मनोरञ्जन समाचार

५५ वर्षका सलमान : रोमान्स र एक्सनबीच गज्जबको सन्तुलन

1609066006.jpg

काठमाडौं– बलिउड फिल्म उद्योगमा ‘दबंग खान’ मानिने सलमान खान ५५ वर्षका भएका छन्। विगतमा जस्तै यस वर्ष पनि उनले मुम्बईको पनवेलस्थित फार्म हाउसमा जन्मदिन मनाउँदै छन्। उनी बान्द्राको ग्यालेक्सी अपार्टमेन्टमा सम्पूर्ण परिवारका साथ बस्छन्। 

ग्यालेक्सी अपार्टमेन्टबाहिर सलमानका फ्यानको भीड लागिरहन्छ। सलमानले बेलाबेला बरण्डामा निस्किएर आफ्ना फ्यानलाई हात हल्लाउँछन्। उनका प्रशंसकको भीडले बारम्बार ट्राफिक व्यवस्था नै अस्तव्यस्त पारिदिन्छ। 

रोमान्टिक हिरो सलमान

प्रख्यात लेखक सलीम खानका जेठा छोरा सलमानले ३० वर्षे फिल्म करिअरमा थुप्रै उतारचढाव व्यहोेरेका छन्। चर्चित अभिनेत्री रेखाको सन् १९८८ मा आएको फिल्म ‘बीवी हो तो ऐसी’ मा सहायक भूमिकाबाट सलमान खानले बलिउडमा कदम राखेका थिए। त्यो बेला आफ्नो डेब्यू फिल्मका लागि कलाकार खोजिरहेका निर्देशक सूरज बडजात्याले सलमान खानलाई अवसर दिए। 

सन् १९९८ मा सलमानको मूख्य भूमिका रहेकोे ‘मैने प्यार किया’ त त्यो वर्षको सर्वधिक कमाउने फिल्म बन्यो र सलमान रातारात स्टार बने। 

सलमान खानलाई रोमान्टिक हिरोको दर्जा दिइयो। त्यसको एक वर्षसम्म काम नपाएका सलमानका त्यसपछि भने धेरै फिल्म आए। ‘साजन’, ‘हम आपके हैं कौन’, ‘हम दिल दे चुके सनम’, ‘दुल्हन हम ले जगाएंगे’, ‘बीबी नम्बर वान’ र ‘हम साथ–साथ हैं’ जस्ता रोमान्टिक फिल्म निकै हिट भए।

फिल्म इतिहासकार एस औसाजा भन्छन्, ‘सुरुआतमा सलमानको छवि रोमान्टिक हिरोको थियो। उनले त्यसै अनुसारका भूमिका पाए। ‘मैंने प्यार किया’ र ‘हम आपके हैं कौन’ त यति हिट भएकी उनी रोमान्टिक हिरोको दर्जाबाट बाहिर निस्किनै पाएनन्। त्यो बेला उनको एक्सन फिल्म बागी आएको थियो। तर, चलेन।’

एक्सन हिरो

औसाजाका अनुसार सलमान खानले ‘बागी’ फिल्मबाट एक्सन शैलीमा आउने कोसिस गरे तर, सफल हुन सकेनन्। यद्यपि उनले रियरको सुरुवातका दुई दशकमा ‘करण अर्जुन,’ ‘वीरगति’,  ‘औजार’ जस्ता केही एक्सन फिल्म समेत गरे।  तर पनि उनको रोमान्टिक हिरोको छविमा कुनै परिवर्तन आएन। 

सन् २००९ मा बोनी कपूरले साउथ इन्डियन फिल्म ‘पोकरी’ को हिन्दी रिमेक ‘वान्टेड’ बनाए। त्यो समय बोनी कपूरका कुनै फिल्म चलिरहेका थिएनन्। उता सलमान खान समेत आफ्नो करियरको खराब समयबाट गुज्रिरहेका थिए। तर, प्रभु देवाको निर्देशन रहेको ‘वान्टेड’ हिट भयो। यही फिल्मले सलमानलाई रोमान्टिकबाट एक्सन हिरो बनाइदियो। त्यसपछि सलमान अधिकांश एक्सन फिल्ममा देखिइरहेका छन्। यही फिल्मपछि उनी सय करोड कमाउने फिल्मको हिस्सा बन्न थालेका हुन्। 

वान्टेडका बारेमा फिल्म उद्योगका विश्लेषक अतुल मोहन भन्छन्, ‘वान्टेड’ ढिलो रिलिज भए पनि फिल्म हलमा यसले धमाका मच्चायो। यो भन्दा पहिला सबै ठूलो स्टारको फिल्म दिवालीमा रिलिज हुन्थ्यो। तर वान्टेडले ईदलाई महत्वपूर्ण बनाइदियो।’

‘वान्टेड’ पछि सलमानका फिल्म ईदमै रिलिज हुन थाले र हिट पनि भए। ‘बडीगार्ड’, ‘दबंग’, ‘किक’, ‘एक था टाइगर’, ‘बजरंगी भाइजान,’ र ‘सुल्तान’ ईदमा रिलिज भएर हिट भएका फिल्म हुन्। अतुल मोहनका अनुसार वान्टेड फिल्मपछि सलमानले दर्शकहरु उनीबाट के चाहन्छन् भन्ने बुझे। वान्टेडअघि वर्षेनी तीन–चार वटा फिल्म गर्ने सलमानका केही फिल्म हिट हुन्थे, केही फ्लप। हिट फिल्मको स्थिरता उनलाई वान्टेडपछि नै प्राप्त भएको हो । त्यसपछि नै उनले वर्षमा एक वा दुई फिल्म मात्रै गर्न थाले। 

सुपरस्टार सलमान

बलिउडका सबैभन्दा ठूला स्टारमध्येका सलमान अविवाहित छन्। अक्सर उनका महिला फ्यानले जोखिम मोलेरै आफ्नो ‘दिवानगी’ प्रस्तुत गर्दै आएका छन्। 

‘सलमान खानले रोमान्स र एक्सनबीच गज्जबको सन्तुलन बनाएका छन्। अरु स्टारले यी दुई शैलीलाई एकै साथ अघि बढाउन सक्दैनन्। त्यसैले उनका प्रशंसकको दायरा ठूलो छ। यी प्रशंसकबाट उनले बक्स अफिस सम्हाल्ने शक्ति पाएका छन्। 

उनका ‘फ्यान फलोइङ’ बारे औसजा भन्छन्, ‘सलमानको गणना भलै उत्कृष्ट अभिनेताका रुपमा नहोस्। तर उनको स्टाइल र व्यवहार अनौठो छ। यही व्यवहारले उनले विशेष पहिचान पाए, त्यसैले उनको फ्यान फलोइङ पनि धेरै छ। उनको स्टाइल पनि निकै फिल्मी छ। दबंगमा चस्मा लगाउने स्टाइल, हातमा निलो ब्रासलेट लगाउने र हिँड्ने स्टाइल प्रशंसकले निकै रुचाए।’

फिल्मको ट्रेन्ड्सका जानकारहरुका अनुसार फिल्म उद्योगमा एक्सन हिरोको ‘सेल्फ लाइफ’ धेरै हुन्छ र सलमान खानमा एक्सनका साथै प्रेमी केटाको करिस्मासमेत छ। 

अमिर खानलाई बुद्धिमान सुपरस्टार र शाहरुख खानलाई विदेशी दर्शकका किङ मानिन्छ। तर सलमान खानले भारतका दर्शकमा आफ्नो गहिरो छाप छोडेका छन्। त्यसैले उनलाई ‘आम जनताका हिरो’ भनिन्छ। 

औसजा सलमानको करियरको सुरुका बेलाको एक घटना सम्झन्छन्, ‘त्यो बेला हम आपके हैं कौन सुपरहिट भएको थियो। एक पत्रकारले के सलमान फिल्म इन्डस्ट्रीका नयाँ सुपरस्टार हुन् ? भनेर सोध्दा जवाफमा सलमानले फिल्म इन्ड्रस्टीमा एक मात्रै सुपरस्टार अमिताभ बच्चन रहेको बताएका थिए। उनी आज पनि यही भन्छन् र विनम्रता दर्शाउँछन्।’ 

सलमान खान ‘बिइङ ह्युमन’ नामको एक संस्था चलाउँछन्। यसका माध्यमबाट उनले धेरै गरिबलाई आर्थिक सहयोग गरिरहेका छन्। त्यसैले उनलाई परोपकारी स्टारसमेत भनिन्छ। फिल्म उद्योगमा जति ख्याति सलमानको छ, त्यति सायदै अरु कुनै स्टारको होेला। तर, ख्यातिसँगै उनी धेरै विवादमा पनि परेका छन्। 

उनी सन् २००२ मा ‘हिट एन्ड रन’ केसमा फसे। सन् २०१५ मा हरिण मारेको मुद्दा अहिलेसम्म अदालतमा चलिरहेको छ। २६–११ को मुम्बई आक्रमणका विषयमा उनले दिएको अभिव्यक्ति समेत निकै विवादित बन्यो। उक्त घटनामा उनले पाकिस्तानलाई दोषी नभन्न आग्रह गरेका थिए। पछि उनले यस विषयमा माफी समेत माग्नुपरेको थियो। सन् १९९३ मा भएको मुम्बई ब्लास्टमा याकूब मेननलाई लिएर उनले गरेकोे ट्वीट समेत विवादित भएको थियो। 

ऐश्वर्या रायसँगको प्रेम प्रसंग र ब्रेकअप, विवेक ओबेराय र सलमान खानको झगडा, साथीबाट प्रतिद्वन्द्वी बनेका शाहरुख खानसँगको झगडा लगायतका कारणले समेत सलमान निकै चर्चामा रहे। यद्यपि शाहरुख र सलमान अहिले राम्रो साथी बनेका छन्।

औसजाका अनुसार विवादले कुनै पनि स्टारको करिअरमा असर पर्दैन। उनी भन्छन्, ‘यदि यस्तो हुन्थ्यो भने विवेक ओवेराय अहिले सुपरस्टार हुन्थे। सलमानको जीवनमा केही घटना भए र त्यसबाट उनले प्रेस कभरेज पनि पाए। तर यसले फ्यान फलोइङ र बक्स अफिसमा असर परेको छैन।’

५० काटेका सलमान

सन् २०१५ मा सलमान खान ५० वर्षका थिए। त्यही वर्ष उनको फिल्म ‘बजरंगी भाइजान’ले राम्रो कमायो। अक्सर सलमानको आलोचना गर्नेहरुले समेत फिल्म मन पराए र उनको सबैभन्दा राम्रो फिल्म भएको अभिव्यक्ति दिए। अतुलका अनुसार बजरंगी भाइजान एउटा प्रयोग थियो। दर्शकको अपेक्षाविपरीत यसमा एक्सन थिएन। 

तर पनि सलमान खानको सानी बच्चीसँगको केमेस्ट्रीले दर्शकलाई भावुक बनाइदियो र फिल्मको प्रयोग सफल रह्यो।

सलमान खानले यसपछि अर्को प्रयोग गरे। तर, ‘ट्युबलाइट’ र ‘भारत’ जस्ता फिल्म भने दर्शकले मन पराएनन्। सलमान खानको एक्सन अवतार दबंग–३ र रेस–३ समेत दर्शकले मन पराएनन्। तर पनि यी फिल्मले सय करोडभन्दा धेरै कमाए। सलमान बलिउडमा सबैभन्दा भरोसायोग्य सुपरस्टार मानिन्छन्। उनको फिल्मले राम्रो ‘ओपनिङ’ गर्छन्।

चार वर्षको अवधिमा उनको सबैभन्दा कमजोर फिल्म ट्युबलाइटले समेत १२० करोड कमाएको थियो। कोरोना महामारीका कारण सन् २०२० मा थिएटर बन्द रहे। वर्षको अन्तिममा खुलेका थिएटरमा दर्शकको कमी छ। 

अतुल मोहनका अनुसार सन् २०२१ मा सलमानको फिल्म ‘राधे’ र अक्षयकुमारको ‘सूर्यवंशी’सँग बलिउडलाई ठूलो आशा छ। जसले दर्शकलाई थिएटरसम्म ल्याउन सकुन्। 

–बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको