विचार

कसको हो चिनियाँ कम्युनिस्ट पार्टी, मजदुरको कि पुँजीपतिको?

1625238122.xi.jpg
सीपीसीको शतवार्षिकी समारोहमा सम्बोधन गर्दै पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिनपिङ। तस्बिर : सिन्ह्वा

बिहीबार (हिजो) मात्रै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले स्थापनाको १००औं वर्षगाँठ मनाएको छ। २१ जुलाई १९२१ मा पार्टी स्थापना गर्ने ५० जनामध्ये अधिकांश बुद्धिजीवी भए पनि रेलमार्ग र खानीमा काम गर्ने मजदुरहरू पनि सम्मिलित थिए। १००औँ वर्षगाँठ मनाइरहँदा यस पार्टीका औपचारिक सदस्य संख्या ९ करोड ५० लाख भन्दा बढी छन्। ४८ लाख त पार्टीका शाखाहरू नै छन्। पक्कै पनि आजसम्म संसारमै सबैभन्दा ठूलो पार्टी हो यो। यसका सदस्यमध्ये एक चौथाई ३५ वर्षमुनिका छन्। २५ प्रतिशत महिला छन्। सन् १९४९ मा पार्टी सदस्यमध्ये १२ प्रतिशतसँग मात्रै कलेजको डिग्री थियो भने अहिले आधाभन्दा बढीसँग छ। 

सन् २०२१ मा आइपुग्दा यो पार्टीमाथि गरिने एउटा प्रमुख प्रश्न हो- यो (सीपीसी) कसको पार्टी हो? पुँजीपतिको र पुँजीपतिका लागि हो वा मजदुरहरूको र मजदुरहरूको लागि हो? छोटो जवाफ हुन्छ- कसैको पनि होइन। तर लामो जवाफ भने जटिल छ। 

स्थापनाताका चिनियाँ कम्युनिस्ट पार्टीलाई दुई जना बुद्धिजीवीहरू चेन तु स्यू र ली ता चाओले नेतृत्व गरेका थिए, जसलाई कम्युनिस्टहरूको तत्कालीन अन्तर्राष्ट्रिय संगठन ‘कोमिन्टर्न’को सहयोग थियो। यी नेताहरूले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)लाई चिनियाँ मजदुरहरूको पार्टी ठानेका थिए, ठ्याक्कै सोभियत संघको बोल्सेविक पार्टीजस्तै। उनीहरूको विचारमा चीनमा क्रान्ति र परिवर्तनको संवाहक मजदुर वर्ग थियो, जनसंख्याको ९० प्रतिशत ओगट्ने किसान होइन। तथापि सन् १९२५ देखि १९२७ सम्म चिनियाँ कम्युनिस्ट पार्टीले थुप्रै किसान आन्दोलनहरूको नेतृत्व गर्‍यो। 

यसैबीच कोमिन्टर्नले पार्टीका नेताहरूलाई च्याङ काई-सेकलगायतका राष्ट्रिय पुँजीपति वर्गसँग मिलेर काम गर्ने निर्देशन दियो। त्यो वर्गले देशका विभिन्न क्षेत्रीय युद्ध सरदारहरूलाई पराजित गरिसकेका थिए। सन् १९२७ मा मजदुर आन्दोलनबाट चिनियाँ कम्युनिस्ट पार्टीले तत्कालीन चीनको सबैभन्दा औद्योगिक सहर साङ्घाई कब्जा गर्योक। त्यसपछि च्याङ काई–शेकको पार्टी सहर प्रवेश गरेर कम्युनिस्टहरूको नरसंहार गर्‍यो। पार्टीका नेताहरू त्यहाँबाट भागेर वुहान पुगे। उनीहरूले त्यहाँको सरकार ‘वाम राष्ट्रवादी’ भएको ठानेका थिए। तर वुहान सरकारले आफ्नो समर्थन च्याङ काई–शेकलाई रहेको घोषणा गर्दै थप चिनियाँ कम्युनिस्टहरूको हत्या गर्‍यो।

सन् २०२१ मा आइपुग्दा यो पार्टीमाथि गरिने एउटा प्रमुख प्रश्न हो- यो (सीपीसी) कसको पार्टी हो? पुँजीपतिको र पुँजीपतिका लागि हो वा मजदुरहरूको र मजदुरहरूको लागि हो? छोटो जवाफ हुन्छ- कसैको पनि होइन। तर लामो जवाफ भने जटिल छ। 

चिनियाँ कम्युनिस्ट पार्टी ग्रामीण इलाकामा जान बाध्य भयो, जहाँ उसले किसानहरू सम्मिलित छापामार दस्ता बनाउन थाल्यो (वास्तवमा उसँग अर्को विकल्प नै थिएन)। पार्टी महासचिव चेन तू–स्यूले भने पार्टीले गरिरहेका विद्रोहको विरोध गरे। उनलाई कोमिन्टर्नले पार्टीबाट हटायो। उनले बाँकी जीवन निराशामा बिताए। त्यसपछि बिस्तारै पार्टीको नेतृत्वमा माओ त्से–तुङ आए। उनी नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले जापानी आक्रमण, च्याङ काई–शेकको शक्ति र वैदेशिक हस्तक्षेपविरुद्ध लामो र कठिन संघर्ष गर्‍यो। 

इतिहासको यो संक्षिप्त वर्णनले पनि के स्पष्ट पार्छ भने सन् १९२० को दशकमा विभिन्न सहरहरूमा पराजित भएपछि चिनियाँ कम्युनिस्ट पार्टीले मजदुर वर्गको आफ्नो आधार गुमाइसकेको थियो। लामो छापामार संघर्षबाट यो पार्टीको नोकरशाहीकरण भइसकेको थियो। अधिकांश पार्टी सदस्यहरू किसान भए पनि समग्रमा यसको नेतृत्व बुद्धिजीवीले गरेका थिए। तर चिनियाँ कम्युनिस्ट पार्टी कहिल्यै पनि पुँजीपति वर्गको भएन। बरु ती पुँजीपति त पार्टीले विजय पाउँदै गर्दा भागेर ताइवान पुगेका थिए। 

यो त इतिहासको कुरा भयो। अहिले चिनियाँ कम्युनिस्ट पार्टी कसरी बनेको छ त? को छन् यसमा? यो पार्टीको सदस्यहरूको सामाजिक बुनोटबारे हालै एउटा गजबको अध्ययन प्रकाशित भएको छ। ली याङ, फिलिप नोभोकमेट र ब्रान्को मिलेनोभिकले संयुक्त रुपमा गरेको अनुसन्धान ‘वर्ल्ड इन्इक्वालिटी डेटाबेस’मा प्रकाशित छ, जसको शीर्षक हो– ‘दुई पुस्ताभन्दा कम समयमा मजदुरबाट पुँजीपतितर्फः सन् १९८८ देखि २०१३ सम्म चिनियाँ शहरी सम्भ्रान्तको रुपान्तरणबारे एक अध्ययन’।

वास्तवमा, प्रयोगसिद्ध तथ्यहरूले यो शोधपत्रको शीर्षकलाई पुष्टि गर्दैनन्। स्थापनाको सय वर्ष पुग्दै गर्दा चिनियाँ कम्युनिस्ट पार्टीमा अधिकांश सदस्य मजदुर (कम्तीमा औद्योगिक मजदुर र खेती मजदुर) नहुन सक्छन् तर यो पार्टी व्यवसायका मालिकहरूबाट बनेको पनि छैन। 

सन् १९८८ देखि २०१३ सम्मको अवधि समेट्ने घरधुरी सर्वेक्षणमा आधारित भएर लेखकहरूले चीनको शहरी क्षेत्रका पाँच प्रतिशत धनीहरूको चरित्रमा आएको परिवर्तनबारे अध्ययन गरेका छन्। यी उच्च आय भएका पाँच प्रतिशतलाई लेखकहरूले चीनका ‘सम्भ्रान्त’ (एलिट)को रुपमा व्याख्या परिभाषित गरेका छन्। (‘ठूलो निर्णयात्मक क्षमता भएको सानो, तुलनात्मक रुपले संगठित र स्थिर समूहलाई सम्भ्रान्त भन्न सकिन्छ।’)

सन् १९८० को दशकमा शहरीकरण शुरु गर्नुअघि किसानमा वर्गमा रहेको आधार सीपीसीले गुमाइसकेको छ। तर अध्ययनले यो पार्टीमा अहिले पनि ठूला वा साना व्यवसायीहरूको प्रभुत्व नरहेको देखाउँछ। बरु ‘पेशाकर्मीहरू’को संख्या बढ्दो छ यद्यपी यो तह अहिले पनि अल्पसंख्यक नै छ। लेखकहरूले पेशाकर्मीलाई यसरी व्याख्या गरेका छन्– ‘विज्ञान सम्बन्धित क्षेत्रहरू (जस्तैः विज्ञान, इन्जिनियरिङ, कृषि, स्वास्थ्य सेवा) र सामाजिक विज्ञान सम्बन्धित क्षेत्र (जस्तैः अर्थशास्त्र, वित्त, कानून, शिक्षा, प्रेस र प्रकाशन, धर्म) आदिमा कार्यरत सबै पेशाकर्मी र प्राविधिकहरू।’

उत्पादनका साधनसँगको सम्बन्धका आधारमा हेर्ने हो भने यी सबै मजदुर नै हुन्। त्यसैले यिनीहरूलाई ‘पेशागत श्रमिक’ भन्नु उपयुक्त हुन्छ। सन् २०१३ मा  चिनियाँ कम्युनिस्ट पार्टीको कूल सदस्य संख्याको २५ प्रतिशत हिस्सा यिनै पेशाकर्मीले ओगट्थे (सन् १९८८ को तुलनामा यो थोरै मात्र फरक हो)। तर सन् २०२१ को आधिकारिक तथ्यांकले यो हिस्सा २७ प्रतिशत रहेको देखाउँछ। तर पार्टीका ‘सम्भ्रान्त’हरूमध्ये यो समूहको हिस्सा बढी छ (पार्टीका सम्भ्रान्त भन्नाले चिनियाँ कम्युनिस्ट पार्टीमा उच्च आय भएका पाँच प्रतिशत)। पार्टीका सम्भ्रान्तमध्ये ३८ प्रतिशत हिस्सा यिनै पेशाकर्मीले ओगट्छन्। सन् १९८८ मा यो हिस्सेदारी २८ प्रतिशत थियो। 

वास्तवमा, तथ्यांकमा हेर्दा सन् १९८८ देखि २०१३ सम्म आइपुग्दा पार्टी सदस्यहरूको सामाजिक संयोजनमा खासै फरक आएको छैन। सन् १९८८ मा १६ प्रतिशत मजदुर थिए तर २०१३ मा ३० प्रतिशत छन् (२०२१ को आधिकारिक तथ्यांक अनुसार ३४ प्रतिशत)। यसका लागि सहरीकरण र औद्योगीकरणलाई धन्यवाद दिनुपर्छ। 

यसैमा विभिन्न कार्यालयमा काम गर्ने कर्मचारी र सरकारी अधिकारीहरूलाई पनि जोड्ने हो भने यी तीन समूहको हिस्सा सन् १९८८ मा ७५ प्रतिशत रहेको पाइन्छ। २०१३ मा भने ७० प्रतिशत। ध्यान दिनुपर्ने पक्ष के हो भने सन् १९८८ मा पार्टी सदस्यहरूमा पुँजीपतिहरू (विभिन्न व्यवसाय उद्योगका मालिक)को हिस्सा नगण्य थियो। २०१३ मा आइपुग्दा उनीहरूको सहभागिता ३ प्रतिशत छ। 

सबैभन्दा परिवर्तन आएको चाहिँ ‘सम्भ्रान्त’ पार्टी सदस्यहरूको सामाजिक बुनोटमा हो। सन् १९८८ मा यो तहमा मजदुर र सरकारी अधिकारीहरूको हिस्सा ७२ प्रतिशत थियो। त्यो संख्या सिंगो सदस्य संख्यामा यी दुई समूहको अनुपातभन्दा खासै फरक थिएन। तर सन् २०१३ आइपुग्दा सम्भ्रान्त पार्टी सदस्य संख्यामध्ये मजदुर र सरकारी अधिकारीको हिस्सा ५७ प्रतिशतमा झर्‍यो। पेशाकर्मी र पुँजीपतिको हिस्सा भने बढेर ४५ प्रतिशत पुग्यो। को हुन् त यी सम्भ्रान्त पार्टी सदस्यहरू? यिनीहरू खासगरी विश्वविद्यालयमा पढेका सरकारी तथा नीजि कम्पनीका कार्यकारी अधिकृत र पेशाकर्मीहरू हुन्।

यो परितर्वनले पार्टीको सिंगो सदस्य र उच्च आय भएका सदस्यबीचको सामाजिक बुनोटमा ठूलो विभाजन सिर्जना गरिदिएको छ। 

यी तथ्यहरूबाट लेखकत्रयले निकालेको निष्कर्ष छः ‘पार्टीको सम्पूर्ण सदस्यसंख्यामा अहिले पनि ‘पुरानो’ सामाजिक समूहहरूको बहुमत हुँदाहुँदै पनि यसको उच्च तहमा ‘नयाँ’ सामाजिक समूहको वर्चस्व छ।’ 

चीनको जनसंख्यामा रहेको हिस्साको अनुपातमा चिनियाँ कम्युनिस्ट पार्टीमा पेशाकर्मीको अति–प्रतिनिधित्व छ। सिंगो जनसंख्याको १८ प्रतिशत मात्र पेशाकर्मी छन् भने पार्टीमा उनीहरूको प्रतिनिधित्व २६ प्रतिशत छ। अहिले चीनको शहरी जनसंख्याको आधा (५० प्रतिशत) मजदुर छन् तर पार्टीमा उनीहरूको प्रतिनिधित्व जम्मा ३० प्रतिशत छ। अझ सम्भ्रान्त पार्टी सदस्यमा त जम्मा १५ प्रतिशत। 

 
यी तथ्यांक केलाउँदा उठ्न प्रश्न हो– के लेखकत्रयले दाबी गरेजस्तै यो सामाजिक बुनोट ‘राजनीतिक पुँजीवाद’ हो त? (खासगरी यो दाबीमा मिलेनोभिकको बढी जोड छ)। 

तथ्यांकहरूले भने यस्तो पुष्टि गर्दैन। यसलाई दुईवटा कोणबाट व्याख्या गर्न सकिन्छ। 

पहिलो, चिनियाँ कम्युनिस्ट पार्टीमा पुँजीपतिहरू निकै कम संख्यामा छन् (सिंगो सदस्य संख्याको जम्मा तीन प्रतिशत)। हुन त तपाईंले कुनै पनि पुँजीवादी पार्टीमा पनि यस्तै हुन्छ भन्न सक्नुहुन्छ। अमेरिकी रिपब्लिकन पार्टी र बेलायती कन्जर्भेटिभ पार्टीमा पनि बहुमत सदस्य ठूला वा साना पुँजीपतिहरू होइनन्। तर ती पार्टीमा पुँजीपति र निम्न–पुँजीपतिको अनुपात चिनियाँ कम्युनिस्ट पार्टीमा भन्दा धेरै छ। र, सम्भ्रान्त पार्टी सदस्यमा पनि त्यस्तै हो। चिनियाँ कम्युनिस्ट पार्टीका सम्भ्रान्तमध्ये पनि जम्मा पाँच प्रतिशत मात्रै पुँजीपति हुन्। 

दोस्रो, यो अध्ययन चिनियाँ कम्युनिस्ट पार्टीको सामाजिक बुनोटबारे हो। चिनियाँ अर्थतन्त्रका आर्थिक र सामाजिक आधारहरूको होइन जसले मात्रै चीन पुँजीवादी हो, होइन भन्ने निर्धारण गर्नेछ। 

हामीले बिर्सन नहुने पक्ष के हो भने चिनियाँ कम्युनिस्ट पार्टीमा कहिल्यै पनि मजदुरहरू बहुमतमा थिएनन् (सन् १९२१ मा चीनमा मजदुर वर्गको संख्या निकै सानो थियो।) र, यो प्रजातान्त्रिक पार्टी पनि होइन। यहाँ सबै नीतिहरू उच्च तहबाट निर्धारित हुन्छन्। माथिल्ला नेताहरूले नै सबै निर्णय गर्छन्। तर १०० वर्षको इतिहासमा चिनियाँ कम्युनिस्ट पार्टी कहिल्यै पनि पुँजीपतिहरूको भएन। यसको सामाजिक बुनोट हेर्दा, यो मजदुर, प्राविधिक र सरकारी अधिकारीहरूको पार्टी हो जसमा ‘सम्भ्रान्त’ पनि सहभागी छन्।
 
यो बुनोटको परिणाम हो, ९ करोड ५० लाख सदस्य, पार्टी, राज्य संयन्त्र र प्रतिष्ठानहरू सबै एकीकृत छन् र चीनको नियन्त्रणमा छन्। चिनियाँ कम्युनिस्ट पार्टी कुनै पुँजीपति वर्गको नियन्त्रणमा छैन। पार्टीका बहुमत सदस्य मजदुर हुन् (हाते काम गर्ने, सुकिला श्रमिक (ह्वाइट कोलार) र पेशाकर्मी)। यसका ‘सम्भ्रान्त’ नेताहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय समाजवादी विचारधारा पछ्याउँछन् र पुँजीपति क्षेत्रसँग उनीहरूको सम्बन्ध छ। 

(अर्थशास्त्री माइकल रोबर्ट्स ‘ग्रेट रिसेसन– अ मार्क्सिस्ट भ्यू’ (महामन्दी– मार्क्सवादी दृष्टि, २००९), ‘द लंग डिप्रेसन’ (लामो मन्दी, २०१६), ‘मार्क्स २०० : अ रिभ्यू अफ मार्क्सिस्ट इकोनोमिक्स’ (मार्क्स २०० : मार्क्सको अर्थशास्त्रको समीक्षा, २०१८) जस्ता पुस्तकका लेखक हुन्। तीन लेखकहरू (ली याङ, फिलिप नोभोकमेट र ब्रान्को मिलेनोभिक)को शोधपत्रमा आधारित रहेर गरिएको समीक्षात्मक टिप्पणी रोबर्ट्सको ब्लगबाट लक्ष्मण श्रेष्ठले अनुवाद गरेका हुन्।)

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको