अर्थ

विराटनगर महानगरले ल्यायो ४ अर्ब १० करोडको बजेट

1624525451.Biratnagar.jpg

विराटनगर- विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजारको बजेट प्रस्तुत गरेको छ। 

बिहीबार महानगरपालिकाको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिन्। महानगरपालिकाले प्रशासनिक तर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पूँजीगत तर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड खर्च हुने अनुमान गरेको छ। कार्यालय सञ्चालन तर्फ कुल बजेटको ११ प्रतिशत र पूँजीगत तर्फ ८९ प्रतिशत रहेको प्रस्तुत बजेटमा उल्लेख छ।

महानगरले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत् संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५००, संघ–संस्थाबाट १ करोड ४४ लाख र जनसहभागिताबाट १० करोड आम्दानी हुने अनुमान नगरसभामा प्रस्तुत गरेको छ। 

प्रस्तुत बजेटमा पूँजीगत खर्चमध्ये पूर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ।

महानगरले वडास्तरीय आयोजनाहरुमा २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड, अन्तर्राष्ट्रिय सभाहलको जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ।

विराट राजाको दरवार क्षेत्रका लागि ५ करोड, सन्ध्याकलीन आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, फ्लाइ ओभरका निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड विनियोजन गरेको छ।

महानगरले क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षा तर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुद तर्फ १ करोड ६१ लाख, स्वास्थ्य तर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापन तर्फ ३ करोड बजेट विनियोजन गरेको छ।
महानगरपालिकाले गत आर्थिक वर्षमा ४ अर्ब २३ करोड ३ लाख रुपैयाँको आय अनुमान गरेकोमा पछिल्लो १० महिनामा १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ मात्र यथार्थ आम्दानी गरेको छ।

यस अवधिमा ३ अर्ब ६३ करोड पूँजीगत खर्च हुने अनुमान गरेको भए पनि ८८ करोड मात्र खर्च गर्न सकेको छ। महानगरले ९५ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको भए पनि पछिल्लो १० महिनाको अवधिमा ३१ करोड ३८ लाख मात्र आम्दानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको