विशेष विदेश

नुर हुसैन : जसको तस्बिरले बंगलादेशी तानाशाह झुक्न बाध्य भए

1607429280.jpg
गोली लाग्नु ठिक अघि नुर हुसैन

सन् १९८७, बंगलादेश, ढाका 

लोकतन्त्रको समर्थनमा उत्रिएका एक युवा प्रदर्शनकारीलाई प्रहरीले गोली हान्यो र गोली लागेको शरीरलाई  नियन्त्रणमा लियो।  त्यही युवकको एउटा तस्बिरले क्रान्तिको स्वरुप परिवर्तन गर्नेछ र एक तानाशाहलाई झुकाइदिनेछ भन्ने कसलाई थाहा?  

बीबीसीका मोआज्जेम हुसैन त्यस दिन ती युवकको सेलनजिकै थिए। 

१९८७ नोभेम्बरको त्यो साता ढाका सहर तनावग्रस्त थियो। राष्ट्रपति हुसैन मुहम्मद इरसादले राजधानी ढाकालाई देशका बाँकी ठाउँबाट अलग गरिदिएका थिए।

स्कुल, कलेज, विश्वविद्यालय बन्द गरिएको थियो। विरोध प्रदर्शन र र्‍याली गर्न निषेध गरिएको थियो। तर, विपक्षी दलहरू राष्ट्रपतिको  राजीनामा माग्दै हजारौ समर्थक सहित सडकमा थिए। सैन्य तानाशाह इरसादले लोकतन्त्र समर्थकलाई हिरासतमा राख्न आफ्नो आपतकालीन शक्ति प्रयोग गरेका थिए।

१० नोभेम्बरको बिहान हजारौं कार्यकर्ता सडकमा उत्रिए।  करिब नौ बजे मसहितका प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएर निर्ममतापूर्वक कुट्यो। हामीलाई ट्रकमा जनावरझैं बाँधेर राखियो  र  प्रहरी थानामा पुर्‍याइयो। दिउँसो हुँदै जाँदा राजनीतिक कैदीको संख्या बढ्दै गयो।

ढाकामा ठाउँठाउँमा झडप भइरहेको थियो। केही प्रदर्शनकारी गोली लागेर गम्भीर घाइते भएका थिए। उनीहरुको बीचमा एक युवक  थिए। उनको नांगो शरीरमा सेतो रङमा लेखिएको थियो– 'सयराचार नितपक जक'– 'डाउन विथ अटो डेमोक्रेसी' (निरंकुशता मुर्दाबाद।)

उनी नुर हुसैन रहेछन्। म उनलाई चिन्दिनथें। नुरलाई गोली हानिएको ठाउँको नाम पछि  उनकै नाममा राखिएला भन्ने मैले सोचेको पनि थिइनँ। उनको बलिदान अमर हुनेछ र उनको विषयमा किताबसमेत लेखिनेछ भन्ने पनि  थाहा थिएन। उनको मृत्युभन्दा पहिले लिइएको तस्बिर बंगलादेशको लोकतन्त्र र नयाँ पुस्ताका लागि लामो र बलिदानीपूर्ण संघर्षको प्रतीक बन्नेबारे पनि म अन्जान थिएँ।

मृत्यु हुँदा नुर २६ वर्षका थिए। उनको मृत्युको एक दिनपछि त्यो तस्बिर बंगलादेशका अखबारमा पहिलो पृष्ठमा छापियो। यसले सरकारलाई झट्का लाग्यो भने अर्कोतर्फ लाखौं मानिसलाई प्रेरित गर्‍यो। सन् १९८७ मा उनी र म जुन विरोध प्रदर्शनमा सहभागी थियौं, त्यसलाई हिंस्रक तरिकाले दबाइएको थियो।

तीन वर्षपछि अर्को विरोध प्रदर्शन भयो र यो प्रदर्शनबाट राष्ट्रपति इरसादलाई झुक्न बाध्य भए। प्रदर्शनमा सहभागी धेरै नुर हुसैनबाट प्रभावित थिए।

म प्रायः सोच्छु- ढाकाको  श्रमिक परिवारमा जन्मिएका यी व्यक्तिमाथि के भयो वा कस्तो परिस्थिति आयो होला र उनी यो असाधरण कामका लागि प्रेरित भए होलान? तानाशाहीविरुद्ध नुरको प्रेरणाबाट जे भयो, त्यसको ३० वर्षसम्म मैले नुरसँग जोडिएका केही प्रश्न खोज्ने प्रयास गरें।

नुर हुसैनका बुवा मुजिब उर रहमान त्यो समय ढाकामा अटोरिक्सा चलाउँथे। नुरका बुवा मुजिब उरको १५ वर्षअघि नै निधन भइसकेको थियो। नुरका भाइ अली अहिले पनि आफ्ना दाजुको जीवनका अन्तिम दिन स्मरण गर्छन्।

अलीले भने, 'बुवालाई थाहा थियो, नुर राजनीतिमा सक्रिय छन्। उहाँ प्रायः घरबाहिरै रहनुहुन्थ्यो र राजनीतिक र्‍यालीमा भाग लिनुहुन्थ्यो।' एकपटक लगातार दुई रात दाजु घर नआएपछि आमाबुवालाई चिन्ता लाग्यो। १० नोभेम्बर १९८७ मा  नुर एउटा मस्जिदमा भेटिए। अली भन्छन्, 'आमा–बुवाले उहाँलाई घर फर्कन विन्ति गर्नुभयो। तर दाजुले मानेनन्। उनले म पछि आउँछु भने। यो नै नुरसँग आमाबुवाको अन्तिम भेट थियो।'

त्यो दिनपछि नुर प्रदर्शनमा सहभागी भए। प्रदर्शनकारीले प्रहरीमाथि इटा फ्याँके र बम प्रहार गरे। जवाफमा प्रहरीले अश्रुग्यास र गोली चलायो। नुर हुसैनसहित तीन जना गोली लागेर गम्भीर घाइते भए।

परिवारले नुरलाई गोली लागेको खबर भोलिपल्ट मात्र पायो। नुरका बुवा मुजिब उर र भाइ अली सबैभन्दा पहिला घटना भएको ठाउँमा पुगे।  त्यसपछि प्रहरी अस्पतालमा। नुर कतै नभेटिएपछि उनीहरूले प्रहरी थानामा पुगे।  थानाबाहिर रहेका अधिकारीले उनीहरुलाई भित्र जान दिएनन्। तर, शरीरमा प्यान्ट मात्र लगाएको एउटा शव भित्र रहेको र उक्त शव अहिले नदेखाइने भने । नुरको शव परिवारलाई दिइएमा दंगा भड्कन सक्ने उनीहरुको त्रास थियो।

नुरको हत्याका लागि कुनै पनि अधिकारीलाई दोषि बनाइएन। जनरल इरसादको समयमा कुनै पनि अधिकारीमाथि कुनै आरोप लागेन। जब कि प्रहरीको कारबाहीमा सयौं प्रदर्शनकारीको मृत्यु भएको थियो।

मैले अलीसँग सोधें-  तिमीलाई याद छ दाजुको शरीरमा त्यो नारा कसले लेखेको थियो? उनले भने, 'नारा इकराम हुसैनले लेखेका थिए। इकराम राष्ट्रपति इरसादको स्टाफ क्वार्टरमा बस्थे र उनका दाइ राष्ट्रपतिका दूत थिए।' त्यसपछि अलीले मलाई इकरामको नम्बर दिए।

द पेन्टर

मैले इकरामलाई फोन गरें। उनी मैले खोजेकै मानिस थिए।  नुरको शरीरमा नारा लेख्ने उनै रहेछन्। सन् १९८७ मा १८ वर्षको हुँदा इकराम साइनबोर्ड आर्टिस्ट थिए। परिवारका साथ बंगभवनमा बस्थे। मोतीझिल इलाकामा उनको सानो पसल थियो। जहाँ इकरामले साइनबोर्ड पेन्ट गर्थे,  ब्यानर बनाउँथे। इकरामले भने, 'म नुर हुसैनलाई चिन्थें। उनी पुराना फर्निचर बेच्ने एक कम्पनीमा काम गर्थे। तर हामीबीच कुराकानी भएको थिएन।'

सधैंजस्तै ९ नोभेम्बरमा इकराम पाँच बजे पसल बन्द गर्दै थिए। नुर हुसैन आइपुगे  र आफ्नो शरीरमा नारा लेखिदिन आग्रह गरे।  इकरामले भने, 'मैले त्यस्तो काम गर्न सक्दिनँ भनें। मेरा दाजु राष्ट्रपतिका दूत हुन्, राष्ट्रपतिकै विरोध गर्दा हामीलाई समस्या पर्छ। तिमी पनि पक्राउ पर्ने  मात्र होइन मारिन सक्छौ।'

तर नुरलाई कुनै चिन्ता थिएन उनले इकरामलाई भने, 'चिन्ता नगर, भोलिदेखि सयौंको शरीरमा यस्तै नारा हुनेछ।

इकरामले नुरको छाती र ढाडमा दुइवटा नारा लेखिदिए। 'सायराचार नितपक जक'  (निरंकुशता मुर्दाबाद)– यो नारा  छातीमा लेखिएको थियो। 'गोनोटोन्ट्रा मुक्ति पाक' (लोकतन्त्रलाई मुक्ति देऊ)–  उनको ढाडमा लेखिएको थियो।

इकरामले नारा लेखेपछि दुईवटा पूर्णविरामसमेत लगाए। सयौं मानिसका बीचमा पनि आफ्नो नारा चिन्न सकियोस् भनेर उनले त्यसो गरेका थिए। भोलिपल्ट सडकमा उभिएका एक युवकको शरीरमा नारा लेखिएको थियो।  उनी फोटोग्राफरको नजरमा परे। भीडमा आफूतर्फ सबैको ध्यान खिचेका उनी केही समयपछि चीरनिद्रामा परे।

पावेल रहमानले मलाई बताएअनुसार उनीहरुले नुर हुसैनलाई पछाडिबाट मात्रै देखेका थिए। म रहमानसँग ढाकाको एक अखबारमा काम गर्थेँ। उनी पछिल्लो ५० वर्षदेखि फोटोग्राफी गरिरहेका छन्। त्यो दिन नुर हुसैनलाई देखेर उनको मुटुको धड्कन बढेको थियो।

रहमानले भने, 'मैले यो भन्दा पहिला कुनै प्रदर्शनकारीले शरीरमा नारा लेखेर प्रदर्शन गरेको देखेको थिइनँ। योभन्दा पहिले उनी सयौंको भीडमा गायब हुन्थे। मैले पछाडिबाट मात्रै दुई पटक ठाडो  र तेर्सो तस्बिर खिच्ने मौका पाएँ। उनको छातीमा लेखिएको नारा मैले  देख्न पाइनँ।'

त्यो साँझ रहमानले आफ्नो रिलबाट तस्बिर बनाइरहेका थिए। त्यसै बेला उनलाई कसैले सुनायो, तस्बिरमा भएको प्रदर्शनकारीको मृत्यु भइसक्यो। रहमानले भने, 'उनको मृत्यु भएको पत्ता लागेपछि तस्बिर छाप्ने कि नछाप्न्ने भन्ने विषयमा बहस भयो।  सम्पादकले निकै जोखिमपूर्ण हुने बताए।  अन्त्यमा हामीले यो तस्बिर छाप्ने निर्णय लियौं।'

रहमान सम्झिन्छन्, 'तस्बिर छापिएपछि राष्ट्रपति इरसाद निकै रिसाएका थिए। म केही दिनसम्म लुकेर बस्नुपर्‍यो।' पावेलले खिचेको तस्बिर देशभर फैलिसकेको थियो,  त्यो फोटोका पोस्टर बनाइएका थिए। तर पोस्टरमा देखिने व्यक्ति को हो भन्ने धेरैलाई थाहा थिएन। फोटोग्राफर दिनु आलमले अगाडिबाट उनको तस्बिर नखिचेको भए चिन्ने पनि थिएनन्।

दिनु भन्छन्, 'मैले अगाडिबाट भुइँमा बसेर केही समयसम्म उनको तस्बिर खिचिरहें।  मलाई उनको ढाडमा पनि नारा लेखिएको छ भन्ने थाहा थिएन । सायद मैले नुरको आखिरी क्षणको तस्बिर खिचेको थिएँ।'

रातका पहरेदार

भोलिपल्ट इकराम हुसैनले अखबारको पहिलो पृष्ठमा उनको तस्बिर देखे, उनलाई ठूलो चोट लाग्यो। उनी आफैंलाई नुर हुसैनको मृत्युको दोषी मानिरहेका थिए। इकराम भन्छन्, 'मलाई लागिरहेको थियो, मैले उनको शरीरमा नारा नलेखेको भए सायद उनी जिउँदै हुने थिए।'

आफूलाई सुरक्षित राख्न इकराम केही वर्षसम्म लुकेर बसे। तीन वर्षपछि तानाशाह राष्ट्रपति इरसादको पतन भयो। त्यसपछि मात्र उनी खुला भए र नुरको परिवारसँग भेटे । नुरका बुवा आमासँग माफी मागे।

इकराम सम्झन्छन्,  'नुरका बुवाले मलाई अँगालो हाल्दै भन्नुभयो– तिमी मेरो छोरा जस्तै हौ। हामीले नुरलाई गुमायौं, तर त्यही कारण लोकतन्त्र पायौं। '

मुजिब उर र उनकी पत्नी मरियम बिबीलाई नुरको शवको बारे एक साता पछिमात्रै थाहा भयो। प्रहरीले उनका छोरालाई  अन्य प्रदर्शनकारीको शवसँगै गुमनाम चिहानमा गाडिदिएका थिए। धेरै वर्षपछि जुन व्यक्तिले उनको शव गाड्न ठाउँ तयार गरेका थिए, उनीबाट नुरको परिवारले छोराको चिहानबारे थाहा पाए। 

उनीसँग भेटेर मैले सोधें, त्यो रातबारे केही याद छ? आलमगिर नामका ती व्यक्तिले भने, 'रातको लगभग साढे दुई बजेको हुँदो हो। म पहरेदारी गरिरहेको थिएँ। मध्यरातमा केही व्यक्ति केही शव लिएर आए । मैले रातको ११ बजेपछि मुर्दा गाड्न नपाइने नियम सुनाएँ। तर उनीहरु सरकारका मानिस रहेछन् । जबरजस्ती गरे। त्यसपछि मैले शवलाई नुहाइदिएर गाड्न सहयोग गरें।'

उनी भन्छन्, 'उसको शरीरमा गोलीले दुलो पारेको थियो, छातीमा लेखिएको नाराभन्दा ठिक तल ।'

नुरको मृत्युको धेरै वर्षपछि उनका बुवाआमालाई भेट्न  एक व्यक्ति पुगे, जसलाई भेट्न उनीहरुले वर्षौं प्रतीक्षा गरेका थिए।

सन् १९९७ मा जनरल इरसाद सात वर्षपछि जेलबाट छुटेका थिए। उनी नुरका बुवाअमालाई भेट्न र माफी माग्न नुरको घरमा पुगेका थिए। अली त्यो दिन सम्झँदै भन्छन्, 'उनले बुवासँग भने- अहिले तपाईंका छोरा भैदिएको भए  तपाईंहरूको हेरचाह गर्थे,  अब म पनि त्यसरी नै हेरचाह गर्ने प्रयास गर्छु।'

यो भेटघाटको केही वर्षसम्म इरसाद परिवारको सम्पर्कमा रहे। कहिलेकाहीं नुरको परिवारलाई पैसासमेत पठाइदिन्थे। तर जुन दिन ढाका विश्वविद्यालयमा मुजिबउरले आफ्ना छोराको स्मारकमा उभिएर तानाशाही फेरि नफर्किने भन्दै भाषण गरे, त्यसपछि इरसादले नुरको परिवारलाई गर्ने सहयोग बन्द भयो। मुजिबउरको  कुराले रिसाएका इरसादले फेरि नुर र अलीका बुवालाई सम्पर्क गरेनन्।

जनरल इरसाद

नुरको मृत्युको करिब एक दशकपछि मैले जनरल इरसादसँग भेटें। सन् १९९९ मा इरसाद विपक्षमा थिए। जनताको समर्थन पाउन उनी देशयात्रामा थिए। म उनीसँग बंगलादेशको दक्षिणमा एक नदीमा गएँ। खाजा खाँदै गर्दा उनले मजाकमा भने, 'मैले सुनेको थिएँ, तपाईं क्रान्तिकारी हुनुहुन्थ्यो।'

गत वर्ष उनको निधन भयो। उनी आकर्षक व्यक्ति थिए। उनी सन् १९८२ मा एक रक्तहीन सैन्य कूबाट सत्तामा आए। उनले विश्वभरका तमाम सैन्य शासकको झैं भ्रष्टाचारविरुद्ध लड्ने, सत्तामा सुधार ल्याउने र राजनीति सफा गर्ने संकल्प गरेका थिए। उनले धार्मिक रुढिवादीलाई खुसी बनाउन इस्लामलाई बंगलादेशको राज्य धर्म बनाइदिए र धर्म निरपेक्ष संविधानको मूलरुपमा परिवर्तन गरिदिए।

सन् १९८६ मा धाँधली गरेर चुनाव जितेको भनेर उनी विवादित थिए। जनरल इरसादले सत्तामा रहँदा देशको संविधान र संसद निलम्बित गरिदिए। राजनीतिक विरोधीमाथि कडा कारबाही गरे। त्यसपछि सन् १९८७ को विरोध प्रदर्शन हिंस्रक तरिकाले दबाउन पनि उनको भूमिका थियो। यसका लागि उनले जेलसमेत जानुपरेको थियो।

सन् १९९० मा इरसादको ९ वर्षे शासन समाप्त भयो। विद्रोहका कारण जबरजस्ती राजीनामा दिनुपरेपछि उनलाई केही दिन नजरबन्दमा राखिएको थियो। त्यस दिन ढाकाको सडकमा मानिसले खुसी मनाएका थिए।

१९७१ मा स्वतन्त्रता पाएदेखि मानिस कहिल्यै त्यति खुसी देखिएका थिएनन्। देशमा एउटा नयाँ बिहानी सुरु भएकोमा मानिस उत्साहित थिए।

तर, त्यो उत्साह लामो समय टिकेन। बंगलादेशमा दुई मुख्य पार्टी अवामी लिग र बीएनपीबीच सत्ताको लडाइँ सुरु भइहाल्यो। केही दशकसम्म यिनै पार्टीले सत्तासुख भोग गरे।

बंगलादेशमा सत्ताको यो रूप ती मानिसका लागि बढी पीडादायी थियो, जसले जनरल इरसादको शासनविरूद्ध लामो लडाइँ लडेका थिए। 

१९९० को दशकका एक भुक्तभोगी नसिर उद डोजा भन्छन्, 'हामीले जीवनको सबैभन्दा उर्वर समय लोकतन्त्रका लागि दियौं। आफ्नो फाइदाका लागि हाम्रो रगतपसिनाको अवमूल्यन गर्ने र हाम्रो सपना चकनाचुर गर्ने नेताहरूलाई म कहिल्यै माफ गर्न सक्दिनँ।'

इकराम हुसैन ती दिन सम्झँदै भन्छ्न्, 'बंगलादेशले केही समयका लागि भए पनि अँध्यारो रातमा पूर्णिमाको जूनझैं लोकतन्त्रको खुब मजा लियो। अब त्यो लोकतन्त्र कहाँ रह्यो र।'

इकराम अहिले पनि साइनबोर्ड बनाउँछन् तर अब उनले गर्ने धेरैजसो काम डिजिटल भइसक्यो। अब उनलाई इनामेल पेन्ट धेरै चाहिँदैन। उनको सानो पसल राष्ट्रपति क्वार्टरको केही सय मिटरमात्र टाढा छ। पसलको केही पर त्यही गल्ली छ जहाँ उनले नुरको शरीरमा त्यो नारा लेखेका थिए। नुरलाई गोली हानिएको ठाउँ पनि धेरै टाढा छैन।

अहिले त्यो ठाउँलाई नुर हुसैन स्क्वायर भनिन्छ। नुरको अनुहारमा नारा लेखेको कुरा सम्झिँदा इकराम भावुक हुन्छन्। भन्छन्, त्यो मेरो सबैभन्दा राम्रो ह्यान्डराइटिङ थिएन तर मैले लेखेको अहिलेसम्मकै राम्रो कुरा थियो।

यूसुफ तुसार (बीबीसी हिन्दी)

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको