ब्लग

विभेद छ हजुर सबैतिर!

1625484799.IMG_9003.jpg

यहाँ अचेल बजार पिटिरहेको रूपा सुनार प्रमुख पात्र भएको जातीय विभेदको विषयमा केन्द्रित हुन खोजिएको छैन। यद्यपि यसको सुरुवात भने त्यसैसँग सम्बन्धित छ। यसबाहेक पनि हामीले आफ्ना दैनिकीको पाइलापाइलामा विभेद भोगिरहेका छाैं। तिनै विभेदका आधारमा हाम्राे घरपरिवार अनि समाजको प्रतिबिम्ब उतार्ने कोसिस गरेको छु।

म त्रिवि कीर्तिपुरमा अंग्रेजी विभागमा अध्ययन गर्दै थिएँ। एकपटक खै कुन बिदामा घर गएको थिएँ। घरमा काकाकी छोरी मेरी बहिनीको बिहेको कुरा चलेको रहेछ। मलाई कुरा चलेको केटो खासै दमदार लागेन। झट्ट सम्झिएँ– कीर्तिपुरबाट कलंकी जाँदा एक झापाली सहपाठीले अब आफू छिटै बिहे गर्न लागेको र योग्य केटीको खोजीमा रहेको कुरा। अनि बाहरुसँग प्रस्ताव राखें पनि। केटाको थरबाटै उनी जैसी बाहुन रहेको बाहरुले पत्ता लगाइहाल्नुभयो। मेरो प्रस्ताव ठाडै अस्वीकार भयो। मैले अघि कुरा चलेको त्यो बाहुनभन्दा त यो जैसी केटो धेरै लायक छ नि बहिनीका लागि भनेर प्रतिवाद पनि गरें। तर मेरो प्रस्ताव इन्कार मात्र भएन मैले धेरै गाली पनि खानुपरेको थियो। अब तपाईं अनुमान गर्नुस्, मेरो साथी जैसी नभएर दलित भएको भए के हुन्थ्यो होला?

मेरो परिवार शिक्षित परिवार हो। म अहिले चालीस कटिसकें। मेरा पिताजीले म जन्मिनुपुर्व नै अंग्रेजी साहित्य पढेर मेरो उमेरबभन्दा बढी हेडमास्टर बन्नुभयो। हजारौं विद्यार्थीलाई पढाउनुभयो। मेरो परिवारमा त जातीयता यस्तो गढेको छ भने अरुकोमा कस्तो होला? र यो परिवर्तन कहिले होला? अवस्था वास्तवमै कहालीलाग्दो छैन त? दोष मेरा पिताजी वा काकाहरुको पुस्तालाई मात्र दिएर कहाँ हुन्छ र? मेरो त्यही साथी दलित भएको भए, ती बहिनीका लागि मैले बाहरुसँग कुरा उठाउँथे होला? मेरो त्यस बेलाको चेतनाले सायद हुन्न भन्ने जवाफ दिन्थ्यो होला। नत्र मेरो गाउँमा त्यत्रा मगर, घर्ती र कामीहरु छन्, खै त एक जनाको पनि हाम्रो समुदायमा बिहे भएको? गाउँमा रहेको मालिका मन्दिरमा खै त उनीहरू सहभागी भएको?

मैलै पढेलेखेर अनि देशविदेश घुमेर, खै त कहींकतै नदेखेको यो जातीयताका लागि आफैंंले केही गर्न नसकेको? मसँग ग्लानिबाहेक केही छैन। यो हट्नुपर्छ, राम्रो हैन त भन्छु तर व्यवहारमा शून्य। हाम्रो हजुरबुवाले हामीले छोएको पनि खानु हुन्थेन, घरभित्रै विभेद भोगेका हामीले बाहिरको विभेदबारे बोल्ने हिम्मत कहिले गरेनौं।

मैलै पढेलेखेर अनि देशविदेश घुमेर, खै त कहींकतै नदेखेको यो जातीयताका लागि आफैंंले केही गर्न नसकेको? मसँग ग्लानिबाहेक केही छैन। यो हट्नुपर्छ, राम्रो हैन त भन्छु तर व्यवहारमा शून्य। हाम्रो हजुरबुवाले हामीले छोएको पनि खानु हुन्थेन, घरभित्रै विभेद भोगेका हामीले बाहिरको विभेदबारे बोल्ने हिम्मत कहिले गरेनौं।

अब यो ग्लानि यतै छाडेर आज मैले उठाउन खोजेको अरु विभेदको कुरा गरौं। ‘एयरपोर्टमा श्रीमतीसँग सेल्फी खिच्दै, ‘ट्राभलिङ फ्रम फलानो ठाउँ टु फलानो’ भन्ने देखेपछि मात्र ऊ यता आएर फर्किसकेछ भन्ने थाहा भयो, ‘विदेशी पानी कति बेइमानी।’ केही वर्षअघि मैले फेसबुकमा लेखेको थिएँ। निकै मिल्ने र सधैं भेटघाट गर्ने साथीले क्रमशः नेपाल आएर फोन गर्न पनि छाडेपछि विभेदको अनुभूति गर्दै मैलै यस्तो लेखेको थिएँ। मलाई लागेको थियो म उसको साथी मात्र नभएर कहींकतै यो समाजले ठान्ने गरेको प्रभावशाली भइदिएको भए उसले त्यस्तो व्यवहार गर्दैनथ्यो कि?

आज म यस्तै सामान्य लाग्ने विभिन्न व्यावहारिक विभेदको चर्चा गर्दैछु, सायद यस्तो अनुभूति जोकसैले भोगेको हुन सक्छ। तपाईंको घरमा छोरा र छोरी वा दाजु र भाइ अनि दिदी र बहिनी छन् भने तपाईंले कुनै न कुनै रूपमा लैंगिक विभेद अनुभव गर्नु वा देख्नुभएको छ-हुर्काइ, बढाइ, पढाइ वा अन्य सवालमा? 

परिवारका सदस्यहरु आर्थिक, सामाजिक, राजनीतिक वा छोटोमा भन्दा पहुँचका हिसाबमा उचनिच भएमा घर, समाज वा साथीभाइले हेर्ने दृष्टिकोण एकै खालको हुन्छ र? मानौं एउटा घरमा दुई दाजुभाइ छन्, एउटा सरकारी जागिरे छ र अर्कोको खासै केही छैन भने बाबुआमाले अंशवण्डा गर्दा बाबु आमा कोसँग बस्लान्? त्यहाँ जवाफ सीधै छ हैन र? 

आफू चौबीसै घण्टा दारु धोक्ने नै भए पनि ज्वाइँ त सकेसम्म रक्सी नखाने पर्दियोस् भन्ने हामीमध्ये धेरैको मनमा छ।

तपाईंकी छोरी वा बहिनीलाई माग्न आउने एकजना यतै कतै प्राथमिक विद्यालयको स्थायी शिक्षक र अर्को एकजना डीभी परेर अमेरिका बस्दै आएका छन् भने कति जनाले प्राविको मास्टरलाई चेली जिम्मा लगाउनुहुन्छ होला? अमेरिका, युरोप वा अस्ट्रेलिया छ भनेपछि भरिपूर्ण योग्यता देख्छौं हामी, होइन र? आफू चौबीसै घण्टा दारु धोक्ने नै भए पनि ज्वाइँ त सकेसम्म रक्सी नखाने पर्दियोस् भन्ने हामीमध्ये धेरैको मनमा छ। बाबुआमाका लागि सबै सन्तान बराबर हुन् नि। तर घरको छाना फेर्न, रङ लगाउन, तला थप्न वा बाबुलाई यसो तमाखु, बिँडी किन्न अनि आमालाई रिचार्ज कार्ड किन्न भन्दै केही रकम पठाउने सन्तान र कहिल्यै सुको नदिने सन्तानप्रतिको धारणा ती जननी नै भए पनि एउटै होला?  हुँदैन, किनभने हामीलाई थाहा छ, गफले चिउरा भिज्दैन। अनि विदेशबाट मोबाइल पठाउने दाइ वा दिदी पनि भाइ वा बहिनीका लागि सायद बढी नि प्रिय लाग्छन् कि!

तपाई‌ंलाई स्कुलमा पढाउने शिक्षक भेट्न तपाईंहरू दुई भूतपूर्व विद्यार्थी जानुभयो। एक जना लाहुरे अर्को यसो नाम कमाएको मान्छे, के ती शिक्षक, त्यो स्कुल र समुदायले तपार्इहरुलाई विभेद गर्दैन? देखाएर नगर्ला, मनमनै त पक्कै गर्छ। त्यो लाहुरे साथी कति बाध्यताले लाहुरे भएको होला? तर के गर्नु हामी अहिलेको परिणाम मात्र हेर्छौं।

धनसम्पत्ति, पावरको मात्र के कुरा? हामीले लगाउने कपडामै कति विभेदकारी छौं। तपाईं साधारण कपडा र चप्पल लगाएर सरकारी, निजी वा अन्य ठाउँमा सेवा लिन जानुस्, अनि अर्कोपल्ट सुटेटबुटेड भएर उही ठाउँ र उही काम लिएर जानुस्। सेवा प्रदायकको विभेद गेटबाटै अनुभूति गर्नुहुनेछ। पहिले 'भाइ' भन्नेहरुले 'सर' भनेर सम्बोधन गर्नेछन्, गेटको पाले दाइले पनि सायद एक थान सलाम टक्र्याउलान् किनभने हामी गुदीमा हैन बोक्रोमा विश्वास गर्छौं। तपाईंलाई ट्राफिक प्रहरीले नियम मिचेबापत सम्झाउने क्रममा तपाईंको सवारीको किसिम, आकार अनि तपाईंको पहिरन हेरेर विभेद गरेको अनुभव छैन र तपाईंसँग?

थप अर्को एउटा कुरा भन्नुस्, तपाईं ससुराली जानुहुन्छ- माइक्रोबसमा चढेर सयपचास भाडामा बार्गेनिङ गरेर अनि तपाईंको साढु आफ्नो कार हाँकेर टक्क घरअगाडि कार पार्क गरेर हर्न बजाउँछन् भने तपाईं आफू ज्वाइँ बनेर वा सासूससुरा बनेर हेर्नुस्। त्यहाँनिर विभेदका लागि ठाउँ होला कि नहोला?

मेरा एक जना मित्र बेलाबखत हेलमेट बोकेर विभिन्न कार्यालय पुग्थे, जब कि उनको बाइक वा लाइसेन्स केही पनि थिएन। अँ, त्यति बेला बाइकको पनि ठूलै इज्जत हुन्थ्यो। उनको त्यो बानी र विभेदको रुप थाहा पाउन मलाई धेरै समय लागेको थियो।

सेवा लिन वा दिन, भेटघाट, जमघट वा अन्य कार्यक्रममा तपाईंकाे पहिलो मूल्यांकन के लगाउनुभएको छ, केमा पुग्नुभएको छ, कसरी पुग्नुभएको छ? सोका आधारमा तपाईंलाई फरक व्यवहार गरिएको छैन र? चाहे त्यो आफ्नै कार्यालय होस् वा अन्य? अहिले वर्षाको समय छ, तपाईं पाइन्ट घुँडासम्म फर्काएर करिबकरिब टाउकैसम्म हिलो छ्याप्दै छाता ओढे पनि आधा शरीर भिजाएर कुनै कार्यालयको गेटमा पुग्नु र गेटमा गाडी रोकेर हर्न बजाएर ढोका खोल्न लगाउनु र सुकिलैमुकिलै भित्र छिर्नु, फरक छैन र?  तपाईंलाई देख्ने अरुको नजरमा र तपाईको आफ्नै नजरमा पनि?

तपाईं दिनभर हल्लेर हिँड्नुहुन्छ, केटाकेटीलाई राम्रो स्कुलमा पढाउन सक्नुभएको छैन र परिवारलाई चोखोमिठो ख्वाउन सक्नुभएको छैन। एउटा यो घरमूली र अर्को ठ्याक्कै त्यसविपरीत घरमूली, मान्छे तपाईं एउटै, तुलना गरी हेर्नोस् त श्रीमती, छोराछोरी अनि छिमेकीको तपाईंप्रतिको व्यवहार, के विभेद छैन र?

तपाईं दिनभर हल्लेर हिँड्नुहुन्छ, केटाकेटीलाई राम्रो स्कुलमा पढाउन सक्नुभएको छैन र परिवारलाई चोखोमिठो ख्वाउन सक्नुभएको छैन। एउटा यो घरमूली र अर्को ठ्याक्कै त्यसविपरीत घरमूली, मान्छे तपाईं एउटै, तुलना गरी हेर्नोस् त श्रीमती, छोराछोरी अनि छिमेकीको तपाईंप्रतिको व्यवहार, के विभेद छैन र? मान्छे त तपाईं एउटै त हो नि!

लोकल सानो रेस्टुराँ तपाईंले खाने लोकल ठर्रा र अर्काले खाने बियर, त्यो ठाउँको वेटर र साहुजीले तपाईंहरु दुई जनासँग एउटै व्यवहार गर्ला? पक्कै गर्दैन।  यो तपाईंहरुले सेवन गरेका दुई चिजको मूल्य अन्तरको विभेद हो, हुन त यी दुवै चिजले नशा नै दिने हुन्। 

के विभेद  हाम्रो मात्र रोग हो? हैन नि नेपालको पासपोर्ट र अरु देशको पासपोर्टधारीहरुबीच विभिन्न देशमा गरिने व्यवहार कति फरक छ। त्यहाँ पनि चर्को विभेद छ। कोरोना महामारी छ। नेपालमा हामी एक थान खोप भए नि लाउन पाए बाँचिन्थ्यो कि भन्ने आसमा अनुनयविनय गरिरहेका बेला उता अमेरिकामा खोप लगाएमा एक क्यान बियर सित्तैंमा वा केही हजार डलरको चिट्ठा भन्ने समाचार हेर्दै थिएँ। हेर्नोस् त डरलाग्दो विभेद यस्तो मानवीय सवालमा। 

अहिलेकै अवस्था हेरौं न, कोरोना आयो, सबैतिर ठप्प भयो लकडाउनले। यातायात बन्द भयो, त्यो त सबै निमुखालाई मात्र थ्यो। मान्छेहरू चारैतिर पुगेनन् र? पावर लगाए वा पैसा खन्याए तर रोकिएनन्। न त तीनलाई चोखोमिठो खान रोकियो, लकडाउन, बन्द त पैसा वा पावर नहुनेलाई पो भयो त, हैन र? पाँच सयको भाडालाई पाँच हजार तिर्न तयार हुनेहरु बुटवल, पोखरा वा झापा पुग्न रोकिए र? रोकिएनन्। विभेद छैन र?

अहिले हामीमा अध्यात्म, पाप, धर्मको लेखाजोखा हराएको छ। हामी पूरै भौतिकवादी भइसक्यौं र जोसँग पावर र पैसा छ, अब दुनियाँ उसैको र बाँकीचाहिँ निरीह भइसकेको छ, त्यसैले यहाँ चर्को विभेद छ हजुर, सबैतिर, चारैतिर।
@gyawaliramesh

प्रतिक्रिया दिनुहोस्
थप समाचार
ताजा अपडेट
सर्वाधिक पढिएको