ब्लग

कठिन रहेछ कोरोना : आफ्नै परिवारभित्रको दुःखमा पनि सामेल हुन सकिनँ

1621771732.PNG
सांकेतिक तस्बिर

अघिल्लो लकडाउनपछि जनजीवन सामान्य भएर फर्किदै थियो। कोरोनाको भय बिर्सिएर मानिसहरू चहलपहल गर्न थालेका थिए। अरुले जस्तै हाम्रो परिवारले पनि कोरोनाको जोखिम बिर्सिंदै थियो। एक दिन सावत्री (श्रीमती) लाई खोकीले छोप्यो। उनलाई केही दिनअगाडिबाट अलिअलि रुघा पनि लागेको थियो। सामान्य रुघा हो भन्ने लागेर वास्ता गरेका थिएनौं। तर रातभरि उनलाई खोकी लाग्यो।

वैशाख १६ गतेदेखि काठमाडौंमा निषेध आदेश सुरु भइसकेको थियो। उनलाई १७ गतेदेखि खोकीले च्याप्दै लग्यो। हामी आत्तियौं। 
चिरपरिचित डाक्टर रवीन्द्र पाण्डे ‘समिर’ लाई फोन गरेर  समस्या सुनाएँ। भोलिपल्ट उहाँले पीसीआर परीक्षणका लागि स्वाब लिन केही स्वस्थ्यकर्मीलाई घरमै पठाइदिनुभयो। पहिला सावित्रीको पीसीआर गरियो। यही मौकामा मैले र छोरी सम्पदाले पनि स्वाब दियौं। अब रिपोर्टको पर्खाइ रह्यो। सावित्रीलाई खोकी र ज्वरोले गाल्दै लग्यो। औषधि खाँदा पनि ज्वरो घट्ने–बढ्ने भइरह्यो। १९ गते साँझ रिपोर्ट आयो– तीनै जनाको पोजिटिभ।

सावित्रीलाई त रुघाखोकी लागेको थियो र पोजिटिभ देखियो। तर सम्पदा र मलाई कसरी पोजिटिभ देखियो त! के सावित्रीबाट सर्‍यो? मभित्रका प्रश्न मभित्रै रहे। 

अहो! अकल्पनीय परिस्थिति आयो। हामी सबै सुरक्षित छौं भन्ने लागिरहेका बेला एक्कासि कोरोना पोजिटिभ देखिनु आफैंमा दुःखद् आश्चर्य थियो। तीनै जनालाई कोरोना पोजिटिभले त सोच मग्नै बनाइदियो। सावित्री, सम्पदा र म एकअर्कालाई हेरेर मनमनै प्रश्न गर्न थाल्यौं। कोबाट सर्‍यो त कोरोना? कहाँ जाँदा सर्‍यो कोरोना? आफूले भेटेका मान्छे सम्झिन थाल्यौं। सावित्रीलाई त रुघाखोकी लागेको थियो र पोजिटिभ देखियो। तर सम्पदा र मलाई कसरी पोजिटिभ देखियो त! के सावित्रीबाट सर्‍यो? मभित्रका प्रश्न मभित्रै रहे। 

हामी अस्पताल जान हतारियौं। अस्पताल गएपछि सबै बच्न सकिन्छ भन्ने मनमा आयो। डाक्टर रवीन्द्र र सशस्त्र प्रहरी अस्पतालमा कार्यरत हाम्रा प्रिय शिष्य डा. दीपेश पौडेलसँग सल्लाह माग्यौं। दुवैले अस्पतालमा थप जटिल समस्या हुन सक्ने सुझाव दिनुभयो। अस्पतालहरू कोरोना संक्रमित बिरामी राख्ने बेड नपाएर भुइँमा राख्न विवश थिए। यस्तो विषम परिस्थितिमा अस्पतालभन्दा होम आइसोलेसन नै उत्तम रहेको बताए डाक्टर पौडेलले। तर मनमा कोरोनाको भय बढिरहेको थियो। अब कसकसलाई के के हुने हो? सन्चो हुने हो कि होइन। कतै मरिने पो हो कि? मनमा कुरा खेल्न थाल्यो। के जीवन यत्ति नै हो त? अब ईश्वरले लैजान्छन् भने लगून् त। मनमनै इश्वर सम्झिएँ। मृत्यु सत्य छ। र कोरोना पोजिटिभ पनि हाम्रो परिवारका लागि सत्य देखियो। खानपानमा ख्याल राखेका थियौं। भीडभाडबाट बचेका थियौं। तर कोरोना लाग्यो। अचम्म!

मनमनै इश्वर सम्झिएँ। मृत्यु सत्य छ। र कोरोना पोजिटिभ पनि हाम्रो परिवारका लागि सत्य देखियो। खानपानमा ख्याल राखेका थियौं। भीडभाडबाट बचेका थियौं। तर कोरोना लाग्यो। अचम्म!

कोरोना त्रासले थप भयावह बनाउँदै लाँदा छटपटी हुँदोरहेछ। घरको मूली मान्छे नै आत्तिए अन्य सदस्यको के हविगत होला? तर नडराएकोझैं गर्नुपर्‍यो। दुवैजनालाई सम्झाएँ। डाक्टरको सल्लाहबमोजिम हामी तीनैजनाका लागि सनसिटीको आफ्नै घर होम आइसोलेसन बन्यो। परिवारमा तीनैजना कोरोना संक्रमित भएपछि एकअर्कासँग तर्किने कुरा पनि भएन। 

औषधि चल्न सुरु भयो। हामी दिनप्रतिदिन गल्दै जान थल्यौं। नसा दुख्ने, ज्यान गल्ने, चक्कर आउने जस्ता लक्षण देखिए। चिन्ता बढ्न थालेको थियो तर समालिनु थियो। अझ सावित्रीलाई त खोकी कम भइरहेको थिएन। उनको र सम्पदाको पनि चिन्ता उस्तै थियो। डाक्टर पौडेलले फोन र भाइबरबाट निन्तर सोध्नुहुन्थ्यो। उहाँको चाबीसै घण्टाको निर्देशनले मेरो आत्मबल बढ्दै आयो। 

 

साहित्यकार अशेष मल्ल र सावित्री मल्ल

ज्यान गलेर सुत्न मात्रै मन लाग्थ्यो। भान्छामा केही तातो चिज बनाएर खान पनि सकिएन। चिया–कफीको तलतल लाग्थ्यो। अर्को कुरा, कोरोनाको डरले हो कि पहिलेको तुलनामा खाना पनि त्यति रुच्थेन। तर डाक्टरहरु तातोतातो खाना र झोल खान भनिरहनुहुन्थ्यो। त्यो अनिवार्य बनाउनुपथ्र्यो। एकअर्कालाई अह्राउन गाह्रो हुन्थ्यो। यस्तो बेला मिलिजुली बनाउने कोसिस गथ्र्यौं। आफन्तलाई सहयोगका लागि बोलाउन पनि सकिएन। बोलाउने हिम्मत पनि आएन। हाम्रो कारणले फेरि सहयोगीलाई पनि कोरोना सर्न सक्ने जोखिम थियो। आफन्तलाई कोरोना लागेको खबर पनि गरिनौं। उहाँहरुलाई पनि चिन्ता हुन्थ्यो। भेट्न मन लाग्थ्यो। यस्तोमा थप कोरोना सर्ने डर पनि थियो। 

मलामी जान त पाइएन–पाइएन, घरमा गएर आफन्तलाई सान्त्वना र समवेदना प्रकट गर्न पनि पाइएन। यो दुःखद क्षण मेरा लागि साह्रै असह्य भयो।  आफ्नै परिवारभित्रको दुःखमा सामेल हुन सकिनँ।

दुर्भाग्य! होम आइसोलेसनमा बसेको हप्ता दिनमै मेरा ७९ वर्षका काका देवेन्द्र मल्ल र काकी समुद्रा मल्लको कोरोनाकै कारण ज्यान गयो। यो समय मलामी जान त पाइएन–पाइएन, घरमा गएर आफन्तलाई सान्त्वना र समवेदना प्रकट गर्न पनि पाइएन। यो दुःखद क्षण मेरा लागि साह्रै असह्य भयो।  आफ्नै परिवारभित्रको दुःखमा सामेल हुन सकिनँ। काकाकाकीको मृत्युका कारण सावित्री र सम्पदा पनि निकै डराए। 

‘हामी ठिक हुन्छौं। कोरोनालाई जितिन्छ’ भन्थें। उनीहरु पनि जितिन्छ भन्थे मुखले त। तर मनको डर आँखामा बेलाबेला देखिइरहन्थ्यो। 
नजिक बसेर गफिन मन लाग्थ्यो। तर एकअर्कासँग त्रसित पनि हुन्थ्यौं। बेलाबेला अक्सिजनको मात्रा हेर्थ्याैं। सामान्य अवस्थामा रहँदा सास आएजत्तिकै हुन्थ्यो। केही नयाँ लक्षण देखिँदा डाक्टरलाई फोनमा बताउँथ्यौं। 

औषधि सुरु गरेको तीन दिनपछि मैले अघिपछि गर्दै आएको योग र प्राणायामलाई बिस्तारै–बिस्तारै गर्न थालें। योग र प्रणायामले मन शान्त बनाउँथ्यो र त्रासलाई घटाउँथ्यो। सबैभन्दा बढी शास्त्रीय संगीत सुनें। अहो! संगीतको थेरापीले त मनलाई स्थिर बनाउँदो रहेछ।
औषधिको मात्रा बढ्दै गएसँगै निकै शिथिल भयो शरीर। उभिन पनि गाह्रो हुन्थ्यो। तर बाहिर दुनियाँ हेर्न भनेको त्यही सामाजिक सञ्जाल थियो। केही मित्रहरुको फोन आउँथ्यो। घरमै व्यस्त छु भन्थें। कतिलाई झुटै बोलें। 

तर एक सामान्य कोरोना संक्रमित नागरिक अस्पतालमा बेड नपाएर भुइँमा उपचार गरिरहेको समाचारले मन भतभती पोल्थ्यो/पोलिरहेको छ। 

‘धन्न छिटो पीसीआर गरियो र बाँचियो’, बेलाबेला सम्पदा भन्थिन्। सायद हामीले बेलैमा चेकअप गर्न पाएर पनि अस्पताल जान परेन। हामीले अस्पतालमा पुगेर भेन्टिलेटर खोज्नु परेन। अक्सिजनका लागि भौंतारिनु परेन। पीसीआरका लागि लामो लाइन लाग्न परेन। औषधिका लागि फार्मेसी चाहर्दै कुद्नु परेन। डाक्टरलाई हारगुहार गर्न परेन। तर एक सामान्य कोरोना संक्रमित नागरिक अस्पतालमा बेड नपाएर भुइँमा उपचार गरिरहेको समाचारले मन भतभती पोल्थ्यो/पोलिरहेको छ। 

कम्तीमा केही मित्र डाक्टर भएका कारण हामीले घरमै उपचार पायौं। तर कोरोनाका कारण संक्रमित संख्या र मृत्यु संख्या बढेको समाचारले निकै त्रासित बनाउँछ। किन यो समाचार आएको होला। मान्छे मरेको समाचार त नआए नि हुन्थ्यो नि। यसले संक्रमित बिरामीको थप सास बढाउने रहेछ। कतै हामी पनि...।

फेरि डाक्टरका सल्लाहसुझावलाई सम्झिन्थें। मनोबल बढेर आउँथ्यो। हामी आफूलाई एकसरो जीवनको लयमा बचाउन खोजिरहेका थियौं। कोठैमा सही बाच्न पाए हुन्छ। एक दिन कसो जनजीवन सामान्य नहोला त? मनमा आशा पलाउँथ्यो। मनोबल बलियो बनाइराखे कोरोनाको त्रास आधै घट्दो रहेछ। कोरोना जित्नु छ भने आत्मविश्वास बढाउनुपर्ने रहेछ। 

मभित्रको आत्मविश्वास बलियो हुनुको कारण अध्यात्म पनि हो। जहाँ मेरो गहिरो लगाव छ, अध्यात्मले ईश्वर र मृत्युको बारेमा बुझाउँछ। जीवन र जगत् नबुझेका आममानिसलाई कोरोनाले कति चिथोर्छ होला कल्पिन पनि सक्दिनँ। ‘कोरोनालाई जित्नुपर्छ’, सावित्री भन्थिन्। म पनि उनीसँग त्यही दोहोर्‍याउँथें। सायद हामी एकअर्कालाई ढाडस दिन पनि बोलिरहेका हुन्थ्यौं। 

‘कोरोनालाई जित्नुपर्छ’, सावित्री भन्थिन्। म पनि उनीसँग त्यही दोहोर्‍याउँथें। सायद हामी एकअर्कालाई ढाडस दिन पनि बोलिरहेका हुन्थ्यौं। 

पूरै दुई साता घरभित्र बित्यो। झ्यालबाट बाहिर चिहाउँदा पनि नयाँ दुनियाँ पाएजत्तिकै हुन्थ्यो। अलिकति तङरिँदै आएको ज्यानलाई योग र प्राणायाममा भुलाउन खोजेको छु। सारै कष्टप्रद रह्यो समय। अब सामान्य अवस्थामा फर्किएका छौं। १६ औं दिनमा पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएको छ। बाँचिएको महसुस गरेका छौं। 

हाम्रा प्रिय शिष्य डा. दीपेश पौडेललाई धन्यवाद शब्दले पुग्दैन। उनको गुनको ऋणी भएका छौं हामी। हाम्रो सनसिटी व्यवस्थापन, व्यवस्थापन प्रमुख मित्र राजेन्द्रबहादुर सिंह, कमान्डर लोकेन्द्र मगर र उनको समूहको सहयोगले एक्लो महसुस हुन दिएन। डा. रवीन्द्र समीर, डा. हरिप्रसाद मानसाग्नि, डा. राजन घिमिरे, स्वास्थ्यकर्मी धनीराम खनाल सबैप्रति कृतज्ञता। गुरु राम कार्कीप्रति विशेष आभार!
कोभिडलाई कम नठानौं। आजको विश्वकै चुनौती रहेछ यो। वास्तवमा हाम्रो आध्यात्मिक जीवन शैली, आत्मबल र संगीत हाम्रा लागि निकै सहयोगी बने। भगवान बुद्ध भन्छन्– ‘दुःखको कारण तिमी आफैं हौ, अरुलाई किन दोष दिने?’ 

(साहित्यकार मल्लसँग राज सरगमले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको