ब्लग

मृत्युको भयले डसेको त्यो क्षण

1624765764.isolation.jpg
आइसोलेसन सेन्टरका चिकित्सक टोली बिरामीका आफन्तलाई परामर्श दिँदै। तस्बिर : अजवी पाैड्याल

बन्द कोठाभित्र मुर्दा शान्ति छ। वरपर बिल्डिङ बनाइरहेको आवाजले बेलाबेला झस्काउँछ मलाई। ड्याङडुङ र घ्यार्रघुर्रको कम्पनले भित्रैसम्मै आइपुग्छ। आइसोलेसन सेन्टरको झ्यालबाहिर परेवाका जोडी पिरती साटिरहेका छन्। घरी सिसामा ट्वाकट्वाक ठुङ्दै मलाई बोलाउँछन् त घरी ग्रिलभित्रै पसेर दादागिरी देखाउन खोज्छन्। म असहाय बनेर उनीहरुलाई हेरिरहेकी छु। टिफिनमा रहेको रोटीका केही टुक्रा लगेर झ्यालबाहिर राखिदिन्छु। रोटी खोस्न काग र परेवाको तानातान हुन्छ। उनीहरुको यो हर्कतले म भित्रैसम्म खुसी हुन्छु। मुस्कुराउँदै थप केही बिस्कुट राखिदिन्छु।

१३ दिनदेखि उनीहरु मेरा हाँस्ने, बोल्ने र मुस्कुराउने साथी भएका छन्। कोठाबाहिर निस्कन पाएकी छैन। शरीरमा कोरोना भाइरसको लोडको सिटी भ्यालु १७ देखाएको छ। बाहिर असारे झरी दर्किरहेको छ। यो झरीसँगै दर्किरहेको छ मनभित्र तीव्र जिजीविषा। 

झरी मनपर्ने मौसम हो मेरो। सिमसिम पानीको लहरमा धेरै पटक छाता नओडी दौडिएकी छु म। रेनकोट नओडी कैयौं किलोमिटरको यात्रा स्कुटरमा एक्लै गरेकी छु मैले। बलेसीमा तपतप चुहिएको पानीमा हात थाप्दै खुसीले उफ्रिन मलाई खुब मज्जा आउँछ। बेतोडको बतासको झोक्कासँगै दर्कने झरीले कुनै रोमान्टिक दृश्यको याद गराउँछ मलाई। झरीलाई म स्वतन्त्रताको प्रतीकका रुपमा अपनाउँछु जिन्दगीमा। 

कोभिडलाई मैले शरीरबाट निकाल्छु या कोभिडले नै मलाई जिन्दगीबाट हटाउँछ यसै भन्ने स्थिति छैन। तैपनि झ्यालबाट सिरसिर भित्र छिर्ने बताससँगै थोरै सास फेर्ने जमर्को गरिरहेकी छु। परेवा र गौंथलीको चिरबिरसँगै जिन्दगी बाँच्ने आशा सुसेलिरहेकी छु।

आज फेरि यो झरीसँगै एकछिन बहकिन मन लाग्यो। वल्लो घरको कौसी र पल्लो घरको बार्दली गर्दै यताउता उडिरहेका परेवासँगै उड्न मन लाग्यो। मनमा डर हटेको छैन। कोभिडलाई मैले शरीरबाट निकाल्छु या कोभिडले नै मलाई जिन्दगीबाट हटाउँछ यसै भन्ने स्थिति छैन। तैपनि झ्यालबाट सिरसिर भित्र छिर्ने बताससँगै थोरै सास फेर्ने जमर्को गरिरहेकी छु। परेवा र गौंथलीको चिरबिरसँगै जिन्दगी बाँच्ने आशा सुसेलिरहेकी छु। पहिलोपटक चराहरुको स्वतन्त्रता देखेर जलन भइरहेको छ मलाई। तैपनि आफन्त र माया गर्नेहरुको अनुहार सम्झेर झिनो खुसी समेट्ने कोसिसमा छु। 

'गुड इभिनिङ एभ्रिवन। प्लिज अपडेट योर भाइटल’, मोबाइलमा रहेको ह्वाटसअप गु्रपमा म्यासेजको टोन बज्यो। यतिखेर अपराह्नको ५ बजेको थियो। आइसोलेसनमा रहेको मेडिकल टिमले हाम्रो स्वास्थ्यको जानकारी मागेको थियो। बेलाबेला आफ्नो शरीरको ब्लडप्रेसर, तापक्रम, मुटुको चाल र अक्सिजन लेभल चेक गरेर म्यासेज गर्नुपथ्र्यो हामीले। घरीघरी आउने यस्तो ह्वासटअप म्यासेजले पुनर्ताजगी दिन्थ्यो हामीलाई। हामीलाई खबर सोध्ने कोही त छरु अप्ठ्यारो परिहाले सजिलै उपचार पाइन्छ भन्ने भरोसाले पनि जिन्दगी बाँच्ने रहर लाग्थ्यो। 

मेडिकल इन्चार्ज डाक्टर रविन बस्नेत, डाक्टर नेहाल असरफसहित अन्य ६ जना नर्सको टिमको निगरानीमा थिएँ म। थोरै कठिन भए टिममा म्यासेज पठाएर खबर गर्न सक्थें। डाइरेक्ट फोन गरेर सोधपुछ गर्न पनि सकिन्थ्यो। यस अर्थमा आइसोलेसनमा सुरक्षित ठानिरहेकी थिएँ मैले। ससाना कुरा पनि सोधिरहन्थे। सोधेको भन्दा धेरै बुझाएर बताउनुहुन्थ्यो डा रविन। दुईचार घण्टामा मुसुक्क मुस्काउँदै ढोकामा उभिन आउने डाक्टर र नर्सलाई देख्दा नै आधा कमजोरी हटेको महसुस हुन्थ्यो। खाए नखाएको, गाह्रोसाह्रो सोधिदिने कोही हुँदा जिन्दगीको कति भरोसा लाग्ने रहेछ, महसुस गर्दै थिएँ म। आइसोलेसनको पारिवारिक वातावरणमा भिज्दै थिएँ म। एउटा कोठाभित्र आफूलाई बन्द बनाएर कोभिड १९ सँग जुधिरहेकी थिएँ।

मन्त्रीले रोकेको पत्रकारको खोप

कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाउने क्रममा बाध्यताबस छुटेकी थिएँ म। एक त खोप लगाएपछि ज्वरो आउँछ भनेर फैलिएको त्रास। अर्को काठमाण्डौबाहिर गएकाले खोप लगाउन ध्यान पुगेन मेरो। सरकारले खोपको सजिलै व्यवस्था गर्ला भन्ने भरोसाले पनि हुन सक्छ। जे भए पनि आफ्नै गल्तीका कारण पहिलो चरणको खोप लगाइनँ मैले।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनसम्वन्धी रिटको सुनुवाइ चल्दै गर्दा रिपोर्टिङका क्रममा अदालत परिसर पुगेकी थिएँ। त्यहाँ भीडभाड थियो। इजलास सुन्न भेला भएका कानुन व्यवसायी र रिपोर्टिङका लागि अदालत पुगेका पत्रकारको संख्या उल्लेख्य थियो। सबैले सकेसम्म भौतिक दुरी कायम नै राखेका थिए। मास्क पनि लगाएकै थिए। तर पनि खै किन किन त्यति बेलै खुब डर लागेको थियो मलाई। स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा खाजा खान जाँदा पनि भीडभाड नै थियो। क्यान्टिनका कर्मचारी त मास्क विना नै खाजा दिइरहेका थिए। 

सरकारले ६० देखि ६५ वर्षसम्म उमेर समूहलाई खोप लगाउन सुरु गरेको थियो। यसपटक भने सुरुदेखि नै खोप लगाउने कोसिसमा थिएँ। सजिलै खोप लगाउन पाइने सम्भावना त थिएन। वडाअध्यक्ष, मेयरउपमेयरका सबै उमेर समूहका आफन्तले निर्धक्क खोप लगाएको सुनिन्थ्यो।

घरमा आएपछि पनि डर लागिरह्यो। यसै क्रममा सरकारले ६० देखि ६५ वर्षसम्म उमेर समूहलाई खोप लगाउन सुरु गरेको थियो। यसपटक भने सुरुदेखि नै खोप लगाउने कोसिसमा थिएँ। सजिलै खोप लगाउन पाइने सम्भावना त थिएन। वडाअध्यक्ष, मेयरउपमेयरका सबै उमेर समूहका आफन्तले निर्धक्क खोप लगाएको सुनिन्थ्यो। पत्रकार महासंघको चुनावमा सरकार पक्षका पत्रकारको टिम विजयी नभएका कारण फरक दलका टिमलाई सरकारले सहयोग नगरेको खबर पनि पाइरहेकी थिएँ मैले। 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीसँग निरन्तर कुराकानी गरिरहेकी थिएँ। उहाँहरुले कोसिस गरिरहेको जानकारी दिनुभएको थियो। मन्त्रीसँग कुरा गरिरहेको तर निर्णय नभएकाले अप्ठ्यारो भएके उहाँहरुको भनाइ थियो। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्रकारलाई खोप लगाउने व्यवस्था मिलाउन परिपत्र गरेको थियो। यही पत्र देखाउँदै महासंघका महासचिवलाई खोप कहाँ पाइन्छ भन्ने आशयको म्यासेज गरें। उहाँले पत्रकारलाई खोप दिन मन्त्रीले रोकेको बताउनुभयो। महासंघले पहल जारी राखेकाले केही दिन पर्खन आग्रह गर्नुभयो। मिलेपछि तपाईंलाई फोन आउँछ भन्नुभएको थियो तर १५ दिन बढी भइसक्दा पनि फोन आएन। बरु फोनभन्दा छिटो कोभिड पोजेटिभ भएको म्यासेज आयो।

अर्कोतिर गएको आइतबार सर्वोच्च अदालतले पत्रकारहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश दिएको हो। यो आदेशसँगै अबचाहिँ खोप पाइन्छ भन्नेमा थोरै आशावादी छु। 

अदालतबाट आएपछि जिउ भारी भइरहेको थियो। डरैडरमा केही दिन बित्यो। बिहान उठेर वाक जाने क्रममा पनि हिँड्नै सकिनँ म त। चार पाइला हिँड्नासाथ फतक्कै गलें। खाना हेर्नै मन नलाग्ने। दुई दिनपछि घाँटी दुख्न र खोकी लाग्न थाल्यो। राति ज्वरो आयो। ज्वरो आएपछि भने मलाई कोभिडको शंका लाग्यो। सम्पर्कमा भएका डाक्टरलाई फोन गरेर लक्षण सुनाएँ। कोहीले भिटामिन डीको कमीले पनि यस्ता लक्षण हुने बताए। कोभिडमा स्वाद र गन्ध सुरुमै हराउँछ भन्ने सुनेकी थिएँ। त्यसैले पटकपटक भिक्स र परफ्युमको बट्टा खोलेर गन्ध सुघिरहेकी थिएँ। ठिकठाक थियो। कोभिड हैन होला भन्नेमा थिएँ। बरु कोठामा घाम नपस्ने र म घरबाहिर खासै ननिस्कने भएकाले भिटामिन डी कमी देखियो होला भन्नेमा ढुक्क भएँ। 

 

टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनलाई फोन गरें। उहाँले आत्मबल बलियो बनाउन,  खानेकुरा मिलाएर खान र पीसीआर परीक्षण गर्न सल्लाह दिनुभयो। दिउँसो टेकु अस्पताल पुगेर स्वाब दिएँ। कोरोना ओपीडीमा गएर परीक्षण गराएँ। ज्वरो आइरहेको थियो। डाक्टरले सास फेर्न गाह्रो भए नभएको सोध्नुभयो। म निकै कन्फिडेन्ट भएर ठिकठाक छ भनिरहेकी थिएँ।

डाक्टरसँग भएको अक्सिमिटरमा दाइने हातको साइँली औंला छिराएँ मैले। डाक्टरले सोध्नुभयो, छाती दुखेको छ छैनरु फरकफरक औंलाबाट अक्सिजन लेभल लिइरहनुभएको थियो उहाँले। मलाई अलि शंका भयो। त्यतिबेलासम्म पसिनैपसिना भइसकेकी थिएँ। किन र डाक्टररु प्रश्न गरेँ मैले। डाक्टरको जवाफ भने मेरो कल्पनाबाहिरको थियो, ‘तपाईंको अक्सिजन लेभल घटिसकेको छ। आधा घण्टामा आउनुस्। यसरी नै कमी देखियो भने अक्सिजन लगाउनुपर्छ, भर्ना हुनका लागि मेन्टल्ली तयार हुनुहोला। छातीको एक्सरे गरेर आउनुस्।’ अक्सिजन लेभल ९१ मा झरिसकेको रहेछ। यो लेभल ९४ भन्दा तल झरेमा खतराको सूचीमा राखिने रहेछ।

अक्सिजन लेभल नै घट्यो भनेको सुन्दा छाँगाबाट खसेजस्तो भएँ म। हतारिँदै अस्पतालबाहिर निस्किरहेकी थिएँ। सँगै गएको साथी आस्मा बाहिर गाडीमै थिई। दाैडिएर प्रकाश फर्मामा पुगेर अक्सिमिटर किनें। गाडीमा बसेर पटकपटक अक्सिजन लेभल चेक गरें मैले। छातीको एक्सरे पनि सामान्य नै देखाएको थियो। डबल मास्क र फेससिल्ड पनि लगाएको, डराएको हुँदा अक्सिजन लेभल घटेको रहेछ। करिब एक घण्टापछि ठिकठाक भइहाल्यो। खुसी हुँदै घर फर्किएँ।

म्यासेजमा पीसीआर पोजेटिभको रिपोर्ट थियो। सिटी भ्यालु १७। एकैछिनमा आँखा धर्मरायो। जमिन भासिएजस्तै भयो। १२०० भोल्टको करेन्ट लागेजस्तो भो। कतिबेला बेडमा पुगेर पछारिएँ, थाहै भएन। अब जिन्दगी यति नै रहेछ भन्ने लाग्यो। कति सपना बाँकी थिए, के के गर्छु भन्ने थियो। अल्पायुमै मर्न लेखेको रहेछ भनेर रुन आयो।

डाक्टर पुनलाई भेटेर खुसी हुँदै घर आए पनि खोकी लाग्न, घाँटी दुख्न र खसखस हुन छाडेको थिएन। रिँगटा लाग्ने र शरीरमा कम्पन छुट्ने भइरहेको थियो। ल्याबले रातिसम्म पीसीआर रिपोट मोबाइलमा आउँछ भनेको थियो। निद्रामै पनि हात मोबाइलमै पर्थ्याे। इनबक्समा न्यु म्यासेज छ कि भनेर चेक गरिरहेकी थिएँ। बिहान ११ बजेसम्म म्यासेज आएन।

किचनमा बसेर सुप पिइरहेकी थिएँ। मोबाइलमा म्यासेज बज्यो। खोलूँ कि नखोलूँ भन्ने दोधारमा भएका बेला इनबक्स ओपन भइसकेछ। म्यासेजमा पीसीआर पोजेटिभको रिपोर्ट थियो। सिटी भ्यालु १७। एकैछिनमा आँखा धर्मरायो। जमिन भासिएजस्तै भयो। १२०० भोल्टको करेन्ट लागेजस्तो भो। कतिबेला बेडमा पुगेर पछारिएँ, थाहै भएन। अब जिन्दगी यति नै रहेछ भन्ने लाग्यो। कति सपना बाँकी थिए, के के गर्छु भन्ने थियो। अल्पायुमै मर्न लेखेको रहेछ भनेर रुन आयो। ४० वर्षको उमेरमा दुर्घटनामा परेर बित्नुभएको बाबालाई सम्झिएँ। बाबाकी प्यारी थिएँ। उमेरमै म पनि बाबाकै बाटो समाउने भएँ भनेर आँसु झर्‍याे। केही दिनअघि दोलखाका सहकर्मी रवीन्द्र गौतमको कोरोनाकै कारण मृत्यु भएको थियो। त्यो सम्झेर अझ डर लाग्यो।

कीर्तिपुर बस्दा माया गर्ने घरबेटी आन्टी पनि कोभिडकै कारण संसारबाट बिदा हुनुभएको थियो। अझ उहाँको मृत्यु भइसकेपछि २८ घण्टासम्म अन्त्येष्टि हुन पाएको थिएन। कीर्तिपुर आयुर्वेद अस्पतालबाट आर्यघाटसम्म लैजान उहाँको शवमाथि भएको लापरबाही र ढिलासुस्तीको साक्षीसमेत थिएँ म। त्यो सम्झेर अति डर लागिरह्यो। कोभिड लागेर अकालमै मरेकाहरुको चित्र दिमागमा आयो। एउटा हातमा पीसीआर पोजेटिभ रिपोर्ट र दिमागमा छोरीको फोटो आइरह्यो। सम्हालिन निकै गाह्रो भयो। बाँचिन्छ भन्ने आशा त पटक्कै थिएन। अस्पतालमा अक्सिजन लेभल घटेको, खोकी ननस्टप र खसखस। अब जिन्दगी सकियो भनेर धेरै बेर रोएँ म। 

दुईतीन दिनमा शरीर निकै कमजोर भइसकेको थियो। कपाल कोर्दा पनि हात दुखेर थचक्कै भुइँमा बसें म। हातखुट्टा पोलेर चप्पल लगाउनसमेत सकेकी थिइनँ। खोकी यति लाग्थ्यो कि खोक्नकै लागि जन्मिएकी हुँ जस्तो लाग्थ्यो। ज्वरो आउँदा शरीरमा कम्पन छुटेर थर्थर भइरहेकी थिएँ। डाक्टरले होम आइसोलेसनमा बस्न भन्नुभएको थियो। गाह्रो भए जुनसुकै बेला पनि अस्पताल आउन सकिने सुझाव उहाँको थियो। 

दिउँसो तीन बजे कमलपोखरी छेउमा रहेको आइसोलेसन सेन्टर पुगिसकेकी थिएँ। यहाँ पठाउन समाजसेवी रवि सिंहले सहयोग गर्नुभएको थियो। गाडीबाट ओर्लेर आइसोलेसन सेन्टरभित्र पस्दै गर्दा फेरि एकपटक हिम्मत डगमगायो। सकुशल घर फर्कन पाउँ भन्दै प्रार्थना गरिरहें। निकै कमजोर र थकित भएकी थिएँ। बाँच्ने रहरले यति सताउँदो रहेछ कि के भनौं? टाउको दुखेर आँसु मात्रै आउँथ्यो। घरपरिवार र बच्चाको मायाले बेचैन बनाउँथ्यो। पहिलो पटक मृत्युलाई नजिकबाट बुझें मैले। सानैमा बाबा गुमाएको भएर होला अरुको मृत्युले खासै फरक पार्दैनथ्यो मलाई। हरेकको अन्तिम गन्तव्य हो मृत्यु भनेर सामान्य तरिकाले बुझेकी थिएँ। तर जब आफ्नो अगाडि मृत्युको छाया देखिन्छ नि अनि थाहा हुने रहेछ यसको भयले कति डस्ने रहेछ भनेर। 

शारीरिक रुपमा अप्ठ्यारो त भएकै थियो। यो भन्दा कमजोर थियो मेरो मानसिक हालत। घरमा कसैलाई भन्न सकेकी थिइनँ। आइसोलोसन आएको अर्को दिन मात्र फेमिली गुप्रमा पीसीआर रिपोर्टको फोटो पठाएँ। विदेशमा हुने दाइले आत्तिँदै फोन गर्नुभयो। एकछिन क्यामरा अफ गरेर आँसु झारें। केही भएको छैन दाइ, ठिक छु भन्दै झूट बोलें। खोकेको सुन्नुहुन्छ भनेर फोन आउनासाथ तातोपानी पिउने र एक मुठी ल्वाङ मुखमा राखेर बोल्थें। टाउको दुखेको छ भनेर साइलेन्स बसिदिन्थें।  डाक्टर रविन सोसल मिडियामा धेरै नअलमलिन सुझाव दिइरहनुभएको थियो। यसैले गर्दा फेसबुक र ट्विटरका वाल हेर्न छाडेकी थिएँ। अफलाइन बसेर आफन्तसँग कुरा गर्थें। मलाई त्यस्तो अफ्ठ्यारो लक्षण नदेखिएकाले आत्मबल बढाउन लागि सल्लाह दिनुहुन्थ्यो। आत्मबलले कसरी काम गर्छ भनेर अनेक किस्सा सुनाउनुहुन्थ्यो। यो समयमा डाक्टरले गरेको आत्मीय सहयोग अविस्मरणीय छ मेरा लागि। 

बेलाबेला टाउको दुखेर अत्तालिन्छु। खोकी कम भएको छैन। पीसीआर पोजेटिभ नै छ। कमजोरीले आधा घण्टा पनि बस्न सकिँदैन। मोबाइल चलाउँदा पनि हात दुखेर अत्तालिन्छु। र पनि अबचाहिँ पनि बाँचिन्छ कि भन्ने आशा पलाएको छ।

फोन गर्नासाथ मामुले आँसु झरिहाल्नुहुन्थ्यो। परिवारलाई पिर नपार्न पनि म जबरजस्ती दह्रो बन्दै थिएँ। दिनको दुई पटक बाफ लिने, औषधि खाने गरिरहेकी थिएँ। झोल र सुपको आइटम पेलेरै पिएकी छु। खाना त हेर्नै मन नलाग्दो रहेछ। बीचमा आठदस दिन गायब भएको गन्ध र स्वाद पनि फिर्ता आएको छ। अहिले बिस्तारै कम हुँदै गएको छ। बेलाबेला टाउको दुखेर अत्तालिन्छु। खोकी कम भएको छैन। पीसीआर पोजेटिभ नै छ। कमजोरीले आधा घण्टा पनि बस्न सकिँदैन। मोबाइल चलाउँदा पनि हात दुखेर अत्तालिन्छु। र पनि अबचाहिँ पनि बाँचिन्छ कि भन्ने आशा पलाएको छ।

कोभिड लक्षण देखिएको सुरुमै उपचार गरियो भने यसलाई जित्न सकिने रहेछ। ततीन दिन लगाएर यो ब्लग लेख्न सक्ने बनेकी छु। यो बीचमा रेगुलर सुप ल्याएर खुवाउने सहयोग गर्ने प्रिय मनहरुलाई हृदयदेखि नै आभारी छु। झन्झट नमानी हाम्रो आवश्यकता पूरा गरिदिने आइसोलेसन सेन्टरका सबै कर्मचारी र पदम भाइ, मुकेश सरप्रति सदैव ऋणी छु। अत्तालिएको मनलाई ढाडस लिने, सहयोग गर्ने, हौसला दिने मलाई आफ्नो सोच्ने सबैप्रति नमन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको