ब्लग

यहाँ कहीँ कतै खुसी छैन

1621517731.jpg

वैशाख ३१ गते शुक्रबार राति १० बजे। 

'डा.साब! वार्डमा भएको मान्छे जान लाइसक्यो, लौन छिटो आईसीयूमा ल्याउनुपर्‍यो!' हतास स्वरमा आत्तिएर एक नर्स दुगुर्दै आइन् र डा. अनुप बास्तोलालाई सुनाइन्। अनुप र दुई–तीन जना नर्स आईसीयू सेन्टरबाट दौडिँदै तल झरे।

बिरामी बेडमा छटपटाइरहेका थिए। अक्सिजन अभावले सास र मुटुको चाल बढिरहेको थियो। वार्डबाट निकालेर  उनलाई हतारहतार आईसीयूमा लगियो। आईसीयूमा बेड र अक्सिजन थिएन। संयोग कस्तो भने, ती बिरामीलाई आईसीयूमा लैजाँदै गर्दा नै एक जनाको मृत्यु भएर बेड खाली भएको रहेछ। दौडाउँदै लगिएका संक्रमितलाई आईसीयू बेडमा राखियो।

डक्टर र नर्सले लामो सास फेरे। ‘यस्तो छ अवस्था! एकको ज्यान बच्न अर्को मर्नुपर्ने,’ डा. बास्तोलाले खुइया काढ्दै भने।
यति भनेर डा. बास्तोला आईसीयूमा छिरे। त्यसैबेला अस्पतालमा लिक्विड अक्सिजन लिएर ट्याङ्कर आएछ। अनुप आईसीयूबाट कराउँदै दौडिएर आए– ए! अक्सिजनको प्रेसर कम भो, बित्यास पर्ने भो। प्रेसर बढाइदिनुस् न। यति भनेर उनी भित्र पसे तर प्रेसर बढाइएको रहेनछ। उनी फेरि दौडिँदै आएर चिच्याए– बिरामी छटपटिन थालिसके, प्रेसर बढाइदिनुस् न भनेको। ‘यस्तो  छ हालत! एक सेकेन्ड तलमाथि भयो भने कतिको प्राण जान्छ थाहा हुन्न,’ यत्ति भन्न भ्याए अनुपले।

यस्तो दौडधुप भइरहन्छ टेकु अस्पतालका डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई। एक मिनेटमात्रै ढिलो भए बिरामीको ज्यान जान्छ!

हतारहतार आईसीयूमा सारिएका ती बिरामी रिक्सा चालक राजेन्द्र मल्लिक रहेछन्। बोल्न सक्ने अवस्था हुँदा उनले छेउका बिरामीलाई आफ्नो नाम भनेका रहेछन्।

राति १० सहर पूरै शान्त भइसकेको हुन्छ। तर, टेकु अस्पतालमा भने दौडधुप र आलसतालस चलिरहन्छ। ‘केही अघिसम्म त हरेक बिरामीको नाम थाहा हुन्थ्यो। अब त कसरी थाहा हुन्छ, यति धेरै बिरामी छन्। यताको बिरामी हेर्दा उता अर्को आइसकेको हुन्छ, उता अर्को आउँदा यताको अस्ताइसकेको हुन्छ,’ डा. बास्तोला भन्दै थिए।

प्यासेजमा भएका तीन–चार जना बिरामीलाई देखाउँदै बास्तोला उनीरुलाई आईसीयू र भेन्टिलेटर आवश्यक रहेको बताउँदै थिए। उनको आशय थियो– बरन्डा र प्यासेजमा भएका चार–पाँच जना बिरामीलाई आईसीयू र भेन्टिलेटर चाहिन्छ तर कहाँबाट दिनु। अनुपको मन उनीहरुलाई बचाउने थियो, तर अस्पतालका आईसीयू र भेन्टिलेटर भरिएका छन्। कसलाई कसरी बचाउने?

आईसीयूमा काम गर्ने एक जना कर्मचारी भन्दै थिइन्– हिजो राति सात–आठ जना बिते। मान्छे मरेको हेर्दाहेर्दा मन नै ढुंगाजस्तो भइसक्यो। कलिला नैजवान मरेको देख्दा त मुटु नै चँुडिएला जस्तो हुन्छ। कतिपय बिरामी त आईसीयूमा छिर्नेबित्तिकै सधैंका लागि गइजान्छन्।

अस्पतालका अनुसार इर्मेजेन्सीमा धेरैजसोे बिरामी ३० देखि ५० वर्षका छन्। उनीहरु सबैलाई भेन्टिलेटर चाहिएको छ। तर उनीहरु वार्डमै थन्किएका छन्, प्यासेजमै रन्थनिएका छन्। अस्पताल परिसर हेर्दा लाग्छ– बिरामीहरु सासको आशमा छन् तर यथार्थमा पर्खाइ मृत्युको पनि छ।

स्वास्थ्यकर्मी तलमाथि, यताउति गर्दै थाक्छन्। यहाँ अक्सिजनको लेभल मिलाउ, त्यहाँ औषधी देउ, तल बिरामीलाई हेर, माथि प्राण पो गयो कि नाडी छाम। 

स्वास्थ्यकर्मी र बिरामीले त दुःख पाएका छन् नै, बिरामीका आफन्त र कुरुवाको पनि पीडा छ। उनीहरुको मनमा ढ्यांग्रो ठोकिरहन्छ– अप्रिय खबर पो आउने हो कि! उनीहरुलाई संक्रमणको कुनै डर र मतलब छैन। मतलब  छ त संक्रमित आफन्तको। उसलाई जसरी पनि बचाउनु छ।

तीन दिनदेखि बिरामी बुवाका कुरुवा बसेका छन् छोरा राम ढकाल। अस्पतालमा बिरामीको छटपटाहट र आकुलव्याकुल देख्दा अत्तालिन्छन् उनी। ‘अस्पतालको माहोल र आँखै अगाडि मान्छेको ज्यान जाँदा निकै तनाव हुन्छ। बाबा रहनुहुन्छ कि रहनुहुन्न सोच्छु,’ उनी भन्छन्, ‘अस्पतालको दृश्यले डिप्रेसनमा गइएला जस्तो भइसक्यो।’

यत्तिकैमा आईसीयूमा एक जना महिलाले प्राण त्यागेको खबर आयो। ‘मृतकलाई त्यहाँबाट हटाएर इमर्जेन्सीमा भएको सिरियस बिरामीलाई सार्नुपर्छ,’ डा. बास्तोलाले भने।

यत्तिकैमा एक युवक अनुप नजिक आए र उनलाई धन्यवाद दिए। एक छिनअघि देहत्याग गरेकी ती महिला यिनै युवककी आमा रहिछन्। आमा गुमाउनुको पीडा मनभित्रै दबाएर उनी डाक्टरले अन्तिमसम्म गरेको प्रयासलाई सलाम गर्दै थिए।

अस्पतालको पार्किङमा १० वटा बेड राखिएको थियो। अस्पतालका सूचना अधिकारी नवराज गौतम भन्दै थिए, ‘जति बेड, आईसीयू, भेन्टिलेटर भए पनि पुग्दैन। अब त अस्पतालमा कुनाकोप्चा पनि बचेका छैनन्।’ बेड राख्न नपाउँदै पार्किङमा बनाएको छानो भरियो। ‘यहाँ त बिरामीको लाइन लाग्छ, कसरी व्यवस्थापन गर्ने?’ उनी गुनासो गर्छन्, ‘आईसीयू, भेन्टिलेटर र बेडमा भएका बिरामीलाई निकाल्ने कुरा भएन। अस्पतालकै स्वास्थ्यकर्मी बिरामी भए पनि राख्न ठाउँ छैन।’

‘डा. साब! मेरो मान्छेलाई गाह्रो भयो, हेरिदिनुस् न!’ डा. बास्तोलालाई बिन्ति बिसाउन आइपुग्छन् आफन्त। ‘कोको लाई हेर्नु, यता हेर्दा उता ढलिसकेको हुन्छ, उता हेर्दा यता अर्को गइसकेको हुन्छ,’ भावुक हुँदै बास्तोलाले सुनाए। पार्किङमा राखिएका १० बिरामीमध्ये ६ जनालाई भेन्टिलेटरको खाचो छ तर उनीहरु अक्सिजनको सहारामा बसेका छन्। ‘अक्सिजन छैन, अस्पतालमा भएका अधिकांश संक्रमित मृत्युका साक्षी हुन्,’ अनुपले तीतो पोखे।

संक्रमित राजेन्द्र श्रेष्ठ अस्पतालको बरन्डामा बसेको तीन दिन भयोे। मुखमा अक्सिजनको पाइप लगाएका उनका आफन्त भन्दै  थिए– यहाँ त बिरामी र मरेका मान्छे हेर्दाहेर्दै आफ्नै मुटु कमजोर भइसक्यो। अस्पतालमा यतिका बिरामी छन्, अक्सिजनको उस्तै हाहाकार छ। कतिबेला आफैं संक्रमित भइन्छ थाहा छैन।

टेकु परिसर हेर्दा अत्यास लाग्छ, विरक्त लाग्छ। दौडधुपले असिनपसिन भएका डा. बास्तोला राति ११ बजे पीपीई खोलेर घर जान तयार भए। उनी निस्किन लागेका मात्र के थिए, अघि आईसीयूमा सारिएका राजेन्द्रले आँखा चिम्लिए। राजेन्द्रको मृत्यु भएपछि वार्डमा भएका एक अधवैंशे पुरुषलाई आईसीयूमा सारियो। अरु थुप्रै आईसीयू र भेन्टिलेटरको पखाईमा छन्। तर अस्पतालमा आईसीयू, भेन्टिलेटर पाउन कि बिरामी डिस्चार्ज हुनुपर्छ कि मृत्यु!    

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको