ब्लग समाचार

चर्चामा रहेको 'ड्रयागन म्यान'बारे यस्तो छ जानकारी

1624692398.skul.jpg

बिहान उठेर यसो टि्वटर खोलेको थिएँ। सधैँझैं टाइमलाइनमा हुने मान्छेहरूकै ट्विट थियो। स्क्रोल गर्दै थिएँ, आधा निद्रामा। सर्रर् जाँदै गर्दा एउटा ट्विटमाथि फ्याट्ट एउटा खप्पर देखेको झैं लाग्यो। फर्केर माथि जाँदा फेरि त्यही ट्विट भेटिनँ। काममा जान तयार हुनुपर्ने भएकाले गर्दा खोज्ने इच्छा पनि जागेन। तर, काममा पुगिसकेर फेरि ट्विटर हेर्दा एक जना साथीले रिट्विइट गरेको देखेँ। र, खोलेर के रहेछ भनेर हेर्दा चीनमा पाइएको एउटा मानव जातिकै खप्परबारे रहेछ।

कुरा के रहेछ भन्दा, चीनको हार्बिन भन्ने ठाउँमा एउटा पुरातन खप्पर भेटिएको रहेछ। जसलाई ‘होमो लङी’ नाम दिइएको रहेछ। चिनी भाषामा लङी भनेको ड्रयागन रहेछ। र, त्यो मानव जातिको कमन नाम ड्रयागन म्यान राखिएको रहेछ।

मैले पढेको समाचारअनुसार त त्यो हाम्रो, होमो नियन्डर्थल वा होमो इरेक्टसभन्दा पनि नजिकको सन्तान पर्ने रहेछ। मेरो उत्सुकता अझै बढ्यो र म त्यसबारे अझै खोजेर पढ्न थालेँ। होमो नियन्डर्थल हाम्रो सबै भन्दा नजिकैको हाँगामा पर्ने मानव जाति हो। तल राखिएको तस्बिरमा विभिन्न हाँगाहरू प्रष्ट पारिएको छ।

    तस्बिर १: मानवजातिको क्रमिक विकासको क्रमिक रुख (इभलुस्नरी ट्री)

र, यो अध्ययनले भने त्यो कुरालाई पनि चुनौती दिएको रहेछ। होमो नियन्डर्थल सम्भवतः ३५,००० देखि ५०,००० वर्ष अगाडि लोप भएको अध्ययनले बताउॅंछ।अहिले पाइएको ड्रयागन म्यान भने कम्तीमा १४०,००० वर्ष पुरानो रहेछ।

साइड नोट: होमो सेपियन्स वा होमो नियन्डर्थलमा “होमो” भन्नाले मान्छे जनाउँछ। सेपियन्सले ‘वाइज’ वा बुद्धिमान। नियन्डर्थल भने नियन्डर उपत्यकाबाट आएको हो।

नेपालमा तिनाउ खोलामा पाइएको मानव जीवाष्मलाई रामापिथेकस सिवालेन्सिस भनिन्छ, त्यसमा रामा भन्नाले रामको र पिथेकस भन्नाले ग्रिकमा एप वा बाँदर बुझिन्छ। तर, यहाँ बाँदर भन्नाले गलत अर्थ लाग्न सक्छ। यो बाँदर हामीले पशुपतिमा देख्ने वाला बाँदर नभएर पुच्छर नभएका मानव झैं देखिने एपहरू हुन्। मानव जाति बाँदरबाट आएको हुन् भन्ने एउटा अफवाह मात्र हो। त्यसमा बाँदर भन्नले एप बुझ्नुपर्छ। जे होस्, वैज्ञानिक नाम कि त त्यो जिवाष्म वा जनावर भेट्ने मान्छेको नाममा वा भेटिएको ठाउँको नाममा राखिन्छ।

त्यसरी नै यो ड्रयागन म्यानको खप्परलाई अध्ययनमा हार्बिन क्रेनियम पनि भनिएको छ। हार्बिनमा पाइएकोले।

खासमा ड्रयागन म्यान पाइएको कुरा रोचक रहेछ। सन् १९३३ मा एक चिनी कामदारले हार्बिनमा एउटा निर्माण क्षेत्रमा काम गरिरहेको बेला त्यो खप्पर भेटेका रहेछन्। त्यतिबेला उनी त्यहाँ जापानीहरूको लागि काम गरिरहेका रहेछन्। कताकता उनलाई त्यो खप्परले केही महत्त्व बोकेको छ कि झैं लागेर उनले त्यो लुकाएर राखेछन्।

तर, २०१८ मा उनको मृत्‍यु हुनुभन्दा अगाडि उनले त्यो खप्पर राखेको ठाउँ आफ्नो परिवारलाई भनेका रहेछन्। उनका परिवारले त्यो खप्पर ‘जियोविज्ञान मिउजियम’- हेबिए विश्वाविद्यालयको भूविज्ञान संग्रहालयमा दान दिएका रहेछन्। त्यहाँबाट बल्ल ड्रयागन म्यानको अध्ययन सुरु भएको रहेछ।

अनुज घिमिरे

शुक्रबार मात्रै प्रकाशनमा आएको शोधपत्रमा उल्लेखित कुरा सक्दो बुझ्दो पढेर तल बुझाउन प्रयास गरेको छु।

***र यो भन्नु अगाडि यो मेरो विशेषज्ञता वा अध्ययन क्षेत्रको विषय हाेइन, क्रमिक विकासमै काम गरे पनि मैले मानव जाति वा मानव जातिको क्रमिक विकासमा काम गर्दिनँ। मैले आफूले बुझेको कुरा वैज्ञानिकवाहेक अरूलाई पनि बुझाउॅं भन्ने हिसाबले लेख्न खोजेको मात्र हो। यस्तो कुराहरू धेरै महत्त्वपूर्ण कुरा हुन्। हामीले हाम्रो उत्पत्ति र त्यसको कारणबारे जान्न जरुरी हुन्छ जस्तो लाग्छ। त्यसैले मलाई यो लेख्न उपयुक्त लाग्यो ।

ड्रयागन म्यान कहिलेको भनेर कसरी पत्ता लगाइयो त?

धेरैजसो जीवाश्महरू कहिलेका हुन् भनेर पत्ता लगाउन ‘कार्बन डेटिङ’ गरिन्छ। कार्बन डेटिङबारे म अर्को ब्लग लेख्नेछु। तर, मुख्य कुरा भनेको हाम्रो वायुमण्डल भएको कार्बन १४ को क्षय अवलोकन गरेर कुनै पनि कुरा कति पुरानो हो अनुमान लगाउन सकिन्छ।

यस अध्ययनमा भने अरू नै शिल्पविज्ञान (टेक्नोलोजी) प्रयोग भएको पाएँ। त्यो मैले आफूले बुझेसम्म यहाँ वर्णन गर्न प्रयास गरेको छु।

यहाँ गरिएको अध्ययनमा, ड्रयागन म्यानको खप्परमा एक्सआरएफ यानलाइसिसले क्याल्सियम, फोस्फोरस, आइरन र म्याग्नेसियम भएको पत्ता लगाएको अनुसन्धानमा उल्लेख गरिएको छ। ड्रयागन म्यानमा पाइने तत्त्वको तुलनाको लागि प्लेइस्टोसिन एरामै पाइने अरू स्तन्धारीहरूको हड्डी, जस्तै दुइटा कन्ट्रोल** गैंडाको हड्डी, प्रयोग गरिएको थियो। र, ती दुवैमा उस्तै-उस्तै तत्त्वहरू पाइएको छ।

**धेरै जस्तो वैज्ञानिक विधिमा कुनै पनि कुरालाई अर्को कुरासँग तुलना गरिने कुरालाई कन्ट्रोल भनिन्छ। जस्तै, कुनै नयाँ औषधिको परीक्षण गर्न पर्दा त्यो औषधि र कन्ट्रोल वा प्लसिबोको प्रयोग गरिन्छ। यसरी नै यहाँ भने, त्यो ड्रयागन म्यानको खप्पर कतिबेलाको हो भनेर त्यसलाई तुलना गर्नको लागि प्लेइस्टोसिन एराको हड्डीसँग तुलाना गरिएको हो।

एक्सआरएफ यानलाइसिस् भनेको के हो?

एक्सआरएफ वा एक्स्-रे फ्लोरोसेन्स नन डिस्ट्रक्टिभ विश्लेषणको एउटा प्रविधि हो, जस्ले तत्त्वसंरचना निर्धारण गर्न मद्दत गर्छ।

ड्रयागन म्यानको खप्पर र हार्बिन क्षेत्रमै पाइने अरू स्तनधारीको हड्डीहरूमा पनि समान मात्रामा स्ट्रोनियम, यिट्टियम र जिर्कोनियम पाइएको छ।

तस्बिर २. सोही अध्ययनमा प्रकाशन गरिएको माथिको फिगरले समान मात्रामा रहेका ती तत्त्वहरू देखाउँछन्। यहाँ हार्बिन म्यान र लेट प्लेइस्टोसिन-अर्ली होलोसिन र मिडल-लेट प्लेइस्टोसिन स्तनधारीसँगको तुलना देखाइएको छ।

र, त्यसरी नै आरईई अर्थात ‘रेर अर्थ् एलिमेन्ट‘ (Rare earth element) को प्रयोगबाट ड्रयागन म्यानको नाकको हड्डीलाई सोही समयमा पाइएको अरू सात प्रजातिको स्तनधारी र दुई प्रजातिको मानव जातिसँग तुलना गरिएको थियो। र, ती विश्लेषणले पनि ड्रयागन म्यानलाई मिडल प्लेइस्टोसिनतिरै राखेको पाइएको रहेछ।

त्यसरी नै यो अध्ययनमा कार्बन डेटिङको सट्टामा इुउ सिरिज डेटिङ (जुन कार्बन डेटिङ जस्तै इुरेनियम-थोरियम डेटिङ हो) , स्ट्रोनियम इसोट्रपिक कम्पोजिसन र लिथोस्ट्राटिग्राफइक कोरिलेसनको पनि प्रयोग गरिएको रहेछ।

यो सबै अध्ययनले त्यो हार्बिन क्रेनियम वा ड्रयागन म्यानको उमेर कम्तीमा १४८ केए (KA) वा किलोयानम (भन्नाले हजार वर्ष) जनाउँछ। समग्रमा गरिएको सबै अध्ययनअनुसार हार्बिन क्रेनियम वा हार्बिन म्यान नाम दिइएको यो मानवको जाति प्लेइस्टोसिन एराको रहेको अध्ययनले देखाएको छ।

कस्तो छ त ड्रयागन म्यान? 

हार्बिनमा पाइएको जीवाश्म एउटा पुरुषको हो भन्ने अध्ययनले बताएको छ। जसको मानव जातिसँगको  तुलनात्मक रुपमा ठूलो दिमाग वा ब्रेन साइज थियो। उसको आँखा तुलनात्मक रूपमा ठूला देखिन्थे, नाक ठूलो थियो।

र, त्यो ड्रयागन म्यानको चिउँडो भने भेटिएको रहेन छ।

तस्बिर ३/४/५ . ड्य्रागनम्यानको खप्पर/ रेन्डेसन इमेज

नोटः यो लेख “सेल” जर्नलमा प्रकाशित भएको सोध पत्र पढेर लेखिएको हो। यो सोध पत्र “यहाँ” क्लिक गरेर वा तलको रिफ्रेन्स /वेबसाइटबाट खोज्न सकिन्छ। 

यो सामग्री लेखकको ब्लगबाट लिइएको हो- सम्पादक

प्रतिक्रिया दिनुहोस्
थप समाचार
ताजा अपडेट
सर्वाधिक पढिएको