विचित्र दुनियाँ

बालिकाको गोडा धोएर मात्र पढाउन थाल्छन् शिक्षक भैयालाल

1611127225.jpg

भारतको मध्य प्रदेशस्थित एक विद्यालयका शिक्षक भैयालाल सोनी बालिकाको पाउ बिना भेदभाव धुन्छन्, पूजा गर्छन् अनि पढाउन सुरु गर्छन्। 

उनी कटनीको लोरवारामा रहेको प्राथमिक विद्यालयका शिक्षक हुन्। उनले यो क्रम २३ वर्षदेखि जारी राखेका छन्। 

कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा ‘हाम्रो घर हाम्रो विद्यालय’ अभियान अन्तर्गत सञ्चालित कक्षामा पनि उनले यसरी नै कन्याको पूजा गर्दै आएका छन्।

सोनीले पवित्र सोचाइका साथ ‘नमामि जननी’ अभियान सुरु गरेका थिए। 

अभियानको उद्देश्य महिला र बालिकालाई सम्मान गर्नु हो। विद्यालयमा हुने प्रार्थनासभा अगाडि सोनी नियमित रुपमा बालिकाको पाउ धुन्छन्। 

सोनीलाई यस्तो काम गर्ने प्रेरणा उनको परिवारबाट मिलेको हो। 

उनले भने, ‘महिलाले समाजमा जुन अधिकार पाउनुपर्ने हो, त्यो पाएको देखिएन। उनीहरुलाई सधैं भेदभाव मात्र गरेको देखियो।’ 

मानिसको सोचाइ बदल्ने सोचाइका साथ यस्तो अभियान सुरु गरिएको उनको भनाइ छ।

गाउँका पूर्वपञ्च सुखराज सिंहले विद्यालयमा बालिकालाई सम्मान गर्ने वर्षौंदेखि जारी रहेको बताए। उनले भने, ‘यो महिला र बालिकालाई सम्मान गर्ने एउटा उत्कृष्ट प्रयास हो।’

महिला र बालिकालाई सम्मान गरेबापत शिक्षक सोनी स्थानीय, जिल्ला स्तर, प्रदेश स्तरमा सम्मानित भइसकेका छन्।  

मध्य प्रदेशको शिवराज सिंह चौहान सरकारले २५ जनवरीमा सुशासन दिवस मनाउँदै छ। यस अवसरमा सबै कार्यक्रम कन्या पूजाका साथ सुरु गरिने योजना तय गरिएको छ। 

शिक्षक सोनीले सरकारको यो निर्णयको सराहना गरेका छन्। उनले यस्तो अभियानबाट छुवाछुतको समस्या पनि उन्मूलन हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको