कला/साहित्य समाचार

अचेल दिनहुँ झोक चल्छ कवि पराजुलीलाई

1623127344.Arjun-parajuli.jpg

काठमाडौं- सामाजिक सञ्जालमा धर्का भएका सेता पानामाथि डिका नदिएको सुकिला अक्षर लेखिएको फोटो भेटियो भने सम्झिनुस् ती कवि अर्जुन पराजुलीका कविता वा अभिव्यक्ति हुन्। पराजुलीका चोटिला अभिव्यक्ति समसामयिक राजनीति र सामाजिक बेथितिमाथि केन्द्रित छन्। 

पराजुलीले समय सान्दर्भिक छोटाछोटा एकाध हरफ ‘हेन्ड राइटिङ’ कविताको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट्याउँदै आएका छन्। उनको यो सुरुवात प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाजस्ता घटनाक्रमसँगै भएको थियो। पराजुलीका कविता फेसबुकबाट ट्विटर, इन्स्टा र टिकटकजस्ता अन्य सामाजिक सञ्जालमा फैलियो। सन्तझैं लामा दाह्रीजुँगा पालेका कवि पराजुलीको चिनारी छोटो शब्दवाण प्रहार गर्ने स्रष्टाका रूपमा स्थापित भइसकेको छ।

निकै चोटिला पंक्तिमा उनी आफ्नो कवितात्मक अभिव्यक्ति राख्छन्। तर किन पानामा लेखेर पोस्ट्याउँछन् त कविता र कविताजस्ता लाग्ने शब्दका हरफ? 

थोरै भनाइमा राज्य व्यवस्थाविरुद्ध खबरदारी गर्न छोटाछोटा कविता लेख्ने गरेको कवि पराजुली बताउँछन्। भन्छन्, ‘दुई लाइन लेखेर भन्न सकिन्छ भने किन लामु लेख्नु?’ ०७८/७९ को बजेटमा सरकारले ढुंगा, गिट्टी, बालुवा निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्ने नीति ल्यायो। सरकारको यस्तो नीतिले चुरे क्षेत्रको प्राकृतिक स्रोत तहसनहस गरी मुलकको चुरे भावरलाई मरुभूमिमा परिणत गर्न सक्ने भन्दै चौतर्फी आलोचना भयो। कवि पराजुलीले यो कदमविरुद्ध जुन ४ को बिहान फेसबुकमा हेन्डराइटिङ कविताको फोटो पोस्ट्याए:

पहिलो भन्थे-
नयाँ युग बोकेर 
चुरे चढ्न दिल्लीबाट रेल आउँदै छ। 
अहिले सुनिँदै छ–
झिटीगुन्टा बोकेर रेल चढ्न 
चुरे आफैं दिल्ली जाँदै छ। 

निकै चोटिला पंक्तिमा उनी आफ्नो कवितात्मक अभिव्यक्ति राख्छन्। तर किन पानामा लेखेर पोस्ट्याउँछन् त कविता र कविताजस्ता लाग्ने शब्दका हरफ? ‘सुरुवाती चरणमा टाइप आउँथेंन, टाइप नजानेपछि विकल्पमा हेन्डराइटिङ रोजें अहिले त्यही बानी पर्‍यो,’ उनी भन्छन्। 

पहिलापहिला कविता सुन्ने झुण्ड खोज्दै या कार्यक्रम खोज्दै कुद्नुपर्थ्यो। पालो कुर्नुपर्थ्यो र नाम टिपाउनुपर्थ्यो। अहिले सामाजिक सञ्जालमा त्यो मास डिजिटल भएर आयो। इन्टरनेटसँगै आएको फेसबुकको भित्ता उनका लागि कविता भन्ने गतिलो ‘प्लेटफर्म’ बन्यो। भौतिक मास अहिले डिजिटल युगमा प्रवेश गरेको पाउँछन् पराजुली। अहिले सामाजिक सञ्जाल पराजुलीका लागि कविता वाचन गर्ने मञ्च बनेको छ।

लोकतान्त्रिक गणतन्त्रका नेता-कार्यकर्ता निरंकुशता बन्न खोज्नेविरुद्ध उनी कलम चलाउँछन्। तर आफ्ना सबै हरफलाई कविताको ट्याग भने पनि दिँदैनन्।

लेखेर पोस्ट्याएका शब्दका सबै हरफ साहित्यिक दृष्टिले कविता नहोलान्। तर उनका अभिव्यक्ति भने समय सान्दर्भिक छन्, मार्मिक छन्। विकृतिविरुद्ध छन्। भन्छन्, ‘मैले लेखेका कविता हुन्छ पनि र हुँदैनन् पनि।’ 

लिपुलेकको चुच्चो नयाँ नक्सामा जोडेर राष्ट्रियता कमाएको केपी ओलीको सरकारले नागरिकता विधेयक र चुरेको ढुंगा-गिट्टीमाथि देखाएको राष्ट्रियतामाथि उनी व्यंग्य गर्छन्। जुन ३ मा यो हरफ पोस्ट्याएका छन् पराजुलीले:

छोप्नोस् हजुर 

तपाईंको राष्ट्रियता देखियो

छोटा हरफमा उनी आफ्नो नाम राख्दैनन्। र, कागजमा लेखेर पोस्ट्याएका लामाछोटा हरफहरुको कुनै शीर्षक हुँदैन। भन्छन्, ‘के लेखें कसका लागि लेखें र त्यसको शीर्षक के हुन्छ पाठक नै निर्क्याेल गरिहाल्छन्।’

भेरी अस्पतालमा गत जेठ १३ गते डाक्टर र नर्समाथि भएको आक्रमणले कोरोना कहरका बेला निकै चर्चा पायो। स्वस्थ्यकर्मीको सुरक्षाको वातावरण हुनुपर्ने माग गर्दै नर्स सडक आन्दोलनमा निस्किए। तब पराजुलीले यसरी विरोध जनाए:
कुट!
डाक्टरलाई कुट!
नर्सलाई कुट!
आफ्नो ज्यान माया मारेर 
अरुको ज्यान बचाउन खोज्नेलाई 
बाँकी राख्न हुँदैन कुट्नुपर्छ 
तब न 

तिम्रा छोराका बाले 
आँउदो चुनावमा टिकट पाउँछ। 
तब न 
तिम्रो नाम मन्त्रिमण्डलमा आउँछ। 

लोकतान्त्रिक गणतन्त्रका नेता-कार्यकर्ता निरंकुशता बन्न खोज्नेविरुद्ध उनी कलम चलाउँछन्। तर आफ्ना सबै हरफलाई कविताको ट्याग पनि दिँदैनन्। कुरा राख्न कविता नै चाहिन्छ भन्ने पनि होइन। उनी समसामयिक बेथितिमाथि खबरदारी गरिरहन्छन्। भन्छन्, 'वेथिती देख्दा झोक चल्छ, नलेखी बस्नै सकिन्न।' 

सरकार बन्दाबन्दी गरेर सत्ताको लुँडो खेलिरहेको छ। जनता भोकसँग लडिरहेका छन्। बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स पाएका छैनन्। भाइरल ज्वरोका कारण थलिएको बिरामीलाई अस्पताल कोरोनाका नाममा लाखौं लुटिरहेको छ। बिरामी जनता अक्सिजनका लागि रुवाबासीमा छन्। सरकार कानमा तेल हालेर सुतेको यस विषम परिस्थितिमा पराजुली कवितामार्फत छटपटिएका कोरोना संक्रमित बिरामीको स्वर गर्जिन्छन्:

सरकार 
तेरो पानीजहाज लैजा 
चुच्चे रेल लैजा 
तेरो स्मार्ट–सिटी लैजा 
समृद्धिको भेल लैजा
तेरो उद्घाटन लैजा शिलान्यास लैजा 
पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा 
मेरो बाको औंठी लैजा, घडी लैजा 
मेरो आमाको तिलहरी लैजा 
सरकार! 
यी सबैको बदलामा तैंले 
मलाई एक सिलिन्डर अक्सिजन दे।

पराजुली २०६२/६३ को जनआन्दोलनमा कविता लिएर सडकमा उत्रिएका थिए। उनले सडकमा शक्तिशाली कविता वाचन गर्ने र नागरिकलाई लोकतन्त्रका निम्ति उत्प्रेरित गर्ने कविता बाचन गरे:

जंगबहादुर हुनुहुँदो रहेछ तपाईं
जुँगा उखेल्नुभो हजुरले जुगको
थुकौं भने पनि तपाईंलाई
अपमान हुनेभो मेरो थुकको।

दुई तिहाइ बहुमत पाएर प्रधानमन्त्री भएका केपी ओलीले निर्वाचित संसद् विघटन गरी लोकतन्त्रलाई कुल्चेर चालेको कदमले कवि पराजुलीलाई सरकार प्रतिगमनतिर गएको महसुस भएको थियो। नागरिक आन्दोलनमा लामो यात्रा गरेका पराजुलीले प्रतिगमनविरुद्ध कवितामार्फत आवाज दिइरहे। जनताको बलबुताले गणतन्त्र आयो, संविधान आयो। सरकारमा बस्नेहरु संविधानविरुद्ध हिँडिरहे। 

गणतन्त्रको हत्या गरेको उनको बुझाइ छ। भन्छन्, ‘गणतन्त्रलाई माया गर्नेले यस्तो कदम चाल्नै सक्दैनन्। नीति, नियम, कानुन र संविधान केही पनि नमान्ने शैलीले समस्या निम्तिएको छ।’ 

‘संविधानभन्दा बाहिर बसेर काम गर्ने भए किन यो संविधान चाहियो त?’ उनी प्रश्न गर्छन्।  यसले त व्यवस्था नै जान सक्ने उनको बुझाइ छ। पराजुली भन्छन्, ‘परिवर्तनका लागि लडेका जनताले बनाएको स्थायी सरकारका नेतृत्वकर्ता भने कार्यकर्ता पाल्ने र भ्रष्टको संरक्षण मात्रै गर्न थाले। यसरी संविधान मिचेर सत्ता टिकाइरहनु प्रतिगमन हो। यसविरुद्ध आन्दोलन चलिरहन्छ।’

उनी बोल्दाबोल्दै ०१७ साल भाग दुई भन्ने कविता सम्झिन्छन्:

पर्दा बेग्लै झ्याल उही 
जिब्रो बेग्लै र्‍याल उही 
खोपडी बेग्लै ख्याल उही 
छाला बेर्दै स्याल उही
यो १७ साल भाग तीन
त्यो १७ साल भाग दुई

कवि पराजुली राजनीतिक दल र तिनका नेताहरुको षड्यन्त्रकारी सोच, संकीर्ण राजनीतिक अनुहार, व्यक्तिगत स्वार्थका लागि गुटगत कलह, लोकतन्त्रको मूल्य-मान्यतामाथि सरकारले गरेको प्रहारविरुद्ध बुझिने भाषामा खरो लेख्छन्:

चुनाव त अठत्तर सालमा हुन्छ महोदय, 

गन्नोस् कति साल बाँकी छ हिजो मात्रै सत्र साल आयो।

६२/६३ सालको दोस्रो जनआन्दोलनमा २८ दिन सामूहिक जेल परेका पराजुली आज पनि प्रतिगमनकै कविता कोर्छन्। जनताले लोकतन्त्रको संरक्षण तथा संवर्धन गर्न भनेर दिएको मतको अपमान हुने गरी चलाएको पछिल्लो कदमलाई उनले ‘सत्र भाग ३’ को नाम दिएका छन्। जो २०१७ सालमा निर्वाचित सरकारलाई अपदस्थ गरी राजा महेन्द्रले पञ्चायत लादेको समयसँग तुलना गर्छन्। ‘कहीं दुई तिहाइको बहुमत प्राप्त सरकारले संसद् भंग गर्छ?’ उनी प्रश्न गर्छन्। 

गणतन्त्रको हत्या गरेको उनको बुझाइ छ। भन्छन्, ‘गणतन्त्रलाई माया गर्नेले यस्तो कदम चाल्नै सक्दैनन्। नीति, नियम, कानुन र संविधान केही पनि नमान्ने शैलीले समस्या निम्तिएको छ।’ 

उनको विरोध राजनीतिमाथि मात्र पनि छैन। ०७७ साल मंसिरमा उखुुको भुक्तानी माग्दै उखु किसानले माइतीघरमा आन्दोलन नै गरे। समृद्धि ल्याउँछु भन्ने वाचा गरेको सरकारले भने उल्टो सास्ती दियो। तर भुक्तानी दिएन। यता पराजुलीको कवि मनले धरै पाएन र लेखे दुई हरफ कविता:

विश्वमा एउटा यस्तो पनि ठाउँ छ 
जहाँको उखु पेल्दा रस आउदैन आँसु आउँछ।
 

पराजुली आफ्नो कवितामार्फत सरकारको गलत कदमप्रति व्यङ्ग्य गर्छन्:

मेरो बस्तीमा 
बाढी लागेन 
पहिरो लागेन
आगो लागेन 
कोरोना लागेन 
तर के गर्नु हजुर
सरकार लाग्यो।
 

पराजुली सामान्य परिवारमा जन्मिए। एघार वर्षको उमेरदेखि बिहान ७ बजे स्कुल हिँड्थे। साँझ सात बजे फर्किन्थे। बाटोमा हिँडेको समय नै उनको घोक्ने समय हुन्थ्यो। दुःख गरी पढेका पराजुली एसएलसी पास गरेपछि आफैंले पढेको स्कुलमा शिक्षक भए। शिक्षण पेसा त्यागेर उनले लोकसेवा लडे। निजामती सेवामा रहँदा कर्मचारी आन्दोलनमा भाग लिए। आन्दोलनकारीसँगै हनुमानढोकामा थुनिए। पछि जागिर छाडे। २०५४ सालमा स्थापित सिस्नोपानी नेपालका संस्थापक सदस्यसमेत हुन् उनी।

पराजुलीका कविता मात्रै होइन, गीत पनि हृदयस्पर्शी छन्। गीतका शब्दशब्दले भावुक बनाउँछ। द्वन्द्वकालमा आफ्नो पत्नी आफ्नै आँखा अगाडि गुमाउनुपरेका महिलाको यथार्थ कथालाई उनले शिशिर योगीको संगीतमा गीतमार्फत यसरी भने:

तैपनि भान्सा कुरुँकुरुँ लाग्छ। 
तैपनि बाटो हेरुँहेरुँ लाग्छ। 
गोलीलाई उनले लगेको छ 
बिदा र पानी मागेको छ। 
तैपनि भान्सा कुरुँकुरुँ लाग्छ। 
तैपनि बाटो हेरुँहेरुँ लाग्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको