ब्लग

चिनीमा चिया

1592581558samikshya.jpg

‘आफ्नो आङको भैंसी नदेख्नेले अर्काको आङको जुम्रा पनि सजिलै देख्छ’ भन्ने उखान नेपाली समाजमा त्यसै चर्चित भएको होइन। हामी आफूले आफूलाई सर्वगुणसम्पन्न ठान्छौं र अरुका हरेक कुरामा खोट पहिल्याउन लागिपर्छौं। हाम्रो मानसपटलमा नकारात्मक मानसिकताले यसरी जरा गाडेको छ कि हामी हरेक चिजमा राम्रोभन्दा बढी नराम्रो कुरा देख्छौं। 

घरमा आएका पाहुनालाई औपचारिकताकै लागि मात्र भए पनि कमसेकम एक कप चिया नखुवाई जान नदिने चलनलाई निरन्तरता दिँदै एकजना आफन्तलाई चिया बनाएर दिएँ। चियामा अलि बढी चिनी परेछ क्यारे, उहाँले भन्न भ्याइहाल्नुभो, ‘चियामा चिनी होइन, चिनीमा चिया हालिछे।’

महिनौंमा एकदिन आउने आफन्तलाई दिएको चिया मीठो भएनछ भन्ने कुराले मलाई नरमाइलो लाग्यो, तर त्योभन्दा बढी नरमाइलो उहाँको प्रतिक्रियाले लाग्यो ।

उहाँलाई घरबाट बिदा गरेको धेरै समयसम्म दिमागमा त्यही कुराले डेरा जमाइराख्यो। सोच्न बाध्य भएँ– हामी हरेक कुरालाई नकारात्मक नजरबाट मात्र किन हेर्छौँ ? सेतो पानामा एउटा कालो थोप्लो दिएर यहाँ के देख्नुभयो ? भनेर सोध्यौं भने मानिसहरु त्यत्तिका सेतो भाग नदेखाएर त्यही कालो थोप्लोमात्र देखाउँछन् भन्ने किस्सा धेरै साइकोजलिस्ट र मोटिभेसनल ट्रेनरहरुले सुनाउँछन् ।

यही नकारात्मक मानसिकताले छायाँजस्तै बनेर हाम्रो दैनिक जीवनका हरेक क्रियाकलापमा हामीलाई पछ्याइरहन्छ ।

जब कसैको बच्चा जन्मिन्छ, हामी सुत्केरीलाई भेट्न कोसेली लिएर अस्पताल तथा उनीहरुको घरसम्म पुग्छौँ । आफ्नो ब्यस्त दिनचर्याबाट फुर्सद निकालेर अमूल्य समय खर्च गरेर त्यहाँसम्म पुगिसकेपछि पनि हामीमध्ये धेरैले न त बच्चाका अभिभावकलाई बधाई दिन्छौँ न त सुत्केरीको स्वास्थ्य अवस्थाबारे चासो राख्छौँ । न उनलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न र परिवारलाई यस्तो समयमा उनको राम्रो साथ दिनको लागि अनुरोध नै गर्छौं ।

त्यसको सट्टा हामी बच्चाको नाक अलि लामो भएकोबारे प्रतिक्रिया दिन आतुर हुन्छौँ । केही गोरो/गोरी भइदिएको भए राम्रो हुन्थ्यो भनिदिन्छौँ । लगातार दुई छोरी जन्मिएको परिवार रहेछ भने त झनै हामी वंशदेखि पिण्डदानसम्मको कुरा जोडेर दुःख व्यक्त गरेर हिँड्छौँ ।

जब कसैको विवाहको निम्तो आउँछ, हामी आफूले आफूलाई बाहिरबाट खुब सजाउँछौँ । दाजुभाइले सुटमा आइरन गरेर, टाइ धारिलो गरी मिलाएर, बडो भलादमी देखिन्छौँ । दिदिबहिनी पार्लरमा हजारौँ खर्च गरेर मेकअप गर्छौँ, साडीसँग म्याचिङ झुम्का र चुरा खोज्न चोकभरिका कस्मेटिक्स पसल चहार्छौँ र खुब सजिन्छौँ ।

तर, चिटिक्क सजिएर पार्टीमा पुग्दा पनि हाम्रो नकारात्मक मानसिकता भने ज्युँका त्युँ रहन्छ । बेहुलीलाई हेरेर खासखुस गर्न सुरु गर्छौं, ‘यति धेरै सुन किनिदिने त हैसियत होइन यिनिहरुको, गहना पक्कै नक्कली होलान् है ?’

हाम्रो नकारात्मक मानसिकता खाना खाने बेलामा पनि त्यसरी नै देखिन्छ– अरु सबै त ठिकै छ, पुलाउ अलि बढी चाम्रो भएछ ।’ हामीलाई त एक छाक पुलाउमात्र चाम्रो लाग्यो तर आफ्नो सन्तानको बिहे राम्रोसँग गरिदिन्छु भन्ने सपना देखेर दिनरात मेहनत गरेर जम्मा गरेको कमाइ त्यही बिहेमा खर्च गरेका बाबुआमालाई हाम्रो प्रतिक्रिया कति दिनसम्म चाम्रो लाग्यो, त्यसको हामी कुनै अनुमान लगाउँदैनौँ ।

मानिसका सपनाहरुमा महत्वपूर्ण ठाउँ ओगट्ने अर्को विषय हो– घर । हरकोहीले आफूले वर्षौसम्म पसिना बगाएर कमाएको मध्येको ठूलो हिस्सा खर्च गरेर एउटा घर बनाउँछ । हामी नयाँ घरमा फेरि उहि पुरानो नकारात्मक मानसिकता बोकेर पुग्छौं र भन्छौँ, ‘अगाडि बढी जग्गा छोड्नुभएछ, घर त अलि सानो पो बनेछ त ।’ यसो भन्न पनि त सकिन्छ नि– अगाडि खुल्ला छोडेर बनाउनुभएछ । पार्किङको लागि प्रशस्त ठाउँ रहने भएछ, कोठाहरु उज्याला हुने भए, बच्चाहरुलाई खेल्न पनि अलिकती ठाउँ रहने भयो, घर गजब बनेछ ।’

त्यसपछि घरधनीको मुहारमा हेरौँ, उनी घर बनाउँदाको दौडधुपको थकान र बैंकमा तिर्नुपर्ने ऋणको किस्ता एकैछिनलाई बिर्सिएर कति मीठो मुस्कुराउँछन् ।

‘अमलेट बनाउनुपर्ने अण्डा उसिनिछे र उसिन्नुपर्ने अण्डाको अमलेट बनाइछे’ भन्ने जोक सुनेर हाँस्दै हुर्किएका हामी आफू त्यस्तै जोकको पात्र बनिरहेको कुरा थाहै पाउँदैनौ र हरेक साँझबिहान घरमा पाकेको खानामा एउटा खोट निकालेर नाक खुम्च्याइहाल्छौँ । हामीलाई अरुको लवाइसँग पनि उत्तिकै समस्या हुन्छ । हामी ठाउँको ठाउँ फेसन डिजाइनर बन्छौं र भनिदिन्छौँ– यो रंगको भएको भए चाहिँ गज्जब सुहाउने रहेछ ।

आफन्तमा कसैकी २५ कटेकी छोरीको विवाह भएको छैन भने त्यसको पिर लिने ठेक्का पनि हामी नै लिन्छौं। कसको छोराले कस्ती केटी भित्र्यायो भन्ने कुराले पनि हामीलाई नै पिर पर्छ । कसैको रोजाइमाथि त्यति धेरै आपत्ति किन ? जबकि ऊसँग जिन्दगी बिताउने उसलाई रोज्ने व्यक्तिले नै हो, हामीले होइन ।

बच्चा हुर्काउने क्रममा पनि अभिभावकहरुबाट नकारात्मक उत्प्रेरणाको अधिकतम प्रयोग हुने गर्छ । जोगी, प्रहरी, मगन्ते आदिलाई भयको स्रोत बनाएर ‘माम नखानेलाई त जोगीले लैजान्छ’ सुतेन भने पुलिस अंकल आउँछ आदि भन्ने गरेको प्रशस्त सुनिन्छ । यसरी बच्चालाई नकारात्मक कुराहरुबाट मात्र उत्प्रेरित गर्दा उसले एकपटकलाई त भनेको मान्ला तर उसको दिमागमा दीर्घकालसम्म एउटा अनावश्यक डर रहिरहन्छ।

हामी जब कोही बिरामी भेट्न अस्पाताल पुग्छौँ, बिरामीलाई स्वास्थ्य लाभको कामना गर्नु र एकछिन भएपनि मन बहलाउने कुरा गरिदिनुको सट्टा त्यहाँ पनि आफ्नो नकारात्मक मानसिकता पस्केर बोल्न शुरु गरिहाल्छौँ । बिरामीकै अगाडि बसेर अनुहारमा दुःखको भाव ल्याएर उस्तै रोगबाट ग्रसित भएर मृत्युवरण गर्न पुगेका कोही व्यक्तिको उदाहरण दिएर बिरामीको मनमा थप त्रास भरिदिन्छौँ । यसबेला हामीलाई हेक्का हुँदैन, कथा बनिसकेको कसैको विगतको तितो यथार्थ पस्केर हामीले कति ठूलो गल्ती गरिरहेका छौं ।

हामीलाई टोलछिमेक र आफन्तमा कसका छोराछोरी के गर्दैछन् भन्ने कुराको चासो राख्न र तिनको खोइरो खन्न असाध्यै मन पर्छ । एउटा स्नातकोत्तर गरेको युवा गाउँ फर्किएर कृषि कर्ममा लाग्यो भने गाउँभरि कुरा काटिन्छ, ‘त्यसलाई बुवाआमाले हलो जोत्नकै लागि त्यत्तिका खर्च गरेर पढाएका हुन् त ?’

परम्परागत कृषिबाट भन्दा प्रविधिमा आधारित कृषिबाट राम्रो आर्थिक उपार्जन लिन सकिन्छ र पढेलेखेका मान्छेमा कृषि अनुदानजस्ता सुविधादेखि बजार तथा नयाँ प्रविधिको समेत खोजी गर्ने र प्रयोग गर्नसक्ने क्षमता तुलनात्मक रुपमा राम्रो हुन्छ भन्ने बुझेर त्यस्ता युवाशक्तिलाई सकारात्मक तवरले हौसला र प्रेरणा कसले दिने ?

आफ्नो पढाइसँगै कुनै क्षेत्रमा करियर अघि बढाउने प्रयास गर्दैगर्दा भोग्नुपरेका दुईचार असफलतालाई आधार मानेर ‘तैंले गरी खाँदैनस्’ भनेर छोराछोरीलाई गाली गर्नुअघी हामी किन सोच्दैनौ कि उसलाई असफलताको चोटसँग जुधेर लडेको ठाउँबाट उठ्न परिवारको साथको जरुरत छ । उसको घाउमा कडा गालीगलौजको नुनचुक छर्कनुको सट्टा प्रयास गर्नेले एकदिन अवश्य सफलता पाँउछ, संसार जित्न सफल व्यक्तिहरुले पनि कुनै समयमा हार ब्यहोरेरै अघि बढेका थिए भन्दै असफलतापछिको सफलताको उदाहरण दिएर अघि बढ्न किन नसिकाउने ?

नेपालीलाई सबैभन्दा बढी वितृष्णा पैदा गर्ने अर्को महत्वपूर्ण पाटो हाम्रो राजनीतिक नेतृत्व र त्यसप्रतिको नकारात्मक दृष्टिकोण पनि हो । कुनै पार्टी या कुनै नेताको पछि लागेर एकथरीले सधै गुणगान मात्र गाउने र अर्काथरीले जुन काममा पनि एउटा न एउटा कमजोरी समातेर आलोचना गरिहाल्ने प्रवृत्ति हावी छ ।

हाम्रा अपेक्षा धेरै छन्, सरकार र राजनीतिक नेतृत्वले पूरा गर्नुपर्ने धेरै जिम्मेवारी पूरा हुन सकेका छैनन् तर के जनताको तर्फबाट आफ्नो राज्यप्रति कुनै सामाजिक उत्तरदायित्व हुँदैन त ? नराम्रा कामको खबरदारीसँगै भएका राम्रा कामलाई राम्रोकै रुपमा तारिफ गर्न हामीले कहिले सिक्ने ?

कतिपय धार्मिक कहानीहरुमा उल्लेख गरिएका पाप लाग्ने, भूतप्रेतको कल्पना र नर्क जानुपर्ने जस्ता कुराहरु पनि यही नकारात्मक मानसिकताकै उपज मान्न सकिन्छ ।
हाम्रो नकारात्मक दृष्टिकोण र त्यसले उत्पन्न गर्ने समस्याबारे जति चर्चा गरेपनि अपुग जस्तै लाग्छ ।

यही सन्दर्भमा म एउटा कथा सम्झन्छु, एकपटक एक जना मूर्तिकारले सुन्दर मूर्ति निर्माण गरे र त्यसलाई बाटोमा राखिदिए । मूर्तिको छेउमा उनले यस्तो सूचना टाँसिदिए, ‘जसलाई जहाँनेर नमिलेको जस्तो लाग्छ, त्यहाँ चिनो लगाइदिनुहोला।’

भोलिपल्ट आएर हेर्दा पूरै मूर्तिमा कालो पोतिएको थियो । मानिसहरुले यति धेरै चिनो लगाएछन् कि मूर्तिमा मिलेको जस्तो लाग्ने कुनै ठाउँ नै भेटेनछन् । अर्को दिन, तिनै मूर्तिकारले त्यही ठाउँमा फेरि अर्को मूर्ति राखेछन् र सूचनामा लेखेछन्, ‘जसलाई जहाँनेर नमिलेको जस्तो लाग्छ त्यहाँ सुधारिदिनुहोला ।’ भोलिपल्ट गएर हेर्दा मूर्ति जस्ताको तस्तै रहेछ ।

बालापनमा सुनेको यो कथामा जस्तै हामी अरुको खोट पहिल्याउन बडो सिपालु छौँ तर त्यसलाई कसरी सुधार गर्ने भन्ने बारेमा भने हामीलाई कत्ति पनि ज्ञान हुँदैन । वास्तविक रुपमा भएका गल्ती पहिल्याएर सुधारको बाटो देखाउनेहरु पुज्य गुरु हुन् । हुन नहुने कुरालाई नहुनुपर्थ्यो भन्नु नराम्रो होइन तर आलोचना गर्नकै लागि खोट खोज्ने तर राम्रो कुराको तारिफको लागि एक शब्द खर्च गर्न नसक्ने प्रवृत्तिले हामि स्वंयलाई समेत भलो गर्दैन।

सकारात्मक तवरबाट पनि कुनै काम बनाउन सकिन्छ भने त्यसलाई नकारात्मक पाटोतर्फ किन धकेल्ने ? हरेक कुरामा सकारात्मक ऊर्जा दिन सक्नुभयो भने मानिसहरु तपाईंलाई सम्झिँदा मात्र पनि मुस्कुराउन थाल्नेछन् । आफूलाई कसैको मनमा एउटा सम्झनलायक व्यक्तिको रुपमा किन स्थापित नगर्ने ? आजैबाट सबैले सकारात्मक सोचको सुरुवात गरे केही त पक्कै फरक पर्नेछ ।

- नेपाल कमर्स क्याम्पस, एमबीएस दोस्रो सेमेस्टर

प्रतिक्रिया दिनुहोस्
थप समाचार
ताजा अपडेट
सर्वाधिक पढिएको