विचार

नारीलाई ‘नछुने’ बनाउने प्राधिकार कि पाखण्ड?  

1607685957.jpg

जिज्ञासा

रजस्वला नेपालका खस, मैथिल समुदायदेखि अन्य समुदायमा पनि नारीमाथिको गम्भीर अपमान र अन्यायका रूपमा प्रचलित छ। नेवार समुदायमा अन्यमा जस्तो छोइछिटो नै नगरिए पनि संस्कृति प्रभावशून्य नै चाहिँ छैन। 

पश्चिम नेपालको पहाडी भेगमा रजस्वला र सुत्केरी कालमा छाउगोठमा राख्ने अमानवीय चलनले दर्दनाक समाचार उत्पादन गरिरहेको छ। रजस्वला नारीको मासिक धर्म हो जसलाई रजस्राव, ऋतुकाल आदि अन्य नामले पनि चिनिन्छ।

परिवारकै सदस्यलाई अछुत बनाउने यो दुश्चलनको नालीबेली कस्तो होला? 

शब्दार्थ

‘रजस्’ संस्कृत वाङ्मयका धेरै शब्द यसबाट बनेका छन्। मानिसका त्रिगुण (सात्विक राजस र तामस) को एक, सूर्यको किरणको सर्वाधिक सानो कण, स्त्रीकेशर/पराग, कन्या विवाहयोग्य भएको अवस्था र नारीको सन्तान उत्पादकत्वको अर्थमा वेदउपनिषद्हरूले धेरै ठाउँमा उल्लेख गरेको शब्दमूल हो–  रजस्। त्यसैबाट बनेको हो रजस्वला। 

प्राणीमा हुने तृष्णा, विलास, भोग आदिद्वारा मोहित पार्ने सकाम इच्छालाई रज भनिन्छ। वनस्पतिको स्त्रीकेशरमा उत्पन्न हुने परागलाई पनि रज नै भनिन्छ। नारीको मासिक धर्मका रूपमा निसर्जन हुने रगत भनेको रज नै हो अर्थात् सन्तानोत्पादनका लागि अत्यावश्यक हुने स्त्री–तत्त्वलाई रज भनिन्छ। 

पुंकेशरबाट सेचन नगरेका कारण निर्धारित काल पार गरी त्यस्तो रज निःसृत हुनुलाई संस्कृत वाङ्मयमा रजस्वला भनिएको पाइन्छ। रजको अर्थ चमक वा ज्योति पनि हो जसलाई ऋतु भनिन्छ।

यसै कारणले रजस्वलाको समयलाई ऋतुकाल पनि भनिन्छ। ऋतु शब्दको मूल ऋतम् हो जसको अर्थ निश्चित प्राकृतिक नियम भन्ने हुन्छ। त्यस्तो प्राकृतिक नियम वा गुणलाई धर्म भनिन्छ। यसैले रजस्वलालाई मासिक धर्म भनिएको हो।

कुप्रथा

आफूलाई हिन्दु धर्मको हिमायती हौं भन्नेहरूले रजस्वला वा मासिक ऋतुकालमा परिवारका महिला सदस्यलाई अछुत बनाउने कुरालाई स्वाभाविक प्रथा मान्छन्। यता मानवअधिकारको दृष्टि राख्नेहरू यसलाई कुप्रथा मान्छन् किनभने यसले महिलाको प्राकृतिक धर्मलाई उपेक्षाको आधार बनाएको छ र भेदभाव गरेको छ। 

यो कुप्रथालाई हिन्दु धार्मिक प्राधिकारद्वारा संरक्षित मानिन्छ र के भनिन्छ भने धर्मशास्त्रले नै ऋतुमती महिलालाई सर्वत्र वर्जित गरेको छ। धर्मपरम्पराका नाममा नारीमाथि गरिँदै आएको सघन अन्यायको सामाजिक प्राधिकार को हो? हाम्रा पण्डित वा पुरोहितहरू हुन्? वा अरू नै कोहीले यस त्रासदीलाई निरन्तरता दिन सबल आड दिइरहेको छ? यो कुरा गहन छलफलको विषय बन्न सक्ला। 

सुरुआत

रजस्वला हुँदा बार्ने चलन कहाँ, कहिले, किन र कसरी सुरु भयो? तिथिमितिसहित यी प्रश्नको उत्तर कसैले दिन सक्दैन। उद्विकास र विनिर्माणवादी चेतना सम्मिश्रण गरेर हेर्दा यो कुरा एक असल प्रयोजनका लागि मानिसको जंगली युगबाटै प्रारम्भको संकेत मिल्छ। 

जति बेला मानिस जंगलमा बस्थ्यो उसका लागि ओडार सबैभन्दा सुरक्षित बास थियो। हिंस्रक वन्यजन्तुसँग सामना गरिरहेको मानव जमातले सुरक्षा उपायका रूपमा आगोको सहारा लिन थाल्यो। 

नारी रजस्वला हुँदा वा सुत्केरी हुँदा निःसृत रगतको गन्ध हिंस्रक जन्तुले थाहा पाउँथ्यो र तिनबाट आक्रमण हुने अवस्था हुन्थ्यो। रजस्वला भएका महिलालाई हिंस्रक जनावरबाट कसरी जोगाउने? स्पष्टै थियो, तिनलाई ओडारभित्र राख्ने र अन्य सदस्य बाहिर आगो बालेर बस्ने र सुरक्षित राख्ने। 

नेवार समुदायमा पहिलो पटक रजोवती भएकी बालिकालाई गुफा राख्ने संस्कारले यही कुरा औंल्याउँछ। उता छाउगोठको चलन पनि त्यसरी नै सुरु भएको देखिन्छ। 

पशुपालनका लागि लेकमा गोठ बस्ने चलन हुँदा सामान्य अवस्थामा स्याउलाका गोठले काम चल्नु स्वाभाविक भयो। तर, जब महिलालाई रजस्वला भयो वा उनीहरू गर्भवती बन्थे तिनको स्रावमा हिंस्रक जन्तुको आक्रमणको जोखिम बढी हुनाले तिनीहरू रहने घर स्वभावैले हिंस्रक जन्तुले भत्काउन नसक्ने गरी बलिया चाहिए अनि बन्न थाले छाउगोठ अलग्गै। 

रजस्वला र सुत्केरी भएका महिलासँग संसर्गमा रहँदा त्यस्तो संसर्गबाट रगत लाग्न पुगेमा पुरुषलाई पनि हिंस्रक जन्तुबाट आक्रमण हुन सक्ने अवस्था हुनाले कम्तीमा त्यस्तो रगत निःसृत हुने अवधिभर पुरुषले महिलासँग संसर्ग नगर्ने अभ्यास नै प्रकारान्तरमा नछुने रूढ भएको हुन सक्छ। 

त्यही प्रचलनलाई मानिसले ओडारको विकल्पमा विकास गरेका घरमा सर्दा पनि निरन्तरता दियो। सुत्केरीलाई बच्चाको न्वारान नभएसम्म उज्यालो नछिर्ने भँडारमा राख्ने चलनमै जन्मेहुर्केको पुस्ता त हामीसम्म छँदै छौं।

कसले नछुने?

वैदिक कालले गर्भाधानदेखि मृत्युपर्यन्त गरिने मानवसंस्कारका विधि र आचरणका नियम बनाएर संस्कारयुक्त मानव सभ्यताको कल्पना गर्याे। वैदिक चिन्तकहरूले नारी रजस्वला र गर्भावस्थाको प्राकृतिक कारण र त्यस अवस्थामा गरिनुपर्ने व्यवहार र आचरणबारे विचार गरेकै रहेछन्। 

ऋग्वेदको दसौं मण्डलको एकसय बैसठ्ठिऔं सूक्तमा गर्भ र स्त्रीरोगको निवारणसम्बन्धी मन्त्रहरू छन्। तिनमा गर्भ, प्रसूति, नवजात शिशुस्याहार, स्त्रीरोग तथा यौनसम्बन्धी स्वास्थ्य समस्याको निवारणसम्बन्धी प्रार्थना छ। 

दसौं मण्डलकै विभिन्न ऋचामा अग्नि र अश्विनीकुमारहरूले मानवरोगहरूको निवारण गर्ने कुरा उल्लेख छ। यसले ऋग्वेद कालमा प्रसूति र सुत्केरीसम्बन्धी विषयलाई स्वाभाविक रूपमा लिएको देखाउँछ। 

यजुर्वेदमा संयमले मात्र पतिपत्नीको प्रेमपूर्ण सम्बन्ध स्थापित हुन्छ भनेर नरनारी दुवैलाई समान संयमताको निर्देश गरिएको छ। रजलाई रात र चन्द्रमासँग सम्बन्धित गराउँदै नारीलाई प्रेममय र धर्मानुकूल आचरण गरेर बलवान् पुरुषसँग संयुक्त हुन निर्देश गरिएको छ।

यजुर्वेदकै काण्वी शाखाको बाजसनेयी ब्राह्मणअन्तर्गतको बृहदारण्यक उपनिषद्मा सन्तानोत्पादन प्रक्रियाको विशद् व्याख्या छ। सो उपनिषद्को चतुर्थ ब्राह्मणलाई सन्तानोत्पत्ति–विज्ञान भनेरै चिनिन्छ। 

चतुर्थ ब्राह्मणको थालनीमा सद्गुणयुक्त सन्तान उत्पन्न गर्ने, जथाभाबी नगर्ने र संयमयुक्त जीवन निर्माणको जुक्ति बताउन ब्राह्मण आरम्भ भएको उल्लेख छ। पुरुषको यौनस्वेच्छाचारिताको निरोधका लागि गरेको भन्दै पुरुषले शुक्रको क्षय हुन नदिई पत्नीको ऋतुकालको प्रतीक्षा गर्नुपर्ने विधान दिइएको छ। 

आवश्यकताअनुसार गर्भनिरोध गर्नुपरेमा ‘इन्द्रियेण ते रेतसा रेत आददे’ मन्त्र जप गर्न निर्देश गरेको छ।

चतुर्थ ब्राह्मण भन्छ– रजस्वला भएकी पत्नीका प्रारम्भिक तीन रात ब्रह्मरात हुने हुनाले तीन दिनसम्म पत्नीलाई पतिले स्पर्श गर्नु हुँदैन। ऋतुकालमा पत्नीलाई दूध–चामल, तिल–चामलको खिर, मासुभात (मांसोदनम्), घिउसहितको दालचामलको खिचडी बनाएर खुवाउनुपर्ने र अझ हिमालयमा पाइने ऋषभ नामको बलवर्धक औषधि ख्वाउनुपर्छ। 

त्यसउप्रान्तका ऋतुकालका उपयुक्त दिनमा दुवैको सुखद सम्भोगबाट गर्भधारण गर्नु–गराउनुपर्छ। सुखपूर्वक प्रसव भएपछि सुत्केरी र जातकलाई आगो ताप्ने गरी (अग्निस्थापना गरेर) राख्नुपर्छ र बाबुले दही, मह र घिउ मिलाएर जातकलाई चटाउनुपर्छ। जातकको नामकरण गराएर ‘आमाबाट पोषक दूध प्राप्त होस् हे सरस्वती’ भनेर प्रार्थना गर्नुपर्छ भनिएको छ।

परासरस्मृतिमा रजदर्शन (पहिलो रजस्वला) भएपछि बालिकालाई कन्या भनिने कुरा छ। परासरस्मृतिले स्त्रीलाई अलग्गै राख्न नहुने, गोठमा राख्न नहुने र घरबाट टाढा राख्न हुँदैन भनेको छ।

यता मानव न्यायशास्त्रका रूपमा परिचित न्यायविकासिनीमा कन्यालाई आफू ऋतुमती भएको जानकारी बाबुआमा र दाजुभाइलाई गराउनु र विवाह गर्ने चाहना भए मेरो विवाह गरिदेओ भन्नू भन्ने निर्देश छ।

गरुड पुराणको पहिलो खण्डको पञ्चानब्बेऔं अध्यायमा याज्ञवलक्यले निर्देश गरेको गृहस्थ आचरणमा पतिपत्नीको सम्बन्धको चर्चा छ। त्यसको उन्नाइसौं श्लोकमा स्त्रीहरूलाई सोम र अग्निबाट पवित्रता प्राप्त भएकाले ती सदासर्वदा चोखा हुन्छन् भनिएको छ। 

लोग्नेस्वास्नीको झगडा नभएमा मात्र धर्म, अर्थ र मोक्ष सम्भव हुन्छ भनिएको छ। १६ रात स्त्रीको रतिसमय हो जुन सहवासका लागि उपयुक्त हुन्छ। पर्वकाल र रजस्वलाका चार दिनबाहेक अन्य दिनमा मात्र पतिले पत्नीसँग सहवास गर्न सक्ने विधान निर्देश रहेको पाइन्छ।

सनातन प्रणालीमा वैदिक मन्त्रजस्तै तन्त्रको पनि स्थान उच्च छ। तन्त्रले त रजस्वला भएकी नारीलाई अछुत ठान्ने मान्ने त मास बराबर ठाउँ दिएको पाइँदैन। उल्टै रजस्वला भएकी नारीलाई शक्तिस्वरूपा ब्रह्म मान्छ र भन्छ–

स्वेच्छाऋतुमती शक्तिः साक्षात् ब्रह्म न संशयः । 
तसमात्तां पूजयेद्भक्त्या वस्त्रालंकारभौजनैरितिः ।।
स्त्रियो देवाः स्त्रियः प्राणा स्त्रिय एवं हिषणम् ।
स्त्रिणां निन्दा न कर्तव्या न च ताः क्रोधयेदपि ।।

-शक्तिसंगमतन्त्र (धर्मशास्त्रका इतिहास, १९९६ :२०)

जसको अर्थ नारीको स्वैच्छिक ऋतुमती शक्तिलाई सस्पर्श वस्त्र, अलंकार र भोजनद्वारा सम्पूज्य गर्न र निन्दा क्रोध अपहेलनाबाट मुक्त राख्नू भन्ने देखिन्छ। 

उल्लिखित स्रोतहरूले नारीलाई अछुत मानेका छैनन् पुरुषलाई चाहिँ त्यो समयमा सहवास वा रतिरागका आशयले स्पर्श नगर्नू भनिएको छ। चार दिनको स्नानपछि सँगै रहनबस्न हुने भए पनि रजस्वला भएको सातौं दिन पूरा नभई यौन रतिराग वा सहवासका लागि पत्नीसमक्ष पुरुषलाई जान निषेध गरिएको छ। नारीले छोएको नखानू वा छोइएमा स्पर्शको दोष लाग्ने कुरा गरेको पाइँदैन। 

प्रेतकल्पको दादागिरी

अहिले नारीलाई अछुत बनाउने र नछुने बार्न बाध्य गराउने धार्मिक प्राधिकारको स्रोतचाहिँ गरुड पुराणको प्रेतकल्प हो। 
प्रेतकल्प मानिस मरेपछिको स्वर्ग र नर्कको यात्राको वर्णन गरिएको खण्ड हो। खासमा नेपाली समाजमा यसैलाई गरुड पुराण भन्ने गरिन्छ। 

प्रेतकल्पको बाइसाैं अध्यायमा नारीका ऋतुकालका चार दिनलाई अतिरञ्जनापूर्ण तरिकाले प्रस्तुत गरिएको छ। रजस्वलाको सात दिनसम्म पत्नीलाई अछुत घोषित गरिएको छ। 

देह निर्णय नामको सो अध्यायका सातौं, आठौं, नवौं र दसौं श्लोकले इन्द्रलाई लागेको ब्रह्महत्याको पाप चौथो अंश ऋतुकालका चार दिनमा नारीमा रहेकाले चाण्डाल्नी, ब्रह्मघातिनी र धोबिनी हुने हुनाले ती अछुत हुन्छन् भन्ने मिथक जोडिएको छ। 

पाखण्ड

गरुड पुराणको प्रेतकल्पबाहेक सबैजसो प्राधिकार–ग्रन्थहरूले रजस्वला र प्रसूतिमा महिलालाई उपेक्षा गर्ने, अपवित्र मान्ने वा स्पर्श नै गर्नु नहुने भनेको पाइँदैन। 

बृहदारण्यक उपनिषद्को चौथो ब्राह्मणले त स्पष्टै रूपमा महिला अछुत हुने नभएर पति ऋतुकालकी पत्नीप्रति आशक्त हुन सक्ने खतराबाट जोगाउन निर्देश गरेको छ। रजस्वला र प्रसूति दुवै अवस्थामा पतिले पत्नीलाई राम्ररी स्याहार गर्नुपर्ने निर्देश गरेको देखिन्छ। 

परासरस्मृतिले रजस्वला वा गर्भावस्थामा नारीलाई गोठ वा टाढा राख्ने कुरा निषेध नै गरेको छ। 

यी शास्त्रले पुरुषलाई रजस्वला भएकी नारीलाई नछोऊ भने। नारीको रजस्वलाकालप्रति संवेदनशील हुन र तदनुरूप सो कालमा नारीसँग यौनक्रिया सहवास वा रतिरागको याचना नगर्न पुरुषलाई निषेध गरे। 

वेदधर्मलाई पतनतिर धकेल्नेलाई संस्कृतमा पाखण्ड भनिन्छ। वेद र उपनिषद्ले स्पष्ट रूपमा पुरुषलाई तोकिएको आचरणविपरीत नारीलाई अछुत बनाउँदै विपरीत व्यवहार बनाउने ‘प्रेतकल्प’ वेदसम्मत छ? 

प्रेतकल्पलाई मात्र आधार बनाएर नछुने बार्न बाध्य गराउनेहरूलाई अब पनि प्राधिकार मान्ने कि पाखण्ड? 

शास्त्रले पुरुषलाई निषेध गरेको आचरणलाई उल्ट्याएर नारीलाई किन अछुत बनाइयो? नछुने बार्नुपर्छ भन्ने मान्यताको प्राधिकार हुँ भन्नेहरूले यसको जवाफ दिन सक्नुपर्छ।
 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको