ब्लग

स्वास्थ्यकर्मी 'निर्जीव' भएका छौँ, निदाउन कहाँ सक्छौँ र?

1621831278.jpg

मिठो निन्द्रामा अनगिन्ती सपना देख्न छोडेको महिनौँ भयो। कहाँ गए ती मिठा निन्द्राहरू? कहाँ गए निद्रामा आइरहने ती अनगिन्ती सपना? वास्तवमा म सुत्न सकेकै छैन। सुत्नै नसकेपछि कहाँ लाग्नु मिठो निन्द्रा? कहाँ देख्नु सपना?

निदाउन नसकेर होला, एउटा छट्पटाहट्ले सदा सताइरहन्छ। म निदाइहालेँ भने मेरा अनगिन्ती आमाबुबा, दाजुभाइ, दिदीबहिनी, प्यारा साथी र प्रिय आफन्त अस्पतालको शय्यामा छट्पटाउने छन्। मेरो निन्द्रा कटाएर उनीहरूको छट्पटाहटमा मल्हमपट्टी लगाउन सक्छु भने मैले मेरै मात्र निन्द्रालाई ठूलो विषय किन बनाउने? त्यसैले गहिरो निन्द्रामा डुब्न छोडेको धेरै भयो।  

कोभिड-१९ महामारीको पहिलो चरणपछि त्रासदीपूर्ण परिस्थिति अनुकूल बन्दै थियो, अचानक दोस्रो लहरको चपेटामा परेको मेरो देश अझै निस्कन सकेको छैन। यो चपेटाबाट उन्मुक्ति पाउन भरमग्दुर प्रयास गरिरहेको छ। स्वास्थ्यकर्मीहरू दिनरात निन्द्रातन्द्रा र भोकशोक नभनी युद्धरूपी मैदानमा छन्। 

हजारौँ मानिसले आफूलाई सङ्क्रमणबाट जोगाउन सक्नुभएन। स्वास्थ्य सुरक्षाका नियम र मापदण्ड अपनाउँदा अपनाउँदै पनि कोरोना सङ्क्रमण बढेको बढ्यै छ। यस्तो बेला भरभरोसा भनेका अस्पताल र स्वास्थ्यकर्मीहरू नै हुन्। अस्पताल निर्जीव साधन हो, त्यसलाई चलाउने स्वास्थ्यकर्मीहरू हुन्। मानवीय भावनात्मक गुणले गर्दा स्वास्थ्यकर्मीहरूले निद्रा मात्र होइन, धेरै कुराको बलिदान गरेका छन्। तैपनि, दुःख त त्यसबेला लाग्छ- सरकारले स्वास्थ्यकर्मीको उचित मूल्यांकन गर्दैन, बरु महामारी नियन्त्रणमा दिनरात खटिरहेका स्वास्थ्यकर्मीहरूमाथि नै राज्यबाटै पनि पटकपटक आक्रमण हुन्छ। अरूको त के कुरा? 

म निदाइहालेँ भने मेरा अनगिन्ती आमाबुबा, दाजुभाइ, दिदीबहिनी, प्यारा साथी र प्रिय आफन्त अस्पतालको शय्यामा छट्पटाउने छन्।

महामारीले आमा भन्यो न बाबा। न दाजु, न भाई। न श्रीमान्, न श्रीमती। केवल संक्रमण, छट्पटाहट, अभाव र दुखद् मृत्यु। घरायसी उपचार मात्रैले सम्भव नभएपछि संक्रमितहरू जाने अस्पताल नै हो। उहाँहरू अस्पतालको ढोका ढक्ढकाउन पुग्नुहुन्छ, पुग्नु पनि पर्छ। 

पारिवारिक भावनात्मक सम्बन्धलाई अचानोमा राखेर मात्रै होइन, आफ्नै ज्यानको बाजी थापेर पनि दिनरात नभनी खटिएका हामी स्वाथ्यकर्मी र अस्पताल निर्जीव भएका छौँ। पहिलो कुरा त बिरामीले बेड पाउनै मुस्किल छ। यदि पाइहाल्यो भने बल्लतल्ल बेड त पाउला तर अक्सिजन पाउँदैन। समयमा खाने औषधि पाउँदैन। कहिले कृत्रिम सास फेर्ने मेसिन पाउँदैन, त्यसैले हामी स्वास्थ्यकर्मी पनि यतिबेला निर्जीव भएका छौँ। दुखका साथ भन्नुपर्छ, हामी मानव हौँ, हामीमा मानवीयता छ तर चाहेर पनि यस्तो बेला हामीले सहयोग गर्न सकेका छैनौँ। सहयोग गर्न ठाउँ धेरै छैन। त्यसैले हामी स्वास्थ्यकर्मी पनि निर्जीव बन्नुपरेको छ। यही कारण आजभोलि मेरो निन्द्रा हराएको छ, थुप्रै समय भइसकेको छ। 

मलाई थाहा छैन, मेरो देशको राजनीति कहाँ पुग्यो? मलाई यति मात्र थाहा छ- कोरोना संक्रमित मृतकको संख्या दिनानुदिन बढेको बढ्यै छ, दिनमा नै १ सय नाघ्यो, २ सय नाघ्यो। चुस्त व्यवस्थापन गर्न चुक्यौँ भने यो अंक अझ कति माथि चढ्ने हो हामी कसैलाई थाहा छैन। 

उपचारमा खटिएकै बेला कोरोना संक्रमित भएर आउनु भएकी एक जना वृद्ध आमाले भन्नु भयो, 'मेरो आशीर्वाद छ तिमीहरूलाई। रातदिन नभनी खटिएका छौ।' तर थाहा छैन ती आर्शिवादका हातहरू कहिलेसम्म!!! 

घरघरमा शोकाकुल परिवार सदस्य छन्। मेरो देशमा गणतन्त्रको प्रतीकदेखि प्रधानमन्त्री र नेताहरू सत्तामा कसलाई टिकाउने र कसलाई पुर्‍याउने फोहोरी खेलमा मात्र लिप्त छन्। उनीहरूलाई कुनै पर्वाह छैन महामारीको। लाग्छ, जनताको जीवन रक्षा गर्न सरकारको कुनै जिम्मेवारी हुँदैन। 

उपचारमा खटिएकै बेला कोरोना संक्रमित भएर आउनु भएकी एक जना वृद्ध आमाले भन्नु भयो, 'मेरो आशीर्वाद छ तिमीहरूलाई। रातदिन नभनी खटिएका छौ।' तर थाहा छैन ती आर्शिवादका हातहरू कहिलेसम्म!!! 

गुम्म लुगाभित्र पसिनाले निथ्रुक्क शरीर, प्यासतिर्खा नभनी महामारी नियन्त्रणमा खटिएका स्वाथ्यकर्मी र सुरक्षाकर्मीलगायत जति पनि सहयोगी हात छन्, तिनिहरू कहिल्यै नरोकियुन्। गति धिमा कदापि नहोस्। 

आफ्नो दूधे शिशुलाई पाखा राखेर स्वास्थ्यकर्मीले संक्रमितलाई प्राथमिकता दिनुपर्ने अवस्था छ। आफ्नो अठोट र स्वास्थ्यले साथ दिएसम्म बिरामीलाई छटपटीमा राखेर म निदाउन कहाँ सक्छु र? 

लामो समय भइसक्यो न भोक लाग्छ, न तिर्खा। आफूभन्दा पहिला संक्रमित बिरामीको आवश्यकतालाई प्राथमिकता दिन स्वास्थ्यकर्मीका हात कहिल्यै पछि परेनन्। आफू पनि स्वास्थ्यकर्मी भएकोले घरभन्दा प्यारो अस्पताल बन्न पुग्यो। घर छोड्न सकियो तर अस्पताल छोड्न सकिएन। संक्रमितलाई, संक्रमितको परिवारलाई, समाजलाई र देशलाई मेरो खाँचो छ। यस्तो बेला म कसरी मजाले निदाउन सक्छु? कति आशा बोकेर आएका ती बिरामीलाई सजिलो महसुस गराउन पाए भोलिका दिनमा मिठो निन्द्रामा डुब्न सक्छु होला भन्ने लागिरहन्छ। कसैले छुन डराउने विशुद्ध आत्माका धनी संक्रमित छट्पटाइरहेका बेला शान्त्वना दिँदै 'म छु नि!' भनेर हातमा हात मिलाउँदै सङ्क्रमणमुक्त बनाउने अठोट लिएकी छु। त्यसैले मैले मेरो निद्रालाई थाती राखेकी छु। 

आफ्नो दूधे शिशुलाई पाखा राखेर स्वास्थ्यकर्मीले संक्रमितलाई प्राथमिकता दिनुपर्ने अवस्था छ। आफ्नो अठोट र स्वास्थ्यले साथ दिएसम्म बिरामीलाई छटपटीमा राखेर म निदाउन कहाँ सक्छु र? 

प्रकृतिले दिएको शुद्ध हावा मूल्यवान भएको छ। अर्बौंमा बिक्ने भएको छ। त्यसैले यो हावा होइन, अमूल्य अक्सिजन हो। बिना मूल्य पाउने अक्सिजन जतिसुकै मूल्य तिर्न तयार हुँदा पनि पाउन गाह्रो छ। त्यसैले म निदाउन सकेको छैन। 

-अर्याल कीर्तिपुर अस्पतालमा कार्यरत छिन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको