ब्लग

किताबको अम्मल लगाइदिने बलोच बुकम्यान

1594990744balucha__budha.png

मनसुर बुखारी जसले क्वेटामा पठन संस्कृति विकासका लागि आफ्नो जीवन समर्पण गरे। उनी किताब पसले मात्रै थिएनन्।

पत्रकारिता सुरु गर्दासम्म मलाई यसबारे गलत जानकारी मात्रै थियो। पहिलो बुझाइ थियो– पत्रकारले तलब पाउँदैनन् र, आम्दानी थोरै हुने व्यक्तिलाई कसैले छोरी दिँदैन।

अर्को, पत्रकार शक्तिशालीको चाप्लुसीमा लिप्त हुन्छन्। तेस्रो, उनीहरु सधैं जोखिममा हुन्छन्। चौथो, उनीहरुलाई किताब पढ्नै पर्दैन। यस्तो बुझाइ हुँदाहुँदै पनि असाधारण रुचिका कारण म पत्रकार बन्न पुगें।

मेरो बुझाइमा बिस्तारै परिवर्तन भयो। पत्रकारले पनि तलब पाउँदा रहेछन् भन्ने थाहा पाएँ। यद्यपि, तलब पाउनुअघि थुप्रै फ्रिल्यान्स (स्वतन्त्र लेखन) गर्नैपर्छ र त्यो भनेको कसैका लागि सित्तैंमा लेख्नु हो भन्ने लाग्थ्योे।

मैले अंग्रेजी दैनिकका लागि लेख्न लाग्दासम्म पत्रकारिता बारेको मेरो ज्ञान सीमित थियो।

मैले लाहोरबाट प्रकाशित हुने द फ्राइडे टाइम्स (टीएफटी) मा काम सुरु गरेको थिएँ। क्वेटामा यो मन्सुर बुखारीको पुस्तक पसल ‘सेल्स एन्ड सर्भिसेज’ मा मात्र पाइन्थ्यो। उनै बुखारी असार १० गते कोभिड– १९ को सिकार भए।

क्वेटामा गुणस्तरीय स्वास्थ्य सुविधा नहुँदा छोरा जइम बुखारीसँगै लाहोर आएका उनको उपचारकै क्रममा निधन भएको थियो।

मैले लेख्न सुरु गर्दाताका टीएफटी ७५ रुपैयाँमा पाइन्थ्यो। त्यसबेला म पढ्दै पत्रकारिता गरिरहेको थिएँ। त्यसैले यो साप्ताहिक किन्न मलाई दस पटक सोच्नैपर्थ्याे। एक दिन मैले बुखारीको पसल टीएफटीमा छापिएको आफ्नो स्टोरी पढिसकेपछि पत्रिका थपक्क र्‌याकमै राखिदिएँ। बुखारीले हेरिरहेका थिए।

केही दिनपछि पसलमा भेट हुँदा उनले मसँग थोरै कुरा गरे र, एउटा पुस्तक उपहार दिए। बुखारीले धेरै ग्राहकलाई पुस्तक उपहार दिन्थे।
मैले महँगा किताब किन्न नसक्ने थाहा पाएपछि उनले मलाई उधारोमा किताब दिइरहे। पछिपछि त मैले उनलाई तिर्नुपर्ने रकम कति छ र कहिलेसम्म तिर्नुपर्ने हो भन्ने हिसाब राख्न पनि छोडें।

उनका छोरा जइम बुखारी बाबुभन्दा पनि उदार छन्। अहिले म डनमा काम गर्छु र राम्रै तलब पाउँछु। तर पनि जइमले मलाई किताब उधारो वा आधा मूल्यमा दिइरहन्छन्। वास्तवमा मलाई उनीहरुको ऋणी हुन पाउँदा आनन्द लाग्छ।

मैले चिन्दा बुखारीले ६० वर्ष उमेर काटिसकेका थिए। काउन्टरपछाडिको कुर्सीमा बसिरहेका उनी सधैं सलवार–कमिज र सादा सुती टोपीमा भेटिन्थे। उनको नाकको डाँडीमा रहने चस्माको दुईतिर बाँधिएको धागो घाँटीमा अड्काइएको हुन्थ्यो। जहिल्यै पनि टाउको निहुर्‍याएर कुनै कागज वा कम्प्युटर स्क्रिनमा हेरिरहेका बुखारी कुरा गर्दा चस्मा माथिबाट हेर्दै मुस्कुराउँथे।

पसलमा आउने ग्राहकतिर उनको धेरै ध्यान हुँदैनथ्यो। उनलाई थाहा थियो, अधिकांंश मानिस र्‍याकबाट किताब तानेर केहीबेर पढ्छन् र थपक्क त्यहीं राखेर फर्कन्छन्।

एक दिन उनी काउन्टरपछाडि टाउको निहुर्‍याएर चोरऔंलाले बिस्तारै टाइप गरिरहेका थिए। मैले उनको टाइपिङबारे टिप्पणी गरेपछि भने, ‘मेरो टाइपिङ कमजोर होइन, धेरै कमजोर छ।’

बुखारीलाई किताबको लत लागेको थियो। म स्कुल पढ्दा शिक्षकहरुबाट सुनेको थिएँ, लागू पदार्थका अम्मलीले कसरी अरुलाई पनि त्यस्तै बानी पारिदिन्छन्। सुरुमा उनीहरुले लागूपदार्थ सित्तैंमा दिन्छन्, त्यसपछि उधारो दिन थाल्छन्। जब लत बस्छ त्यसपछि रकम असुल्न थाल्छन्।

लागूपदार्थको लतबारे मलाई थाहा छैन तर, बुखारीले मलाई त्यसैगरी किताबको लत बसाइदिए। सुरुमा किताब उपहार दिए, त्यसपछि उधारो दिन थाले। अचेल, म क्वेटा गएका बेला जिन्ना रोडस्थित कबिर बिल्डिङमा पुगेंं भने किताब किनेरै ल्याउँछु।

बुखारीलाई नजिकबाट चिन्नेहरु भन्छन्, उनी व्यावसायिक व्यक्ति भए पनि उनमा साहित्यप्रति गहिरो रुचि थियो। यसै कारण उनले किताब पसलमा काम सुरु गरे। उनका काका थिएटर लेखक थिए। १६ वर्षकै उमेरमा बाबुआमा गुमाएका बुखारीले पुस्तक व्यवसाय उनै काकाबाट विरासतमा पाए।

काकाजस्तै बुखारी पनि धेरैभन्दा धेरै मानिससँग घुलमिल हुन चाहन्थे। साँझपख उनको पसलमा बलोच र पस्तुन राष्ट्रवादी, लेखक, पत्रकार, सरकारी कर्मचारी र साहित्यकार जम्मा हुन्थे। किताब, राजनीति र समसामयिक विषयमा चर्चा हुन्थ्यो।

पठन संंस्कृति हराउँदै गयो भन्नेमा उनी असहमत थिए। ‘व्यावसायिक हिसाबले मात्रै हेर्ने हो भने मकहाँ किताब किन्नेहरु आइरहेका छन्, किताब पढ्ने संंस्कृति मासिएको छैन,’ उनले मसँग यस्तो भनेको धेरै समय भएको छैन।

बुखारीको बुकस्टोर ‘गोसा–ई–अदब’ का जिन्ना रोडमा दुई शाखा छन्। एउटा सन् १९६२ मा किताब व्यवसाय निकै फस्टाएका बेला खोलिएको र अर्को जहाँ बुखारी आफैं बस्थे।

बुखारीले जुल्फिकार अली भुट्टोजस्ता हस्तीहरु आफ्नो पसलमा आएका कथाहरु रोचक तरिकाले सुनाउँथे। पसलमा अहिले पनि बलुचिस्तानको इतिहासबारे किताबको गज्जबको संंग्रह छ– खास गरी उपनिवेशकालका। वाम साहित्कारका कृतिसँगै आख्यान र गैरआख्यान पुस्तक पनि उत्तिकै छन्।

जइमका अनुसार एकपटक बुखारीले आफ्नो प्रकाशनका लागि फैज अहमद फैज (पाकिस्तानका प्रसिद्ध लेखक एवम् गजलकार) लाई एउटा पुस्तक लेख्न भनेका थिए। उनले पुस्तक बिक्रीबाट जे जति रोयल्टी प्राप्त हुन्छ त्यो सबै फैजलाई दिने प्रस्ताव गरे। फैजचाहिँ रोयल्टी क्वेटास्थित अस्पताललाई दिने सर्तमा मञ्जुर भएका थिए। तर, खै किन हो उक्त पुस्तक प्रकाशन भएन।

बुखारीले ४०० जति पुस्तक प्रकाशन गरेका छन्। उनी अंग्रेजी नपढ्ने पाठकका लागि उर्दुमा अनुवाद गरेर पनि पुस्तक प्रकाशन गर्थे। सम्पूर्ण जीवन किताबमै समर्पित गरेका बुखारी ‘बुक म्यान’ का नामले चर्चित थिए।

बलोचिस्तानमा विद्यार्थीलाई प्रशिक्षित गर्ने संंस्थाको कमी छ। भएका केही संस्थाहरुमा पनि आलोचनात्मक चेतलाई प्रवद्र्धन गरिँदैन। यस्ता संस्था विद्यार्थी आफैंंले स्वअध्ययन गर्नुपर्छ। कम्तीमा पनि पुस्तक छन् र विद्यार्थीले अध्ययन गर्न पाउँछन्। र, गोसा–ई–अदबले त्यस्ता संंस्थाको प्रतिनिधित्व गरेको छ।

बुखारीको पसल साहित्य र किताबप्रेमीका लागि आश्रयस्थल नै थियो। क्वेटा र बलोचिस्तानबारे उनमा रहेको ज्ञानबाट धेरैले सिक्ने मौका पाए।
केही महिनाअघि मात्रै उनले मलाई फोन गरेका थिए– त्यसबेला प्रकाशित मेरो स्टोरीबारे टिप्पणी सुनाउन। म बलोचिस्तानको दुर्गम क्षेत्रमा थिएँ। नेटवर्क सिग्नल कमजोर भएका कारण हाम्रो वार्ता अधुरो रह्यो।

यो स्टोरी लेखिरहँदा म फेरि बलोचिस्तानको त्यही क्षेत्रमा छु, जहाँ बुखारी साहेबसँग अन्तिम वार्ता भएको थियो। मैले भर्खरै जइमलाई फोन गरेको थिएँ। जइमले पनि आवाज स्पष्ट नभएको गुनासो गर्दै कोभिड– १९ का कारण बुवाको शव क्वेटा ल्याउन नपाएको र लाहोरमै अन्त्येष्टि गरिएको बताए।

एक दिन कुराकानी हुँदै गर्दा जइमले भनेका थिए, ‘यहाँ अझै पनि किताब किनिरहने अम्मली छन्, यद्यपि बाँकी सहरले किताबलाई बेवास्ता गर्न थालिसकेको छ।’ अहिले म एउटा निष्कर्षमा पुगेको छु– सबैभन्दा ठूला अम्मली त जइमकै बुवा हुन् जसले हाम्रो जस्तो समाजमा पठन संस्कृतिलाई प्रवद्र्धन गर्न आफूले सकेको जति गरे। हाम्रो समाज जहाँ अज्ञानतालाई आशीर्वाद मानिन्छ।

पाकिस्तानी पत्रिका डनमा प्रकाशित संस्मरणको अनुवाद

प्रतिक्रिया दिनुहोस्
थप समाचार
ताजा अपडेट
सर्वाधिक पढिएको