समाचार

पर्वतको सेतीवेनी बजारमा बाढी पस्यो, १० घर विस्थापित

1623748944.seti beni.jpg
कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि डुबानमा परेकf पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित सेतीवेणी बजार। तस्बिरः लक्ष्मीप्रसाद सापकोटा/रासस

पर्वत- अविरल वर्षाका कारण पर्वत, स्याङ्जा र गुल्मीको सीमानामा पर्ने सेतवेणी बजारमा बाढी पसेको छ। पपर्वतको विहादी गाउँपालिका-६ सेतीवेणीमा रहेको शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो। 

कालीगण्डकीमा पानीको सतह बढेपछि शिला र बजार डुबानमा परेको पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन्।ती १० घरमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उनले बताइन्। 'सेतीवेणी बजारका १० घरका मानिस र सामान सारिएको जानकारी प्राप्त भएको छ। थप उद्धार गरिहाल्नुपर्ने अवस्था छैन। थप उद्धार गर्नुपरे तत्काल सबै जनशक्ति परिचालन गर्न तयारी अवस्था राखेका छौँ,' प्रजिअ खत्रीले भनिन्। 

स्थानीयवासी तिलक पराजुलीले मंगलबार बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका बताए।पराजुलीका अनुसार बाढीका कारण तटबन्ध र ग्याबिनसमेत पुरिएको छ। मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणी बजार डुबानको खतरामा पर्ने गरेको हो। सेतीबेणी बजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधारण त्रसित बनेका छन्। 

विगत ११ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए। विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताउँछन्। 

कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’ को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिएकी छन्। प्रजिअ खत्रीका अनुसार अझ पनि वर्षा भइरहेकाले जिल्लामा थप क्षति भएको आकलन गरिएपनि यकिन तथ्यांक भने प्राप्त भइनसकेको बताइन्। 

पाण्डेले थुप्रै स्थानमा पहिरो खसेका कारण ग्रामीण सडक अवरुद्ध भएको जानकारी दिइन्। बाग्लुङ र म्याग्दीबाट कुस्मा बजारमा जोडिने सडक पनि अवरुद्ध छन्। 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको