अर्थ समाचार

धनुषा र सिरहाका ५-५ पालिकाले ल्याएनन् बजेट

1615723629.jpg

जनकपुरधाम- प्रदेश २ को धनुषा र सिरहा जिल्लाका ५-५ वटा पालिकाले संवैधानिक सीमाभित्र बजेट ल्याउन सकेनन्।

स्थानीय सरकारले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने प्रावधान रहेकोमा धनुषाको १८ वटा स्थानीय तहमध्ये १३ वटाले मात्रै बजेट प्रस्तुत गर्न सके।

प्रमुख-उपप्रमुख तथा अन्य जनप्रतिनिधिबीचको विवादको कारण धनुषाका स्थानीय तहहरुले समयमा बजेट ल्याउन नसकेका हुन्। धनुषाका ३ वटा नगरपालिका र २ वटा गाउँपालिकाले बिहीबारसम्म नगरसभा नै गर्न सकेनन्।

गणेशमान चारनाथ नगरपालिका, सहिदनगर नगरपालिका र कमला नगरपालिका तथा जनकनन्दिनी र धनौजी गाउँपालिकाले समेत बजेट ल्याउन सकेका छैनन्। नगरसभाका लागि आवश्यक तयारी नपुगेकोले निर्धारित समयभित्र बजेट ल्याउन नसकेको उक्त स्थानीय सरकारका प्रतिनिधिहरुले बताए।

गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादवले बजेट ल्याउनका लागि आवश्यक तयारी नपुगेकाले बजेट ल्याउन नसकेको बताए। उनले यस महिनाको अन्त्यसम्ममा बजेट ल्याउने बताए। त्यस्तै कमला नगरपालिकाका प्रमुख रामउदगार यादवले आवश्यक तयारी पूरा नभएकोले समयमा बजेट ल्याउन नसकिएको बताए।

चालू आर्थिक वर्षको बजेटसमेत धनुषाका केही स्थानीय तहले समयमा ल्याउन सकेका थिएन्। आर्थिक वर्ष २०७७÷७८ को बजेट गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका, मिथिला विहारी नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकालगायतका केही स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका थिएनन्।

धनुषामा १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका छन्। आर्थिक वर्ष २०७८/७९ को लागि जनकपुरधाम उपमहानगरपालिकाले १ अर्ब ५३ करोड ८७ लाख ६१ हजारको बजेट ल्याएको छ। त्यस्तै मिथिला नगरपालिकाले ६५ करोड १८ लाख ५० हजार २३० रुपैयाँको बजेट ल्याएको छ।

सबैला नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि ६३ करोड ५२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ। हंसपुर नगरपालिकाले ६२ करोड ८० लाख ५६ हजार, क्षीरेश्वरनाथ नगरपालिका ६१ करोड २४ लाख ६१ हजार, विदेह नगरपालिकाले ५९ करोड, धनुषाधाम नगरपालिकाले ५६ करोड ५१ हजार, मिथिला बिहारी नगरपालिकाले ५० करोड ५५ लाख ५५ हजार र नगराईन नगरपालिकाले ४७ करोड १९ लाख रुपैयाँको बजेट ल्याएका छन्।

गाउँपालिका तर्फ सबैभन्दा बढी मुखियापट्टी मुसहरनिया गाउँपालिकाले ४६ करोड ३५ लाख ३८ हजार ६८२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 

औरही गाउँपालिकाले ३८ करोड १९ लाख ५० हजार, बटेश्वर गाउँपालिकाले ३६ करोड १५ लाख ५० हजार र लक्ष्मीनिया गाउँपालिकाले ३० करोड ३० हजार रुपैयाँको बजेट ल्याएको छ।

यस्तै सिरहाका १२ वटा स्थानीय तहले मात्रै बजेट ल्याएका छन् भने ५ स्थानीय तहको नगर तथा गाउँसभा नै अन्यौलमा परेको छ। कल्याणपुर नगरपालिका, औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका र विष्णुपुर गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन्।

सिरहाको लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, सिरहा नगरपालिका र अर्नमा गाउँपालिकाले बिहीबार एकै दिन नगर तथा गाउँसभामार्फत् आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन्।

गोलबजार नगरपालिकाले ८१ करोड पाँच लाख ७५ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। सो नगरपालिकाले चालू तर्फ रु. ४१ करोड २२ लाख ८८ हजार र पूँजीगत तर्फ रु ३९ करोड ८१ लाख ७८ हजार बजेट विनियोजन गरेको नगर प्रवक्ता उमेश बरालले बताए।

नगरसभा सम्पन्न गरेको सिरहा नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु. ७९ करोड ४० लाख १८ हजारको बजेट विनियोजन गरेको छ भने सुखीपुर नगरपालिकाले रु. ४९ करोड ३३ लाख ६५ हजारको बजेट पारित गरेको जनाएको छ।
त्यस्तै मिर्चैया नगरपालिकाले रु. ६८ करोड ४९ लाख ११ हजारको बजेट ल्याएको नगरप्रमुख श्रवणकुमार यादवले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको