनिक २ देखि ३ हजारको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ। कुल परीक्षणको अझै पनि २० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएको छ। दोस्रो लहर आउनु अगाडिका क्रियाकलापहरु जस्तै भीडभाड, सभा–सम्मेलन र जुलस लगायतका गल्ति  पुनः दोहोरिए तेस्रो लहरमा अझ धेरै मानिस संक्रमित हुन सक्ने जनस्वास्थ्यविद्हरूको भनाइ छ। नेपालका लागि अझै पनि संक्रमणको जोखिम कायम नै रहेको स्वास्थ्य प्रवक्ता डा पौडेल बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको